काठमाडौं– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ। दास र गभर्नर अधिकारीबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको राष्ट्र बैंकले बताएको हो।
दुवै गभर्नरबीचको भेटमा क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल भएको बताइएको छ। पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र यसबाट रोकथामका लागि दुई मुलुकले चाल्नुपर्ने आगामी नीतिबारे छलफल भएको बताइएको छ।
साथै, बैंकिङ क्षेत्रको डिजिटाइजेसनबारे समेत छलफल भएको थियो। यसैगरी भुक्तानी प्रणाली र कारोबार राफसाफ, सीमानाकामा हुने व्यापार र रेमिट्यान्सबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ।