बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • कला/साहित्य
  • ‘ऐना झ्यालको पुतली’ले अझै शो पाएन, हलवालाको दादागिरी- ब्रह्मास्त्रको सेन्सर नभई बुकिङ खोल्न मिल्दैन

‘ऐना झ्यालको पुतली’ले अझै शो पाएन, हलवालाको दादागिरी- ब्रह्मास्त्रको सेन्सर नभई बुकिङ खोल्न मिल्दैन

हिन्दी फिल्मलाई प्राथमिकतामा राख्न खोज्ने हलवालाको दादागिरी र वितरकको राजनीतिले राम्रा भनिएका नेपाली चलचित्रले व्यावसायिक घाटा बेहोर्नुपर्ने अवस्था छ।
 |  बिहीबार, भदौ २३, २०७९

राज सरगम

राज सरगम

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– २४ भदौमा चलचित्र ‘ऐना झ्यालको पुतली’ देशभरि एकैसाथ प्रदर्शनमा आउँदै थियो। निर्देशक सुजित बिडारीसहितको सिंगो निर्माण टिम यसको तयारीमा थिए। 

निर्माण टिमलाई चिने–जानेकाहरूले फिल्म हेर्न कुन हलमा जाने भनेर सोधिरहेका पनि थिए। राम्रो प्रतिक्रिया पाइरहेको ऐना झ्यालको पुतलीले २४ भदौमा प्रदर्शन मिति पायो तर २३ भदौसम्म पनि शो समय पाएको छैन। 

किन शो टाइम नपाएको भन्ने प्रश्नमा आफैंलाई थाहा नभएको बताउँछन्, बिडारी। भन्छन्, ‘भोलि रिलिज भनेको फिल्मको शो टाइम पाइसक्नुपर्ने हो। किन दिइरहेका छैनन् त्यही बुझ्न दौडधुपमा छु।’

निर्देशक बिडारी खुलेर नबोले पनि ऐना झ्यालको पुतलीका कास्टिङ डाइरेक्टर केदार श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्, ‘नेपाली चलचित्र हेर्न आतुर छन् दर्शक तर हाम्रा हलवालाहरू भने शो दिँदैनन्। ए हलवालाहरू तिमीलाई पैसा चाहिएको हो, शो देऊ। यही फिल्मले दिन्छ पैसा। हिन्दी फिल्म कुरिराख्नुपर्दैन।’ 

श्रेष्ठको स्टाटसअनुसार नेपाली चलचित्रले शो टाइम नपाउनुको पहिलो कारण बलिउड फिल्म नै हो।  

Metro Mart
worldlink


२४ भदौबाट बलिउड फिल्म ‘ब्रह्मास्त्र’ नेपालमा प्रदर्शनमा आउँदै छ, जसको सेन्सर हुन बाँकी रहेकाले बुकिङ खुलाउन नसकिएको भन्ने छ। अथवा सेन्सर नभएको चलचित्रको बुकिङ खुलाउन मिल्दैन। हुन त हिन्दी चलचित्र नेपालमा आएपछि नेपाली चलचित्रले हल पाउन ठूलै संघर्ष गर्नुपर्छ। हल पाए पनि न्यून शो पाउने गरेका दृष्टान्त धेरै छन्। चलचित्र ब्रह्मास्त्रको सेन्सर नभई बुकिङ खुलाउन नहुने अडान बोर्ड अध्यक्ष भुवन केसीले समेत लिएको भनिन्छ। बोर्ड अध्यक्षबाटै नेपाली चलचित्रले शो नपाउनु भनेको हिन्दी चलचित्रलाई प्राथमकितामा राख्नु हो। 

राजनीतिक पहुँचका आधारमा बोर्ड अध्यक्ष भएका केसीले नेपाली चलचित्रलाई प्राथमिकता राखेनन्। अघिल्लो साता केसीले दक्षिण भारतीय फिल्म ‘लाइगर’का कारण राधा र प्रकाशको प्रदर्शन मिति पछाडि सार्न भनेका थिए। यसबाट पनि प्रस्ट हुन्छ, केसीले हिन्दी फिल्मलाई प्राथमिकतामा राखेका छन्। 

तर प्रकाश र राधाका निर्माता, निर्देशक पछाडि हटेनन् र १० भदौमै प्रदर्शन गरे। अन्तिममा मारमा राधा पर्न पुगेको थियो। अहिले ब्रह्मास्त्रका कारण ऐना झ्यालको पुतलीमाथि हलवालाले अन्य गरिरहेका छन्। 

चलचित्र ऐना झ्यालको पुतलीले अनेक प्रिमियर गर्‍यो। चलचित्र धेरैको रोजाइमा पनि परेको छ। प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ। त्यसैले चलचित्र हलसम्म दर्शक पुग्नेमा निर्माण टिम ढुक्क थियो। तर कुन समय हलमा लाग्छ भन्ने निर्माण टिमलाई नै अत्तोपत्तो छैन। 

चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेत सामाजिक सञ्जालमा लेख्छन्, ‘चलचित्र विकास बोर्ड, निर्माता संघ, निर्देशक समाज यो विषयमा मौन हुनु खेदजनक। भोलि रिलिज हुने फिल्मको आजसम्म शो खुलेको छैन। कारण प्रस्ट छ, प्रायोरिटी।’

प्रदर्शन मिति नजिकिएसँगै ऐना झ्यालको पुतलीले आफ्नो प्रचार–प्रसार तीव्र बनाएको थियो। तर हिन्दी चलचित्रका कारण नेपाली चलचित्रले शो नपाउँदा दुःखी भई निर्देशक बिडारी सामाजिक सञ्जालमा लेख्छन्, ‘भावनात्मक कुरा गरेर सिनेमा चल्दैन। सिनेमा चल्न हलमा दर्शक पुग्नुपर्छ । अवस्था यस्तो छ कि एउटा हिन्दी सिनेमाको सेन्सर नभएको कारणले भोलि रिलिज हुने भनेको हाम्रो सिनेमाको शो टाइम अहिलेसम्म पाउन सकेका छैनौं। कुन हलमा कुन टाइममा जाऔं भनेर सोधिरहेका साथीभाइलाई जवाफ दिन सकिरहेका छैनौं।’

चलचित्र निर्देशक दीपेन्द्र के खनालले ऐना झ्यालको पुतलीका लागि शो समय उपलब्ध गराउन माग गरेका छन्। उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘भोलि प्रदर्शन हुने चलचित्रको आज पनि किन शो समय निस्किएको छैन? सम्बन्धित सबैमा चाँडोभन्दा चाँडो प्रदर्शन समय उपलब्ध गराउन माग गर्दछु।’ 

नेपाली चलचित्रले सोचेजस्तो दर्शक नपाउनुको पहिलो कारण सिनेमा हल र वितरकको मनोमानी पनि हो। हिन्दी फिल्मको सेन्सर नभएकै कारण राम्रो भनिएको नेपाली चलचित्रले शो नपाउनु हलवालाको दादागिरी मात्रै होइन, नेपाल चलचित्रमाथि गम्भीर नहुनु पनि हो। 

चलचित्र विकास बोर्डले नेपाली चलचित्रमाथि गरेको सौतेनी व्यवहार पनि दुःखदायी छ। यो दुर्दशा केही समय अगाडि चलचित्र ‘द सिक्रेट अफ राधा’का निर्देशक सुवर्ण थापाले पनि भोगेका थिए। प्राइम शो नपाएको भन्दै थापाले चलचित्र राधाको प्रदर्शनलाई बीचैमा रोक्नुपरेको थियो। राधा चलचित्र हेर्ने दर्शक नै नभएकाले शो घटाइएको भनेका थिए, वितरक गोपाल कायस्थले। 

१० भदौदेखि राधा, प्रकाश र दक्षिण भारतीय फिल्म ‘लाइगर’ एकसाथ प्रदर्शनमा आएका थिए। लाइगरका कारण पनि राधाले प्राइम शो नपाएको आरोप थियो, थापाको।  

तर हलवालाको दादागिरी ऐना झ्यालको पुतली र राधामाथि मात्रै भएको होइन। हिन्दी फिल्मलाई प्राथमिकतामा राख्न खोज्ने हलवालाको दादागिरी र वितरकको राजनीतिले राम्रा भनिएका नेपाली चलचित्रले व्यावसायिक घाटा बेहोर्नुपर्ने अवस्था छ।

विदेशी फिल्मको दबदबामा प्रदर्शन भएको फिल्म ‘ए मेरो हजुर–४’ ले दर्शकको राम्रै साथ पाइरहेको थियो। तर दक्षिण भारतको फिल्म ‘केजीएफ’को क्रेज बढी हुँदा केही हल सञ्चालकले ए मेरो हजुर ४ को शो नै कटौती गरेका थिए। 

फिल्मले राम्रो प्रदर्शन गर्दागर्दै शो टाइम घट्दा फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत प्रदर्शकको  आलोचना गरिरहेका थिए। ए मेरो हजुर ४ को शो टाइम घटेपछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हिन्दी फिल्म पनि चलाऊँ, पैसा मज्जाले कमाऊँ तर नेपाली फिल्मलाई दिइएको थोरै शो नघटाऊँ।’

नवनिर्वाचित चलचित्र निर्माता संघ अध्यक्ष नवल खड्काले केही दिनअघि मात्रै हिन्दीभन्दा नेपाली चलचित्रलाई प्राथमिकतामा राखिने भन्दै साधारणसभा सम्पन्न गरेका थिए। हिन्दी फिल्म बिहीबार र नेपाली चलचित्र शुक्रबार मात्रै प्रदर्शन आउने गरेका थिए।

अध्यक्ष खड्काले यदि हिन्दी र नेपाली चलचित्र शुक्रबारभन्दा अगाडि प्रदर्शनमा ल्याए आन्दोलनमा उत्रिनेसमेत सुनाएका थिए। तर यतिखेर हलवालाले हिन्दी फिल्म सेन्सर नगरी टिकट बुकिङ नखुलाउँदा खड्का बोलेका छैनन् । केही समय अगाडि मात्र अन्तर्वार्तामा उनले भनेका थिए, ‘अब कुनै निर्मातालाई डुब्न दिँदैनौं।’ 

हलवालाको दादागिरी चलिरह्यो भने नेपाली चलचित्रका निर्माता डुब्ने मात्रै होइन, सडकमै पुग्नेछन्।

प्रकाशित: Sep 08, 2022| 13:39 बिहीबार, भदौ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।