काठमाडौं– बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आफ्नो चर्चित क्रसओभर एसयूभी एटो थ्री नेपालमा बिक्री सुरु गरेको छ। शनिबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एटो थ्रीको बिक्री सुरु गरेको हो।
पावरफुल क्रसओभर खोज्ने ग्राहकलाई लक्षित गर्दै बजारमा आएको एटो थ्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ। कम्पनीले सुरुवाती ग्राहकलाई ७ किलोवाटको चार्जर दिने जनाएको छ। बजारमा उपलब्ध विद्युतीय कारमा पावरफुल मोटरमध्येकै एउटा मोडलको रुपमा बजारमा आएको एटो थ्री किन्ने ग्राहकले मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ। ग्राहकले डाउन पेमेन्टबापत कम्तीमा १७ लाख ९८ हजार रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ। तर, थोरै रकम डाउन पेमेन्ट गरेर गाडी किन्दा कर्जा धेरै दिनु पर्ने र ब्याज बापत धेरै रकम खर्च गर्नु पर्ने हुन्छ ।
अहिले ब्याजदर निकै अकाशिएको बेला छ। त्यसैले गाडी किन्ने ग्राहकले कम्तीमा पनि १५ प्रतिशत ब्याज तिर्नुपर्छ। यसरी कर्जा लिँदा २० प्रतिशत डाउन पेमेन्ट गर्नेले ७१ लाख ९२ हजार रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ। उक्त कर्जा ७ वर्ष भित्र तिर्नेगरी मासिक किस्ता बनाउँदा औषत मासिक १ लाख ३९ हाराहारी पर्नेछ। यदि ग्राहकले सुरुमै ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउने हो भने मासिक ८७ हजार हाराहारी किस्ता पर्नेछ।
यस्तो छ एटो थ्री
बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो। निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो। १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग रहेका छन्।
यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ। नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। एटो थ्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकर्डर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ। यसमा सुरक्षाको लागि चाहिने आधुनिक सबै सुरक्षा फिचर उपलब्ध रहेको छ।
म्यूजिक र स्पोर्टस् थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, १२.८ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइट, मल्टी फङ्गसनल स्टेरिङ ह्वील पाउन सकिन्छ। बीवाइडीले एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ। १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ।