तनहुँ- तनहुँको देवघाट गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ। चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो।
गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसंख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ। यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ। ‘पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौँ,’ उनले भने, ‘क्रमशः सबै परिवारको बीमा गरिनेछ।’
गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन्। साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ।
आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए। गाउँपालिकाले अल्पसंख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि तीन लाख ५० हजार विनियोजन गरेको छ।
गाउँपालिकाले सीसमान्तकृत तथा आर्थिक सामाजिकरूपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको थापाले बताए।