मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाको आर-१५ भी ४ नेपाली बजारमा, सीईओ भन्छन्- आयात प्रतिबन्धले माग धान्ने अवस्था छैन

यामाहाको आर-१५ भी ४ नेपाली बजारमा, सीईओ भन्छन्- आयात प्रतिबन्धले माग धान्ने अवस्था छैन

नेपाली बजारमा ५ लाख ७२ हजार ९०० रुपैयाँबाट मूल्य सुरु हुने मोटरसाइकल नीलो, रातो र कालो रंङमा उपलब्ध छ। मोटरसाइकलमा १५५ सीसी क्षमताको इन्जिन जडान गरिएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- दुई पांग्रे सवारी उत्पादक यामाहाले नेपाली बजारमा आर-१५ भी ४ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले बिहीबार राजधानीमा एक कार्यक्रम गरी मोटरसाइकल सार्वजनिक गरेको हो। 

मोटरसाइकलमा ६ स्पिड गियरबक्स छ। १४२ किलोग्राम तौल रहेको मोटरसाइकलमा ब्लुटुथमार्फत् मोबाइललगायतका डिभाइस कनेक्ट गर्ने सुविधा छ। लिक्विड कुल्ड भीभीए एफआई इन्जिन प्रयोग भएको मोटरसाइकलको इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क उत्पादन गर्छ।

नेपाली बजारमा ५ लाख ७२ हजार ९०० रुपैयाँबाट मूल्य सुरु हुने मोटरसाइकल नीलो, रातो र कालो रङमा उपलब्ध छ। मोटरसाइकलमा १५५ सीसी क्षमताको इन्जिन जडान गरिएको छ। 

सरकारले साउन १ गतेदेखि लागू हुने गरी १५० सीसीभन्दा माथिका मोटरसाइकललाई लक्जरी सवारी साधनको क्याटेगोरीमा राख्दै आयातमा प्रतिबन्ध लगाएको छ। यद्यपि, साउन १ गतेसम्ममा एलसी खोलिसकेको अवस्थामा भने आयात गर्न सकिने व्यवस्था छ। सोही अनुसार साउन १ अघि खोलिएको एलसीमार्फत एमएडब्लुले यो मोटरसाइकल आयात गरेको सीईओ राजु क्षेत्रीले जानकारी दिए। सरकारले मंसिरसम्मका लागि १५० सीसीभन्दा बढीका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ। 

मोटरसाइकल आयातमा प्रतिबन्धका कारण व्यापार विस्तार गर्ने योजना ल्याउन नसकिएको क्षेत्रीले बताए। आयात प्रतिबन्ध लागू हुनुअघि नै बाइकका लागि एलसी खोलेकाले केही थान मोटरसाइकल ल्याएर लन्च गरिएको उनले जानकारी दिए। मोटरसाइकलको बुकिङ बढी भएका कारण यथास्थितिमा बजारमाग धान्न गाह्रो रहेको उनको भनाइ छ। 

‘आयात बन्द छ। २ सयको हाराहारीमा मोटरसाइकल छन्, त्यसमा पनि धेरै बुकिङ भइसकेका छन्,' उनले भने, 'धैरै दिनको माग धान्न सकिन्न।’ यो मोटरसाइकल प्रतिमहिना ४ सयको संख्यामा बिक्री हुने अपेक्षा गरिएको छ। प्रतिबन्धका साथै समग्र अर्थतन्त्रमा आएको संकुचनका कारण सवारी व्यवसायमा कमी आएको उनको भनाइ छ। 

प्रकाशित: Oct 20, 2022| 20:19 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्