काठमाडौं- नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बिमाको पहुँचमा पुगेको छ। अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथ्यांक प्रतिवेदनअनुसार म्यादी र लघुम्यादी बिमालेखसमेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको हो।
२०७८ असार मसान्तसम्म२५.२३ प्रतिशत जनसंख्यामा बिमाको पहुँच विस्तार भएको हो। वैदेशिक रोजगार बिमालेखसहितको तथ्यांक जोड्दा भने बिमामा समेटिएको जनसंख्या २०७९ असारसम्म ४२.०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
२०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बिमालेखसहित २७.५३ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको हो। अर्थ मन्त्रालयका अनुसार बिमाको दायरामा आउने जनसंख्यासँगै बिमा प्रिमियम संकलनसमेत हरेक वर्ष वृद्धि भइरहेको छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा मात्र बिमा कम्पनीले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो आर्थिक वर्ष २०७७-०७८ को तुलनामा १६.३ प्रतिशत बढी हो। सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो।