मंगलबार, वैशाख १६, २०८२

'सिर्जना भाउजू'सँग काठमाडौंका गल्लीहरु छिचोल्दा...

 |  मंगलबार, वैशाख २०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- १९ गते बेलुकीपख आकाशबाट परेको पानी ओभाउनसम्म भ्याएको थिएन। अघिल्लो दिन घरदैलोमा हिँड्दाको थकाइ बिर्सिएर नेपाली कांग्रेसको एक टोली इन्द्रचोकका गल्लीहरुमा प्रचारप्रसारमा हिँड्छ। त्यसको अघि-अघि लाग्छिन्, कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंह। उनलाई घर र मतदाता चिनाउँदै हिड्छन्, वडा नम्बर २२ का अध्यक्षका उम्मेदवार शालिग्राम तन्डुकार।

घाम छेक्ने भवनहरुले घेरिएका साँघुरा गल्लीहरुमा हिड्दा सिंहको हात आकाशतिर हल्लिरहेका हुन्थे। महलका झ्याल-झ्यालबाट नियालिरहेका मतदातालाई इशारा-इशारामै मत मागिरेहेकी हुन्थिन्। हात हल्लाएरै आफू मत माग्‍न आएको जनाउ दिन्थिन्। अघिपछि लागेका समर्थकहरु उम्मेदवार र मतदाताबीच परिचय गराउन लागि पर्थे।

‘हाम्रो सिर्जना भाउजू, भोट दिनुपर्छ है,’ भिडबाट कसैले अनुरोध गर्छन्। सिंहले पनि नमस्ते गर्दै मतको लागि अनुनय गर्छिन्। छेउबाट कसैले मतदाताको हातमा थमाइदिन्छ- ‘सिर्जनाया संकल्प’ लेखिएको कागज। जसमा सिर्जना सिंहको चुनावी संकल्प नेवारी भाषामा लेखिएका छन्। 

तर, त्यस्ता संकल्पपत्र पाएपछि अधिकांश मतदाताले दोबारेर खल्तीमा राख्‍न हतार गर्छन्। पढ्ने र त्यसबारे थप प्रतिप्रश्‍न गर्ने गरेको त्यति पाइएन। उनीहरुसँग न त कुनै माग थियो, न त प्रतिप्रश्‍न नै। बरु सिर्जना सिंहको आग्रहलाई सहर्ष स्वीकार गर्दै समर्थन जनाए- हवस्, भाउजूलाई हाम्रो भोट पक्का भयो। यति भएपछि कोही त्यही जुलुसमा मिसिएर हिँड्थे त कोही काममा लाग्थे।

जसरी सामाजिक सञ्‍जालमा राजनीतिक नेताहरुप्रतिको आक्रोश देखिन्छ, त्यसरी नेताहरु घरघरमा पुग्दा आक्रोश पोखिएको पाइएन।

गणेशमान सिंह परिवारकी बुहारी रहेकी उनी पनि कोहीभन्दा कम थिइनन्। बिना तडकभडक सरल तरिकाले मतदाता फकाउन खप्पिस् देखिइन्, सिर्जना सिंह। आवश्यक पर्दा नेपाली नत्र नेवारी भाषामै मतदातासँग गफ गर्थिन्।

Metro Mart
worldlink

नेपथ्यमा गीत घन्किरहन्थ्यो –

आफैँभित्र लड्ने पार्टी किन चाहियो देशलाई

फेरि पनि फर्कीफर्की हेर्नहुन्‍न त्यसलाई

व्यवस्थाको लडाइँमा खारिएका नेता

उदयमान हाम्रा नेता यता हेर्नुस् यता

रानी फूलैमा...


गीतले अन्य दलमा रहेका आन्तरिक किचलो देखाउँदै कांग्रेसको बखान गर्दै थियो। भलै पार्टीभित्रको किचलोबाट भने कांग्रेस स्वयं मुक्त छैन। जे होस्, कांग्रेसको गीतले इन्द्रचोक क्षेत्र गुञ्‍जायमान भएको थियो। यसरी अन्य दलको कमजोरी औँल्याउँदै गीत घन्किरहन्छ-

च्याप्पै स्वस्तिक समाउने

झ्याप्पै रुखमा भोट हाल्ने

नपरौँ है कोही पनि रनभूलैमा...

काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ र २३ मा मंगलबार बिहान कांग्रेसले घरदैलो अभियान चलाएको थियो। सिंहको पक्षमा मत माग्‍न त्यही क्षेत्रमा दुई टोली सक्रिय थिए। एकातिर कांग्रेस नेता प्रकाशमान सिंह (सिर्जना सिंहका श्रीमान)ले कमान्ड सम्हालेका थिए भने अर्को समूहलाई सिर्जना सिंह स्वयंमले नेतृत्व गरेर हिँडेकी थिइन्।

इन्द्रचोकको बटुबाट सुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत ‘प्रविन दाइ’को घर पुगेर पहिलोपटक हात जोड्छ। भिडबाट अधिकांश समर्थकको आवाज सुनिन्छ, ‘प्रविन दाइको घरबाट मत माग्‍न सुरु गरौँ ।’ र, सोहीअनुसार मत माग्‍न उनीहरु घरदैलोमा पुग्छन्।

मन्दिर भेट्नासाथ दर्शनढोग गर्न छिर्थिन्। बटुको मन्दिरमा पुजाआजा गरेर घरदैलो अभियानमा लागेकी उनले अन्तिममा संकटा मन्दिरमा पनि दर्शन गरिन्। यसबीचमा अरु मन्दिरहरुमा पनि दर्शन गर्न छाडिनन्।

घर पुग्‍नुअघि भिडबाटै कसैले घरबेटीलाई सूचना जारी गरे। ‘भाउजू तल हुनुहुन्छ, हेर्नु त हामी पनि आइराछौँ,’ सूचना पाएपछि प्रविन दाइ पनि बाहिर निस्किए। आ-आफ्ना प्रतिबद्धता लेनदेन गरेर टोली फेरी गल्ली चहार्न निस्कियो। चोकैपिच्छे चिनेजानेको मान्छेको खोजी हुन्थ्यो।

इन्द्रचोकको गल्ली छिचोलेर मुखमा निस्किँदै गर्दा ‘युग दाइ’को खोजी भयो। सायद ‘युग दाइ’ त्यहाँका परिचित कांग्रेसी थिए। न्यूरोडका गल्लीहरुमा छानीछानी उनीहरु घरदैलोमा पुग्थे। जति घरमा मत माग्‍न सिंह पुगिन्, मतदाताको कुनै प्रतिप्रश्न सुनिएन। बरु हार्दिकताका साथ मुस्कान बाँडेर छुटिन्थे।

यसबाहेक त्यहाँका पसलहरुमा पनि हात जोड्दै, परिचय गर्दै टोली हिडिरह्यो। वडाध्यक्ष शालिग्राम तन्डुकार हरेक पसलेलाई ‘ल साहु बा, भोट है’ भन्दै हिँडिरहे। त्यसको छेउमा मुसुक्क मस्काउँदै दुई हात जोडेकी सिर्जना सिंह उभिरहेकी हुन्थिन्। सबैकी भाउजू ‘सिर्जना भाउजू’ भाउजूकै विशेषण जोडेर चिनिइरहिन्।

‘सिर्जना भाउजू’सँग घरी ‘दिपक भाइ’ चिनिन आउँथे त घरी ‘राज भाइ’। जोजो आए, महानगरप्रतिको प्रतिबद्धताबारे बुझ्‍न हैन, उम्मेदवारसँग चिनजान गरेर भोट दिने प्रतिबद्धता जनाउन आउँथे। जसरी सामाजिक सञ्‍जालमा राजनीतिक नेताहरुप्रतिको आक्रोश देखिन्छ, त्यसरी नेताहरु घरघरमा पुग्दा आक्रोश पोखिएको पाइएन।

अर्को रोचक कुरा त के थियो भने, सिर्जना सिंहमा देखिएको ‘भगवान’प्रतिको भक्तिभाव थियो। मन्दिर भेट्नासाथ दर्शनढोग गर्न छिर्थिन्। बटुको मन्दिरमा पुजाआजा गरेर घरदैलो अभियानमा लागेकी उनले अन्तिममा संकटा मन्दिरमा पनि दर्शन गरिन्। यसबीचमा अरु मन्दिरहरुमा पनि दर्शन गर्न छाडिनन्।

यसरी मत माग्‍न हिड्दाँ न्यूरोड र इन्द्रचोकका गल्लीहरु कांग्रेसको चारतारे झण्डामय भयो। सबैभन्दा राम्रो पक्षचाहीँ, त्यहाँ मुर्दावादका नारा सुनिएनन्। विपक्षीलाई गालीगलौज गर्ने भन्दा पनि आफ्नै एजेण्डा सुनाउँदै उम्मेदवारहरु हिँडेका थिए। कांग्रेसकै जिन्दावादका नाराहरु गल्लीगल्लीमा गुञ्जियो। र, सँगसँगै नेपथ्यमा संगीत घन्किरह्यो –

च्याप्पै स्वस्तीक समाउने

झ्याप्पै रुखमा भोट हाल्ने

नपरौँ है कोही पनि रनभूलैमा...।

 

प्रकाशित: May 03, 2022| 17:02 मंगलबार, वैशाख २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...