बुधबार, जेठ १, २०८२

काया फेर्दैछ ‘थिंकट्यांक’ सिनास

लामो समयदेखि बन्द भएका महत्त्वपूर्ण अनुसन्धानात्मक जर्नलहरूलाई पुनः प्रकाशनमा ल्याएर वास्तविक काया फेर्ने जमर्कोमा छ सिनास।
 |  बुधबार, असार १, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, असार १, २०७९

काठमाडौं- केही समयअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरभित्र रहेको ‘थिंकट्यांक’ नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)मा पुग्दा अस्तव्यस्त देखिन्थ्यो। न रंगरोगन, न त कुनै चहलपहल। सुकेका रुखका बुट्यान पन्छाउँदै कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो। कार्यालय परिसर पनि अव्यवस्थित थियो। खाली कम्प्युटर र लाइब्रेरीले अनुसन्धाताहरूलाई पर्खिरहेका हुन्थे।

हिजोआज भने सिनास परिसर केही फेरिएको पाइन्छ। बुद्धको मुर्तिले सिनासभित्र छिर्नेहरूलाई स्वागत गरिरहेको छ। पहिले फुस्रो देखिने निर्देशकको कार्यकक्षसमेत फेरिएको छ। भवनभित्रका भित्ता रङरोगन गरिएको छ। ‘अस्तव्यस्त' सिनास काया फेर्न संघर्षरत रहेको अनुमान गर्न सकिन्छ।   

भवन 'आकर्षक' बन्दैमा अनुसन्धान केन्द्रले काया नै फेरेको भन्न मिल्दैन। तर, यसले भवन परिसर र कोठाहरूमा मात्र परिवर्तन ल्याएको छैन, लामो समयदेखि बन्द भएका महत्त्वपूर्ण अनुसन्धानात्मक जर्नलहरूलाई पुनः प्रकाशनमा ल्याएर वास्तविक काया फेर्ने जमर्कोमा छ सिनास।

केही समयअघि सिनासले ३५ वर्षदेखि रोकिएको ‘स्ट्र्याटेजिक स्टडिज सिरिज’ प्रकाशनमा ल्यायो। गएको ४ मंसिरमा परराष्ट्रमन्त्री डा‍. नारायण खड्काले विमोचन गरेका थिए। ३५ वर्षदेखि रोकिएको सो जर्नल पुनः प्रकाशित हुनु आफैँमा महत्त्वपूर्ण भएको भन्दै निरन्तरताको कामना गरेका मन्त्री खड्काले सिनाको प्रशंशा गरेका थिए।

अंग्रेजी भाषामा रहेको उक्त जर्नल नेपाल–चीन सम्बन्धबारे केन्द्रित छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीन भ्रमण अवलोकनबारे कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले लिएको अन्तर्वार्ता, चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र कूटनीतिक सम्बन्धबारे सामग्री जर्नलमा समेटिएका छन्। साथै नेपाल–चीन सम्बन्धमा जानकार अध्येताका लेखहरू पनि यसभित्र समेटिएका छन्। 

Metro Mart
worldlink
लामो समयदेखि बन्द भएका महत्त्वपूर्ण अनुसन्धानात्मक जर्नलहरूलाई पुनःप्रकाशनमा ल्याएर वास्तविक काया फेर्ने जमर्कोमा छ सिनास।

आनन्द आदित्य, चन्द्र भट्ट, लालबाबु यादव, गौरवशमशेर थापा र श्वेता कार्कीसहित चीनका तीनजना प्राध्यापकको लेख उक्त जर्नलभित्र पढ्न पाइन्छ। जर्नल विमोचन गर्दै सिनासले यसलाई वर्षको दुईपटक (६-६ महिनामा) प्रकाशन गर्ने वाचा गरेको थियो। सोहीअनुसार अहिले सिनासमा काम भइरहेको छ। त्यसबेला चीन केन्द्रित जर्नल निकालेको सिनासले यसपटक भारतमाथि अध्ययन गर्दैछ। छिट्टै नै यसवर्षको दोस्रो जर्नल पनि बजारमा आउने निर्देशक कार्कीले जानकारी दिए। कार्कीका अनुसार 'स्ट्राटिजिक स्टडिज सिरिज'मा नेपालको विदेश नीति, कूटनीतिक सम्बन्ध, नेपाल र एसियामा देखिएको बदलिँदो विश्व राजनीतिको प्रभावसँग सम्बन्धित सामग्री अब निरन्तर पढ्न पाइनेछ। 

प्रकाशित: Jun 15, 2022| 10:57 बुधबार, असार १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्