आइतबार, जेठ १२, २०८२

जसले पढ्न जानेनन्, तर वर्षौंदेखि किताब बेचिरहेछन्

६८ वर्ष पुगेका ठाकुरले जीवनको अधिकांश समय पत्रिका र पुस्तक बेचेर गुजारा चलाए। तर, उनले आजसम्म अक्षर चिनेका छैनन्। पढ्न नजानेको भए पनि पुस्तक बेचेर धेरैलाई ज्ञान बाँडिरहेका छन्।
 |  शनिबार, चैत १९, २०७८

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

शनिबार, चैत १९, २०७८

काठमाडौंस्थित जमलको फुटपाथमा कपडा, मोबाइल चार्जर, घडी, जुत्ता–चप्पलजस्ता खुद्रा सामग्री बेच्न बसेकाहरूको भीड देखिन्छ। त्यसै भीडमा पुस्तक र पत्रपत्रिकाको चाङ थुपारेर बसिरहेका ‘ठकुरी बाजे’को कथा भने अरुको भन्दा फरक छ। 

तीन दशकदेखि पुस्तक बेचिरहेका ठकुरी त्यहीँको आकाशे  पुलनिर त्रिपाल टाँगेर बस्छन्। छेउमै पुराना बाकसलाई ओच्छ्याएर सुत्ने ठाउँ बनाएका छन्। थोरै भाँडाकुँडा र सानो स्टोभमै गुजारा चलाएका छन्।

वरिपरिका चिन्नेहरूले उनलाई ‘ठकुरी’ भनेर बोलाउने गर्छन्।  नागरिकतामा पनि यही नाम छ। बिहान झिसमिसेमै वितरककहाँ पत्रिका लिन पुग्छन् उनी। अघिल्लो दिन नबिकेकोे बासी पत्रिका फिर्ता गरेर ताजा पत्रिका र केही पुस्तक लिएर फर्कन्छन्। बिहान ६ बजेदेखि साँझसम्म पुस्तक–पत्रपत्रिका बेच्न राख्छन्। पढ्न आउनेहरु पेटी छेउमा राखिएको कुर्सीमा बसेर पत्रिका पढ्छन्। राजनीतिका गफ हाँक्छन्। तर, ठाकुर भने अरुले पढेको समाचार सुनेर देशको हालचाल थाहा पाउँछन्। 

उदयपुरबाट बाल्यकालमा आफन्तहरुसँग काठमाडौं आए उनी। सुरुमा गोरखापत्र बेच्न थाले। ठ्याक्कै कुन मितिबाट पत्रिका बेच्न थालेको उनलाई याद छैन। ‘सुरुमा गोरखापत्र बेच्दा एउटा गोरखापत्रको २५ पैसा पर्थ्यो,’ उनी सम्झिन्छन्, ‘त्यसबेला बोतलको दूधको पनि २५ पैसा नै पर्थ्र्या। त्यतिमात्र याद छ।’


६८ वर्ष पुगेका ठाकुरले जीवनको अधिकांश समय पत्रिका र पुस्तक बेचेर गुजारा चलाए। तर, उनले आजसम्म अक्षर चिनेका छैनन्। पढ्न नजानेको भए पनि पुस्तक बेचेर धेरैलाई ज्ञान बाँडिरहेका छन्। बजारमा आएको नयाँ किताबबारे चासो राख्छन्। जीवनभरि पत्रिका बेचेकोले रङ देखेरै पत्रिका कुन हो चिन्न सक्छन्। 

‘पहिला पत्रिका पढेर देश–विदेशको बारेमा चिन्ता गर्ने पाठक हुन्थे। अहिलेको मानिसलाई केही मतलब नै छैन। मोबाइलमै झुण्डिरहन्छन्।’

ग्राहकले कुनै पुस्तक खोजे भने आफैं हेरेर लैजान सल्लाह दिन्छन्। बजारमा भर्खरै प्रकाशित भएका पुस्तक छन् भने पनि ग्राहकलाई जानकारी दिन्छन्। 

सामान्यतयाः नेपालीभन्दा अङ्ग्रेजी पुस्तक बढी बिक्री हुने उनको अनुभव छ। भन्छन्, ‘नेपाली भाषाका किताब देशभरि सजिलै पाउन सक्छन् तर अङ्ग्रेजी किताब दिल्लीबाट आउँछ। काठमाडौंको केही ठाउँमा मात्र त्यस्ता पुस्तक पाइने भएकाले अंग्रेजी किताब बढी बिक्छ।’

कहिलेकाहीँ ठकुरीको पसलमा अध्ययनशील मानिसहरू पनि आउँछन्। जसले एकैपटक पाँच–छ हजारको पुस्तक लैजाने गर्छन्। यस्ता अध्ययनप्रेमी ग्राहक देख्दा पुस्तकलाई मन पराउने मानिस अझैपनि बाँकी छन् जस्तो लाग्छ उनलाई। 

अहिलेको पुस्ता सिक्ने कुरामा पहिलेका पुस्ता जस्तो गम्भीर नरहेको अनुभव छ उनको। भन्छन्, ‘पहिला पत्रिका पढेर देश–विदेशको बारेमा चिन्ता गर्ने पाठक हुन्थे। अहिलेको मानिसलाई केही मतलव नै छैन। मोबाइलमै झुण्डिरहन्छन्।’

पहिलेपहिले चैत सुरु भएपछि उनीकहाँ नयाँ सालको पात्रो खोज्दै धेरै मानिसहरु आउँथे। अहिले मोबाइलमा ‘हाम्रो पात्रो’ एपले गर्दा भित्ते पात्रोको खाँचो टरेको छ। ठाकुर भन्छन् ‘तीर्थव्रत गर्नेहरु तिथि हेर्न भित्तेपात्रो किन्छन्। बाँकी सबै मोबाइलमै पात्रो आउने भएकाले किन्दैनन्।’


ठकुरीसँग किताब किनेर पढ्नेहरु आज नेपालका नामी नेताहरु बनेका छन्। उनी सम्झिन्छन्, ‘पहिले मसँगै पत्रिका किनेर पढ्नेहरूको फोटो यिनै पत्रिकामा देख्छु। नाम थाहा नभए पनि ग्राहकको अनुहार भुलेको छैन।’ 

६८ वर्ष पुगेका ठाकुरले जीवनको अधिकांश समय पत्रिका र पुस्तक बेचेर गुजारा चलाए। तर, उनले आजसम्म अक्षर चिनेका छैनन्। पढ्न नजानेको भए पनि पुस्तक बेचेर धेरैलाई ज्ञान बाँडिरहेका छन्।

जब ठकुरी पहिलो पटक काठमाडौं आएका थिए, त्यसबेला काठमाडौं हरियाली थियो। बाङ्गेमुडामा किताब पसल थियो। त्यहाँ बाहेक सबै ठाउँमा जङ्गल थियो। पशुपति जाँदा नाचघर पुगेर ओरालो लाग्नुपर्थ्यो। पुरानो काठमाडौं सम्झँदा साझा बसलाई पनि सम्झन्छन्। ‘पहिला बसहरु खासै चिन्दैनथे। साझा बसमात्र चल्थ्यो। त्यो गौशालासम्म जान्थ्यो। ओरालोमा हुत्तिएर पर पुग्ने हो कि भन्ने डर लाग्थ्यो,’ उनले सुनाए। 

ठकुरीका दुई छोरा र एक छोरी छन्। छोराहरु विदेश छन्। छोरीको विवाह भइसक्यो। श्रीमती गाउँमा बस्छिन्। उनी प्रत्येक वर्ष दसैं मनाउन गाउँ पुग्छन्। एउटा पुस्तक बिक्री भएबापत २० देखि २५ प्रतिशत ठकुरीले पाउँछन्। ‘कोठा भाडा लिन पुग्ने कमाइ हुँदैन। त्यहि भएर जहाँ किताब बेच्छु, त्यहीँ बस्छु,’ उनी आफ्नो बाध्यता सुनाउँछन्।   

नगरपालिकाले उठाउँदैन त? यो प्रश्नको उनले गज्जबको उत्तर दिए– नगरपालिका आउनुभन्दा पहिला म आएको हो। मलाई कसैले केही भन्न सक्दैनन्।  

प्रकाशित: Apr 02, 2022| 09:23 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्