मंगलबार, असार ३१, २०८२

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व

आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व पाएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र ग्यास) आयात गरेर १४ अर्ब  ३७ करोड रुपैयाँ राजस्व संकलन भएको हो।  

सोही अवधिमा ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको ६ लाख ३२८ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ । सो अवधिमा १ लाख ७४ हजार १ सय किलोलिटर पेट्रोल, २ लाख ६४ हजार ३६२ किलोलिटर डिजेल आयात भएको छ।

यस्तै, मट्टीतेल २ हजार ३८० किलोलिटर, हवाई इन्धन ३६ हजार किलोलिटर र ग्यास १ लाख १८ हजार २९५ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ। बजारमा खपत बढेसँगै इन्धन आयात बढ्दै गएको निगमले बताएको छ।

साउनदेखि हालसम्म इन्धन आयात गरेर भन्सार शुल्कबापत ८ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको निगमले जनाएको हो। यस्तै, पूर्वाधार करबापत ४ अर्ब ३८ करोड ४६ लाख २० हजार रुपियाँ, सडक मर्मत दस्तुरबापत १ अर्ब २२ करोड र प्रदूषण करबापत ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पेट्रोलियम पदार्थ आयात गरेबापत भन्सार बिन्दुमा कर संकलन हुने गर्छ । 

प्रतिलिटर पेट्रोलमा कुल राजस्व ६३ रुपैयाँ ३६ पैसा, डिजेलमा ४७ रुपैयाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपैयाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपैयाँ संकलन हुने गर्छ। भन्सार बिन्दुमा संकलित राजस्व सरकारको खातामा जम्मा हुने गर्छ ।

भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपैयाँ २० पैसा, डिजेलमा १२ रुपैयाँ, मट्टीतेलमा १२ रुपैयाँ, हवाई इन्धनमा दुई रुपैयाँ १० पैसा र ग्यासमा ९१ रुपैयाँ ८२ पैसा संकलन हुने गर्छ। मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपैयाँ ८२ पैसा, डिजेलमा १९ रुपैयाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपैयाँ ८६ पैसा र ग्यासमा २०१ रुपैयाँ संकलन हुने गर्छ । 

यस्तै, पूर्वाधार करबापत प्रतिलिटर डिजेल, पेट्रोलमा १० रुपैयाँ संकलन हुने गर्छ। सडक मर्मत दस्तुुरबापत पेट्रोल प्रतिलिटरमा ४ रुपैयाँ र डिजेल प्रतिलिटरमा २ रुपैयाँ संकलन हुने गर्छ। वातावरण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ ५० पैसा संकलन हुने गर्छ।

मूल्य स्थिरीकरण कोषमा पेट्रोल प्रतिलिटरमा १ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटरमा १ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डरमा १८ रुपैयाँ संकलन हुन्छ।

प्रकाशित: Oct 16, 2022| 14:15 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्