बुधबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम मूल्य समायोजन नगरेपछि आयल निगमको मासिक नाफा २ अर्ब नाघ्ने

पेट्रोलियम मूल्य समायोजन नगरेपछि आयल निगमको मासिक नाफा २ अर्ब नाघ्ने

आईओसीबाट प्राप्त पछिल्लो नयाँ मूल्यपछि निगम मासिक २ अर्ब २८ करोड रुपैयाँ नाफामा जाने प्रक्षेपण।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– भारतीय आयल कर्पोरेसन(आईओसी)ले पठाएको नयाँ घटेर आएको मूल्यअनुसार मूल्य फेरबदल नगरेपछि नेपाल आयल निगमले मासिक २ अर्ब रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको छ।

१५ असोजमा आईओसीले पठाएको नयाँ मूल्यअनुसार इन्धनको खरिद लागत मूल्यमा ठूलो गिरावट आउनु र नेपालमा मूल्य नघटाएपछि निगमको नाफा बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण अघिल्लो पटकभन्दा यस पटक आईओसीबाट घटेर आएको पेट्रोलियम पदार्थको मूल्य निगमले समायोजन गर्न आनाकानी गरी उपभोक्ताको ढाड सेकिरहेको छ। नयाँ मूल्यअनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा, डिजेलमा १४ रुपैयाँ र हवाई इन्धन १६ रुपैयाँ मूल्य घटेको छ।

आईओसीबाट खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५२ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। ‘१५ असोजमा आएको नयाँ मूल्यपछि निगम मासिक २ अर्ब २८ करोड रुपैयाँ नाफामा जाने प्रक्षेपण छ,’ उनले भने, ‘पहिले अन्तर्राष्ट्रिय मूल्य घटेको थियो तर अब फेरि प्रतिब्यारेल सय डलर हाराहारी मूल्य पुगेको छ। निगमको नाफा निरन्तर रहने अवस्था नभएकाले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन।’

निगमका अनुसार नयाँ मूल्यपछि अहिले निगमलाई पेट्रोलमा १६ रुपैयाँ, डिजेल ९ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ नाफा छ। यस्तै ग्यासको घाटा घटेर प्रतिसिलिन्डर ३२५ रुपैयाँ कायम भएको छ।

मूल्य समायोजनबारे निगमले कुनै निर्णय नगर्ने उनले बताए। ‘निगमले आईओसीको २१ अर्ब बक्यौता र १० अर्ब ऋण तिर्नुपर्ने हुँदा तत्काल मूल्य घटाउने विषयमा छलफल भएको छैन,’ उनले भने।

प्रकाशित: Oct 10, 2022| 14:08 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्