मंगलबार, वैशाख १६, २०८२

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।
 |  बिहीबार, साउन १९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, साउन १९, २०७९

काठमाडौं- कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा देशभरका अस्पतालबाट बिरामीहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतलामा पुगे। सरकारले पनि शुक्रराज अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा तोकेको थियो। अस्पतालले  शय्याको क्षमता विस्तार गर्‍यो, ल्याब विस्तार गर्‍यो।

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो।

नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो। कोरोनाको अघिल्ला लहरमा टेकु अस्पतालले दिएको सेवा उदाहरणीय रहेको थियो। कोरोना महामारी अगाडि जम्मा ६० शय्यामा सञ्‍चालनमा रहेको टेकु अस्पताल हाल सय शय्याभन्दा बढी क्षमतामा सञ्‍चालित छ। 

यतिबेला देशमा कोरोनाको चौथो लहर सुरु भएको छ। दैनिक ७ सयभन्दा माथि कोरोना संक्रमितहरु थपिँदै छन्। यस्तो समयमा सोही शुक्रराज असस्पतालले बिरामीलाई फिर्ता गर्न थालेको छ। कोरोना संक्रमण सुरु भएदेखि नै देशभरका अस्पतालबाट रिफर भएर पुग्‍ने टेकु अस्पतालमा अब भने टेकुबाट अन्यन्त्र जानुपर्ने अवस्था आएको छ।

अस्पतालमा आवश्यक जनशक्ति नहुँदा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई फिर्ता पठाउन थालिएको छ। उपचारका लागि आवश्यक जनशक्ति नहुँदा बिरामीलाई फिर्ता पठाउन बाध्य भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 

Metro Mart
worldlink

पछिल्लो समय कोभिड १९ संक्रमण बढेसँगै अस्पतालमा दैनिक उपचारका लागि जाने कोभिड संक्रमितहरु बढ्न थालेका छन्। तर अस्पतालले भने अस्पतालले उपचार गर्न नसक्ने भन्दै बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न थालेको छ। सूचना अधिकारी गौतमका अनुसार अहिले उपचार गर्न आएकामध्ये गम्भीर प्रकारका बिरामीलाई वीर अस्पतालामा रेफर गरिएको छ। 'गम्भीर प्रकारका बिरामीलाई भर्ना गर्नुपर्छ तर त्यसको लागि जनशक्ति चाहिन्छ, हामीसँग जनशक्ति छैन, आईसीयू भए पनि जनशक्ति छैन। त्यसैले भर्ना गर्नुपर्ने अवस्थाका बिरामीलाई हामीले वीर अस्पताल रेफर गरेका छौं,’ गौतमले नेपाल समयसँग भने। 

गौतमका अनुसार अस्पतालमा हाल दैनिक ६÷७ जना कोभिड संक्रमित अस्पतालक पुग्‍ने गर्छन्, मध्यम खालका बिरामीलाई अस्पतालमा उपचार गरे पनि गम्भीर बिरामीलाई भने वीर अस्पतालमा रेफर गरिएको छ। 

कोरोना संक्रमण सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि कोभिडका लागि तोकिएका अस्तपालहरुमा चिकित्सक, नर्स, कार्यालय सहयोगी लगायतका स्वास्थ्यकर्मीहरु करारमा राख्नका लागि स्वीकृति दिएको थियो। सोही अनुसार शुक्रराज अस्पताललाई पनि मन्त्रालयले ७४ जनाको स्वीकृति दियो। उनीहरुमध्ये ६६ जना अस्पतालमा कार्यरत थिए। तर सरकारले साउन १ गतेदेखि करारमा राखिएका सबै कर्मचारीलाई हटाउने निर्णय गर्‍यो।

सोही अनुसार साउन १ गतेदेखि कोभिडको समयमा राखिएका सबै कर्मचारीहरु अस्पतालहरुले हटाएका छन्। तर कोरोना संक्रमणको चौथो लहर सुरु भएसँग बिरामीको संख्या बढ्न थालेपछि अस्पतालहरुमा समस्या देखिन थालेको हो। शुक्रराज अस्पतालमा पनि सो निर्णयले एकैपटक ६६ जना कर्मचारी कटौती भएपछि उपचारमा समस्या भएको सूचना अधिकारी गौतम बताउँछन्। गौतमका अनुसार अस्पतालका ३ चिकित्सक, रेडियोग्राफर २, ल्याब टेक्निसियन ५, हेल्थ असिस्टेन्ट ५, नर्सिङ अधिकृत १, स्टाफ नर्स १९, बायो मेडिकल टेक्निसियन १, सहचालक २, कार्यालय सहयोगी ३० जना र अन्य २ जना करारका कर्मचारी कटौती भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख मदन भुजेलका अनुसार अस्पतालमा जनशक्ति थप्‍न लागिएको बताए। भुजेलका अनुसार अस्पतलाले ७२ जनाको करार स्वीकृति गरिदिनका लागि अनुरोध गरेको छ। सोही अनुसार अस्पतालले अस्पतालले आन्तरीक स्रोतबाट तलब खुवाउनेगरी उक्त जनशक्ति स्वीकृत गर्न लागेको छ। 'एक दुईदिनभित्रै यस समस्याको समाधान हुन्छ,' भुजेलले भने। 

भुजेलका अनुसार टेकु अस्पतालमा थपिएको सेवाका लागि आवश्यक जनशक्ति थप गर्ने तयारी भइरहेको छ। 

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले देशभरका १७ अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ। यसभन्दा अगाडि कोभिडको समयमा अस्पतालहरुमा करारमा राखिएका कर्मचारीहरु कटौती भएका छन्।  यदि उक्त अस्पतालहरुमा जनशक्ति अभावका कारण उपचार हुन नसक्ने अवस्था आएमा पुन करारमा कर्मचारी राख्‍न सकिने भुजेलले बताए।

प्रकाशित: Aug 04, 2022| 19:30 बिहीबार, साउन १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्