काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीटुजी प्रणालीमार्फत भारतबाट रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाएको छ। यस्तो प्रक्रिया सरकार–सरकारमार्फत हुने गर्छ। ३० हजार मेट्रिक टन युरिया खरिद गर्न भारतलाई खरिद प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. प्रकारकुमार सञ्जेलले बताएका हुन्।
प्रस्तावअनुसार भारतीय कम्पनीलाई दिने अग्रिम भुक्तानीका लागि कृषि सामग्री कम्पनीले काम गरिरहेको उनको भनाइ छ। भारतबाट कात्तिक मसान्तभित्र उक्त मल नेपाल आइपुग्नेछ।
चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टन मलका लागि कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डर आह्वान गरिसकेको छ। त्यसमध्ये ३० हजार मेट्रिक टन युरिया नेपाल आइसकेकामा धान खेतीका लागि बिक्री वितरण भएको प्रवक्ता सञ्जेलले बताए। ४० हजार मेट्रिक टन डीएपी प्राप्त हुने क्रममा छ। बाँकी ३० हजार मेट्रिक टन युरिया भारतको विशाखापट्नम बन्दरगाहमा प्याकिङ भइरहेको उनको भनाइ छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत ल्याउने ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापट्नम बन्दरगाहमा रेलमा लोड भइरहेको र ११ असोजमासम्म वीरगञ्ज आइपुग्ने बताइएको छ। २७ हजार ५ सय मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता भइसकेकाले मंसिर पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।