बुधबार, साउन १, २०८२

वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेको विवरण राखिँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेको विवरण संकलन गर्न विभागलाई निर्देशन दिएको थियो।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किएकाको विवरण राख्न थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेको विवरण संकलन गर्न विभागलाई निर्देशन दिएको थियो। सोही आधारमा विभागले साउनदेखि विवरण अद्यावधिक गर्न थालेको हो।

विवरण अद्यावधिक गर्न थालेपछि साउनमा ३५ हजार ६०५ जना स्वदेश फर्किएका छन्। जसमा ३२ हजार ८०७ पुरुष र २ हजार ७९८ महिला रहेका छन्। त्यसरी फर्किनेमा सबैभन्दा बढी कतारबाट आएका छन्।

कतारबाट ११ हजार ४८ जना स्वदेश फर्किएको विभागको तथ्यांकले देखाएको छ। त्यस्तै, युएईबाट ८ हजार ४५५, साउदी अरेबियाबाट ८ हजार ४०, मलेसियाबाट ३ हजार ९७२, कुवेतबाट ३ हजार ९७२ जना रहेका छन्।

त्यस्तै, भदौमा ४७ हजार ८९७ जना स्वदेश फर्किएका छन्। त्यसरी फर्किनेमा कतारबाट १३ हजार २९२, साउदी अरेबियाबाट ११ हजार १८२, युएईबाट १० हजार ८५०, मलेसियाबाट ६ हजार ५२०, कुवेतबाट २ हजार १५ जना रहेको विभागले बताएको छ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेको छ। २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले निर्देशिका पारित गरेपछि जारी भएको थियो।  सोही निर्देशिकाअनुसार सरकारले वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाको विवरण राख्न थालेको हो।

विवरण राख्दा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको व्यक्तिगत विवरण, वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, वैदेशिक रोजगारीको आर्जनबाट देशभित्र रोजगारी वा स्वरोजगारी गर्ने सम्बन्धमा निजको इच्छा, आवश्यकता, प्राथमिकता, योजनालगायतको जानकारी राख्ने गरिएको छ।

वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्न उक्त निर्देशिका जारी गरेको थियो। सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै उद्यमशीलता गर्न आर्थिक सहयोग दिनेछ।

त्यसमा सहुलियत ऋण सहयोग र अनुदान दुवै हुनेछ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएको व्यक्ति पुनः विदेश नगएर स्वदेशमै केही गरोस् भन्ने उद्देश्यले सरकारले उक्त निर्देशिका जारी गरेको हो।

प्रकाशित: Oct 08, 2022| 09:45 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्