काठमाडौं– सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)का दुई वेबसाइटमा एकै समयमा दुई फरक तथ्यांक देखिएको छ। दिउँसो १२ः१४ सम्मको कारोबारमा नेप्सेका नयाँ र पुरानो वेबसाइटमा दुई फरक फरक तथ्यांक देखिएका छन्।
त्यसपछि नयाँ वेबसाइटको सर्भर डाउन गरिएको छ। यस अवधिमा नेप्सेको पुरानो वेबसाइटमा नेप्से ९.७७ अंकले घटेर १ हजार ८३५.७४ अंकमा कारोबार भएको देखिन्छ। पुरानो वेबसाइटमा यस अवधिमा ४ लाख २ हजार ९०४ कित्ता सेयर किनबेचबाट १३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ।
नयाँ वेबसाइटमा यस अवधिसम्ममा नेप्से १०.७ प्रतिशतले घटेर १ हजार ८३५.४५ अंकमा कारोबार भएको छ। नयाँ वेबसाइटमा कारोबार रकम १३ करोड ८२ लाख रुपैयाँ बराबरको भएको देखिन्छ। नयाँ र पुरानो वेबसाइटमा नेप्सेको अंकको अन्तर ०.३ प्रतिशतले फरक भए पनि कुल सूचकांकमा भने ०.२९ अंकको अन्तर प्रस्तुत भएको छ। यसैगरी कारोबार रकम नयाँभन्दा पुरानोमा १ लाख ४१ हजार रुपैयाँ बढी देखिन्छ।
नेप्सेका दुई वेबसाइटमा यसभन्दा अगाडि पनि फरक फरक कारोबारका अंकहरु प्रस्तुत हुने गरेका छन्। नेप्सेले प्रावधिक समस्या बताउँदै आए पनि अहिलेसम्म पनि उक्त समस्यालाई समाधान नगरेको लगानीकर्ताहरुले गुनासो गर्ने गरेका छन्। यस्ता समस्या समाधानमा नेप्सेले ध्यान नदिँदा नेप्सेप्रतिको भरोसा हराउँदै गएको लगानीकर्ताले गुनासो गरेका छन्। लगानीकर्ताहरुले नेप्सेमा गम्भिर चलखेल हुने गरेको आशंका समेत व्यक्त गर्दै आएका छन्।