काठमाडौं- होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने भन्दै कर्जा तिर्ने म्याद दुई वर्ष थप्न माग गरेका छन्। होटलहरुको छाता संगठन होटल संघ नेपालले अझैपनि कोभिडका कारण व्यवसाय पुरानो अवस्थामा फर्किन नसकेको भन्दै थप दुई वर्षका लागि कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको हो।
संघले आइतबार एक विज्ञप्ति जारी गरी कम्तीमा दुई वर्षको लागि कर्जा पुनर्तालिकीकरण गर्न तथा पुनकर्जाको सुविधा दिन समेत माग गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनेको छ, 'अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम छौं। त्यसैले दुई बर्षको लागि समय थप्न आग्रह गर्दछौ।’
संघले हाल नेपालमा भएका होटलहरुको क्षमताको आधा पनि चल्न नसकेको बताउँदै यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने जनाएको छ। सन् २०१९ मा नेपालमा करिव १२ लाखको संख्यामा पर्यटकहरु नेपाल आएका थिए। तर सन् २०२२ मा नेपाल आउने पर्यटकको संख्या ५ लाख पनि पुगेको छैन।
विश्व समुदाय आर्थिक मन्दीमा गएको असर नेपालमा पनि परेको साथै नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको पनि संघले जारी गरेको विज्ञप्तिमा जनाएको छ।
होटल व्यवसायीहरुको लागि अहिलेको ठूलो चुनौती भनेको बैंकको बढ्दो ब्याजदर र समयसीमा भित्र साँवा ब्याज बुझाउनका लागि गरिएको तीव्र ताकेता रहेको दावी गर्दै संघले कुनैपनि हालतमा व्याज र साँवा तिर्न नसक्ने जनाएको छ।
त्यस्तै हालको बढ्दो ब्याजदरले होटल व्यवसाय उद्योग धरासायी हुने भएकोले होटल व्यवसायका लागि ब्याजदर एकल अंकमा झार्नुपर्ने संघको भनाई छ। अबिलम्व सम्बोधन नभएको अवस्थामा मुलुकका होटल उद्योग क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आउने संघले चेतावनी समेत दिएको छ।