काठमाडौं- होटल संघ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटल बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ। होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गर्दै कर्जा चुक्ता गर्ने अवधि थप नगरे होटल चलाउन नसक्ने चेतावनी दिएका हुन्।
संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनःतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको सावाँब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको उल्लेख गरे।
‘साढे तीन वर्षदेखि कोरोना महामारीको कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो। गत आर्थिक वर्षहरुमा बजेट र मौद्रिक नीतिहरुले होटलहरुले बैंकहरुबाट लिएको सावाँब्याजमा दिने समय थप गरेको थियो,' उनले भने, 'चालु आर्थिक वर्षदेखि होटलहरुलाई दिएको सहुलियत खारेज गरियो। सरकार,राष्ट्र बैंक र बैंकहरुले होटलहरु सामान्य अवस्थामा आएको भन्ने भएको छ । साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो। तर होटलहरुले ब्रेक इभेन्ट कमाउन सकिए रहेका छैनौं। हेरेक दिन होटलहरु घाटामा नै छन्। बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावाँ ब्याज तिर्न दबाब दिएका छन्। हामीलाई थप दुई वर्ष समय थप चाहियो। सरकारले होटल व्यवसायीहरुका कुरा सुनिदिएन भने होटल क्रमिक रुपमा बन्द हुने अवस्था आउँछ।’
यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको उनको भनाइ छ। बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने उनको माग छ।