बुधबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याजदर बढाए पनि बढेन निक्षेप, एकैदिन ३० अर्बले घट्यो निक्षेप

ब्याजदर बढाए पनि बढेन निक्षेप, एकैदिन ३० अर्बले घट्यो निक्षेप

नेपाल राष्ट्र बैंकका अनुसार दशैं सकिए लगत्तै अर्थात मंगलबार मात्र बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। सोही दिन बैंक तथा वित्तीय संस्थाको कर्जासमेत २ अर्बले घटेको देखिएको छ। दसैं सुरु भएदेखि घट्न थालेको बैकिङ क्षेत्रको निक्षेप दसैंपछि झन् तीव्र रुपले घटेको देखिएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- दसैंपछि बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा घट्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार दशैं सकिए लगत्तै अर्थात मंगलबार मात्र बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। सोही दिन बैंक तथा वित्तीय संस्थाको कर्जासमेत २ अर्बले घटेको देखिएको छ। दसैं सुरु भएदेखि घट्न थालेको बैकिङ क्षेत्रको निक्षेप दसैंपछि झन् तीव्र रुपले घटेको देखिएको छ। 

त्यसो त दसैं बिदाको अवधिमा वाणिज्य बैंकहरुबाट मात्रै करिब ८ अर्ब निक्षेप झिकिएको छ। यो अवधिमै बैंकहरुको कर्जा पनि ४ अर्बले घटेको छ।

सोमबार बैंक तथा वित्तीय संस्थासँग कुल ५१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। मंगलबार त्यो निक्षेप घटेर ५० खर्ब ८७ अर्बमा झरेको छ। सो दिन वाणिज्य बैंकहरुबाट मात्रै ३१ अर्ब रुपैयाँ निक्षेप झिकिएको केन्द्रीय बैंकले जनाएको छ। त्यसैगरी सोमबार ४७ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा मंगलबार घटेर ४७ खर्ब २३ अर्बमा झरेको छ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप बढाउन ब्याजदरमा गरेको भद्र सहमतिसमेत तोडेर ब्याजदर बढाए पनि बैंकमा निक्षेप भने थपिएको छैन, उल्टै घटेको छ। यसबाट के देखिन्छ भने ब्याजदर वृद्धि मात्र निक्षेप लिनुको मुख्य कारण होइन।

त्यस्तै मंगलबार नै नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार गत हप्ता मात्र नेपालको बाणिज्य बैंकहरुबाट ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप घटेको छ भने ४ अर्ब ७२ करोड रुपैयाँ कर्जा पनि घटेको छ। 

असोजको दुई हप्ता लगातार बाणिज्य बैंकहरुमा निक्षेप क्रमशः २६ अर्ब १४ करोड र ७ अर्ब ३१ करोड रुपैयाँले निक्षेप बढेको थियो। त्यस्तै ४ र ३ अर्ब रुपैयाँले कर्जा प्रवाह पनि बढेको थियो। तर, दसैं पछाडीको हप्ता भने निक्षेप र कर्जा दुवै घटेको नेपाल बैंकर्स संघले जनाएको छ। 

असोज महिनाका लागि बैंकहरुले निक्षेपको ब्याजदर विशेष प्रकृतिको १५ प्रतिशत नाघेको थियो भने बचतमा नै दोहोरो अंकको ब्याज प्रदान गरेका थिए। तर, पनि बैंकिङ प्रणालीमा भने निक्षेप बढ्न सकेको छैन। 




प्रकाशित: Oct 12, 2022| 19:02 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्