बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हर्क साम्पाङले सर्दु र निशाने खोलाबाट धरानमा खसाले पानी, दिगो हुनेमा भने आशंका

हर्क साम्पाङले सर्दु र निशाने खोलाबाट धरानमा खसाले पानी, दिगो हुनेमा भने आशंका

खानेपानीकै मुद्दा बोकेर लामो समयदेखि सडक आन्दोलन चर्काएका साम्पाङ धरान उपमहानगर प्रमुखका निर्वाचित भएपछि श्रमदानमार्फत खानेपानी ल्याएकामा अहिले चौतर्फी प्रशंसाका पात्र भइरहेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बिहीबार, भदौ ३०, २०७९

इटहरी– गत सोमबार धरान उपमहानगरको जानकी चोक हर्षोल्लासमय भयो। मेयर हर्कराज साम्पाङसहित धरानका स्थानीय सर्दु र निशाने खोलाबाट ल्याएको पानीमा खेल्दै रमाए। मेयर साम्पाङले आफ्ना लागि अत्यन्तै खुसीको दिन भएको भन्दै स्थानीयसँग खुसी साटासाट गरे। 

जानकी चोकसम्म दुई खोलाबाट ल्याइएको खानेपानीको पाइप पुगेपछि मेयर साम्पाङले सबैलाई नुहाउन आउन फेसबुकबाटै आह्वान गरे। श्रमदानमा खटिएका युवा–युवती, वृद्धवृद्धा पनि दिउँसो जानकी चोक पुगे। मेयर साम्पाङले पनि पाइपबाट खसेको पानीमा नुहाएरै खुसी मनाए। 

१० इन्च पाइपबाट धरानको वडा–१३ स्थित जानकी चोकसम्म पानी पुगेपछि स्थानीय हर्षित छन्। खानेपानीकै मुद्दा बोकेर लामो समयदेखि सडक आन्दोलन चर्काएका साम्पाङ धरान उपमहानगर प्रमुखका निर्वाचित भएका थिए। श्रमदानमार्फत खानेपानी ल्याएकामा अहिले उनको चौतर्फी प्रशंसा भइरहेको छ। तर त्यसको दिगोपनबारे भने धेरैले ध्यान दिएका छैनन्।

मेयरमा सपथ लिएको पहिलो सातादेखि नै श्रमदानमार्फत पानी ल्याउने अभियानमा लागेका उनले पहिलो चरणको काम सम्पन्न गरेका छन्। गोर्खा पिस फाउन्डेसन र हर्क साम्पाङ सपोर्ट कमिटी यूकेको सहयोगमा निर्माण भइरहेको खानेपानी ट्यांकी क्षेत्रबाट १० इन्च पाइप विस्तार गरिएको छ। 

सर्दु र निशाने खोलाको दोभानमा २ लाख १० हजार लिटर क्षमताको ट्यांकी निर्माण भइरेको छ। हाल धरान–१० स्थित स्वस्तिका चोकमा राखिएको ट्यांकीसम्म पानी पुर्‍याउने तयारी रहेको मेयर साम्पाङले बताए। हाल सो ट्यांकीमा चारकोशे जंगलबाट पम्पमार्फत ल्याइएको पानी मात्र संकलन हुने गरेको छ।

Metro Mart
worldlink


पम्प बिग्रिँदा वा बिजुली नहुँदा खानेपानी संकट हुने गरेको धरानमा अब त्यो समस्या भोग्नु नपर्ने मेयर साम्पाङको दाबी छ। 

खानेपानी समस्या हल गर्न खोलाको पानी ल्याउने योजना अगाडि सारिएको उनले प्रस्ट पारे। यसको दिगोपनबारे भने उनी आफैं विश्वस्त छैनन्।

हाल निर्माण भएको ट्यांकीमा अहिले ल्याइएको दुई खोलबाहेकका अन्यत्रका खोलाबाट पानी ल्याएर जम्मा गर्न सकिने उनले सुनाए। 

धरानमा दैनिक २ करोड ५० लाख लिटर पानी माग छ। वर्षायाममा छेलोखेलो पानी भए पनि माघदेखि जेठसम्म धरानमा हाहाकार हुने गरेको छ। यतिबेला जलाधारबाट ४० देखि ६० लाख र पम्पबाट ८० लाख लिटर गरी जम्मा दैनिक १ करोड २० लाखदेखि १ करोड ४० लाख लिटर पानी वितरण हुँदै आएको छ। अहिले धरानमा दैनिक ८० लाखदेखि १ करोड लिटरसम्म पानी अपुग छ।

खानेपानी बोर्ड व्यवस्थापन ऐन, २०६४ अनुसार बोर्ड सदस्यमध्ये एक जना अध्यक्ष हुने प्रावधान थियो। धरानका पूर्वनगरप्रमुख तारा सुब्बाको पालामा बोर्ड अध्यक्ष मेयर आफै हुने प्रावधान राखियो। यही नियमका आधारमा अहिले मेयर साम्पाङ बोर्ड अध्यक्ष भएका छन्। 

विगतमा धरानमा खानेपानी अभाव व्यवस्थापन गर्ने आन्दोलन गरेका साम्पाङ अहिले कार्यकारी भूमिकामा छन्। धरानको मेयर र बोर्डको अध्यक्ष भएपछि पर्याप्त खानेपानी व्यवस्था गर्न उनी खटिइरहेका छन्। 

पदभार ग्रहण गरेकै दिन उनले खानेपानीको बिग्रेको ४ नम्बर पम्प तत्काल मर्मत गरेर चलाउन निर्देशन दिए । उनको निर्देशनपछि पम्प बनेर सञ्चालनमा आएको छ। उक्त पम्पले दैनिक २५ लाख लिटर पानी तान्छ। 

हाल धरानमा आएको पानी कति टिकाउ हुने भन्नेबारे भने शंका छ। हाल धरानमा आइरहेको पानीको मुहानदेखि केही तल मात्रै नयाँ मुहान बनाइएको हो। सोही  कारण हिउँदको समय पानी सुक्ने हुँदा सोमबार धरानमा आएको पानी बाह्रैमास आउन नसक्ने पक्का छ। 

धरान उपमहानगरका खानेपानी प्राविधिक राजु पोखरेल पहिलो मुहानबाट बाँकी रहेको पानी दोस्रो मुहानबाट ल्याउने तयारी रहेको बताउँछन्। बर्खामासमा जस्तो पर्याप्त पानी नआए पनि १० लिटर प्रतिसेकेन्डका दरले पानी आउने उनको दाबी छ।

यसले खानेपानी समस्याको दीर्घकालीन समाधान नगरे पनि केही टेवा पु¥याउन सक्ने उनको बुझाइ छ। 

प्रकाशित: Sep 15, 2022| 11:38 बिहीबार, भदौ ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।