काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल र जारको पानी महँगोमा बेचे कारबाही गर्ने चेतावनी दिएको छ।
दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिए कारबाही गर्ने विभागले चेतावनी दिएको हो। विभागले मंगलबार प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद्, प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमनसहितको छलफलमा तोकिएको अधिकतम मूल्य लागू गर्न व्यवसायी तथा पानी उद्योगीलाई निर्देशन दिएको छ।
उपत्यकाभित्र एक लिटर बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ छ। तर, खुद्रा पसलले उपभोक्ताबाट २० रुपैयाँदेखि २५ रुपैयाँसम्म लिँदै आएका छन्। त्यस्तै, २० लिटरको जारको पानी अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको भए पनि ५० देखि ६० रुपैयाँसम्म लिँदै आएका छन्।
त्यस्तै, उपत्यकाबाहिर एक लिटर पानीको बोटलको मूल्य २० रुपैयाँ तोकिएको भए पनि उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म लिने गरेको पाइएको विभागले जनाएको छ।
उद्योगी, विक्रेता, खुद्रा पसलले अधिकतम मूल्यभन्दा बढी लिए–नलिएको अनुगमनको कार्यलाई तीव्र बनाइने विभागका महानिर्देशक महेश भट्टराईले बताए।