आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेबाट दुईपटक धोका पाएपछि स्वतन्त्रबाट अध्यक्ष जितेका यी उम्मेदवार

एमालेबाट दुईपटक धोका पाएपछि स्वतन्त्रबाट अध्यक्ष जितेका यी उम्मेदवार

दौलथले करिब १२ वर्ष सोही गाउँपालिकाको इन्द्रावती माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरे। सामाजिक काम गर्ने क्रममा एउटा व्यक्तिगत आरोप लगाइएको थियो उनीमाथि।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २०७४ सालको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी मनोनयन गर्ने भन्दै शिक्षकबाट राजीनामा गर्न लगायो दौलथकुमार कुलुङ (राई) लाई। भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकाका राईले पनि पार्टीले नै अध्यक्ष बनाउने भएपछि राजीनामा दिए र उम्मेदवारी दिन तयार भए।

तर, पार्टीले टिकट दिएन उनलाई र अर्को उम्मेदवारलाई अगाडि सार्यो। आखिरमा एमालेले उठाएका उम्मेदवारले हारे, कांग्रेस उम्मेदवारले जित हासिल गरे।  

यस पटकको चुनावमा एमाले गाउँ कमिटीले राईलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्यो। तर फेरि पनि पार्टीकै स्थानीय नेताहरुले ‘झेली’ गरे। राईले टिकट पाएनन्। एमालेले शान्तिबहादुर अधिकारीलाई अध्यक्षमा उठायो। 

पार्टीले आफूलाई पाँच वर्ष अगाडि नै ‘आगामी चुनावको उम्मेदवार तपाईं नै हो’ भनेर लिखित सहमतिसमेत गरेको सम्झिए राईले। अनि स्वतन्त्र उम्मेदवारी दिए। ‘यसपालि पनि पार्टीबाट धोका भएपछि बाध्य भएर स्वतन्त्रबाट अध्यक्षमा उठेको हुँ र जितेँ पनि,’ राईले सुनाए।

दौलथले करिब १२ वर्ष सोही गाउँपालिकाको इन्द्रावती माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरे। सामाजिक काम गर्ने क्रममा एउटा व्यक्तिगत आरोप लगाइएको थियो उनीमाथि। सोही कारण नेकपा एमालेले उनलाई पटक–पटक अध्यक्ष लड्न दिएन। उनका अनुसार सधैं उनलाई सोही आरोपको कारण देखाउँदै टिकट दिएन पार्टीले। त्यसैले उनले आफूलाई सही सावित गर्नका लागि स्वतन्त्र रुपमा चुनावमा होमिने निर्णय गरे।

पार्टीबाट पन्छाइएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराए। ‘मेरो उम्मेदवारी खारेज गर्नका लागि आफ्नै दलका साथीहरु लागे र मुद्दासमेत हाले। तर सो मुद्दा प्रमाणित नभएको भन्दै उनीहरुको मुद्दा खारेज गरी निर्वाचन आयोगले मेरो उम्मेदवारीलाई सदर गर्यो,’ राईले भने। 

आयोगले उम्मेदवारी सदर गरेपछि उनी निर्वाचन प्रचारप्रसारमा लागे। उनले भने, ‘सामाजिक कामसँगै शिक्षक भएकोले मैले यो गाउँपालिकाको आवश्यकता राम्रोसँग बुझेको थिएँ। सोही अनुसारको योजनाहरु पनि मैले घोषणापत्र मार्फत सार्वजनिक गरेँ। सबै साथीभाइ र जनताको साथले मैले गाउँपालिका जितेर आफू निर्दोष रहेको प्रमाणित गरें।’ आफ्नो मुद्दा के थियो भन्नेचाहिँ उनले खुलाउन चाहेनन्। 

अध्यक्षको कार्यभार सम्हालेको दिनदेखि नै आफ्नो घोषणापत्रमा उल्लेख भएका काम गर्नतिर लाग्ने उनले सुनाए। राईले घोषणापत्रमा विद्युतीकरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छन्। सो गाउँपालिकामा अझै सबै स्थानमा विद्युत पुगेको छैन। यसबाहेक प्रविधिमैत्री शिक्षा, कृषिमा आधुनिकीकरण, स्वास्थ्य, खानेपानी लगायत समेटेर उनले १८ बुँदे घोषणापत्र जारी गरेका छन्।

आफ्नैभित्रको असन्तुष्टिले महेशलाई लागेको धक्का

गाउँपालिकाका निवर्तमान अध्यक्ष महेश राईको पराजय र कुलुङको उदय जिल्लाको राजनीतिमा बहसको विषय बनिरहेको छ। एमालेले नपत्याएका कुलुङले कसरी जिते? बलिया मानिएका महेशको पराजय कसरी भयो? स्थानीय नेताहरु यसका दुई कारण रहेको सुनाउँछन्। ६ वटा वडा भएको गाउँपालिकाका ५ वडा कांग्रेसले जितेको छ। एउटा वटा एमालेले जितेको छ। यस्तो अवस्थामा महेशको हारले भोजपुर कांग्रेसको राजनीतिमा तरंग सिर्जना गरेको छ। तर, स्थानीय नेताहरु एमालेभित्र कुलुङले सहनुपरेको पीडा र महेश आफैंले मिलाउन नसकेको तारतम्यका कारण फरक नतिजा आएको सुनाउँछन्।  

महेश बहुविवाहको विवादमा तानिएका थिए नै, सँगै वडा तहका नेताहरुसँग उनको सम्बन्ध सुमधुर थिएन। खासगरी वडा नम्बर ६ मा वडाध्यक्ष जितेका विक्रम वनसँग उनको सम्बन्ध चिसिएको थियो। विक्रम र महेशबीचको सम्बन्धलाई नियालेका एक नेता भन्छन्, ‘महेशले विक्रमलाई धेरै हेप्ने गर्थे। त्यो हेपाइको बदला अहिले विक्रमले लिएका छन्।

विक्रमले वडामा पार्टीलाई भोट मागे। तर, महेशका पक्षमा भोट मागेको देखिएन।’ त्यसो त कुलुङ र वन कुनै बेला व्यावसायिक साझेदार समेत थिए। कुलुङले वन र संघीय समाजवादीका नेता वीरकुमार राईसँग मिलेर साल्पा कस्न्ट्रकसन प्रालि नामक निर्माण कम्पनी सञ्चालन गरेका थिए। सोही कम्पनी सञ्चालन गर्दा कुलुङमाथि बैंकिङ कसुरको मुद्दा परेको थियो। त्यही मुद्दालाई देखाएर एमालेले उनलाई टिकट दिएको थिएन। 

पराजित महेश श्रीमतीको निधन भएको एक वर्षभित्र दुई वटा विवाह गरेको विवादमा निर्वाचनको ठिक अघि तानिएका थिए। त्यो विवादको असर पनि परिणाममा देखिएको छ। कुलुङको जित कसरी सम्भव भयो त? साल्पा सिलिछोका एक मतदाता भन्छन्, ‘एमालेका कार्यकर्ता, माओवादी र कांग्रेसकै आधा कार्यकर्ता कुलुङको पक्षमा लागे। खासगरी एमालेभित्र कुलुङ प्रतिको सेन्टिमेन्ट र कांग्रेसभित्रको असन्तुष्टि नै कुलुङ विजयको मुख्य कारक हो।’

प्रकाशित: May 16, 2022| 16:19 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।