बिहीबार, जेठ २, २०८२

एयरपोर्टमा सटल बस सञ्चालनले ल्याएको खुसी

देशका विभिन्न भागबाट विमान चढेर काठमाडौं आउने र काठमाडौंबाट अन्य स्थानमा जाने यात्रुलाई सटल बस निकै लाभदायक बनिरहेको छ। बस चलाउँदै आएका लोकेन्द्र प्रजापतिका अनुसार अहिले सामान्य यात्रुदेखि सेलिब्रेटीसम्मले सेवा लिइरहेका छन्।
 |  बुधबार, चैत २, २०७८

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

बुधबार, चैत २, २०७८

काठमाडौं– त्रिभुवन विमानस्थलको मूल प्रवेशद्वारदेखि आन्तरिक टर्मिनलबीचको दूरी लगभग आठ सय मिटर छ। फटाफट हिँड्ने हो भने गेटदेखि आन्तरिक टर्मिनलसम्म पुग्न करिब २० मिनेट लाग्छ। सार्वजनिक सवारीसाधन मूल गेटभित्र पस्न पाउँदैनन्। त्यसकारण मूल गेटदेखि टर्मिनलसम्म पुग्न या त निजी सवारीसाधन हुनुपर्‍यो ट्याक्सी नै लिनुपर्‍यो। 

पछिल्लो साढे तीन महिनादेखि भने यो बाध्यता हटेको छ। कारण- विमानस्थलको मूल गेटदेखि टर्मिनलसम्म र टर्मिनलदेखि गेटसम्म सटल बस सेवा सञ्चालित छ, त्यो पनि निःशुल्क। पर्यटनमन्त्री प्रेम आलेको अग्रसरतामा गत मंसिर १५ बाट सटल बस सञ्चालन गरिएको हो। त्यसयता यो सेवा नियमित छ। 

देशका विभिन्न भागबाट विमान चढेर काठमाडौं आउने र काठमाडौंबाट अन्य स्थानमा जाने यात्रुलाई सटल बस निकै लाभदायक बनिरहेको छ। बस चलाउँदै आएका लोकेन्द्र प्रजापतिका अनुसार अहिले सामान्य यात्रुदेखि सेलिब्रेटीसम्मले सेवा लिइरहेका छन्। बिहान आठ बजेदेखि साँझको अन्तिम फ्लाइट हुँदासम्म चल्ने सटल बसबाट दैनिक एक हजारभन्दा बढी यात्रुले सेवा लिइरहेको उनको अनुमान छ।

‘तीन सिफ्टमा गरेर तीनजना चालक छौं। एक जनाको भागमा ६ घण्टा पर्छ। यो ६ घण्टा स्टेरिङमा हात राखेरै बित्छ। कहिलेकाहीँ फ्लाइट डिले भएको बेलामात्र गाडी रोकेर यात्रु पर्खछौं, नत्र तलमाथि गरिरहनुपर्छ,’ उनले सुनाए। ‘सटल–बस’ भनिए पनि यी दुईवटा गाडी काठमाडौंमा चल्ने ठूलो माइक्रो (हायस) हुन्। दुई वटा माइक्रो प्रत्येक पाँचदेखि दश मिनेटको फरकमा आन्तरिक टर्मिनलदेखि प्रवेशद्वार ओहोरदोहोर गरिरहन्छन्। एउटा माइक्रोमा १५ देखि २० जना यात्रु अट्छन्।

Metro Mart
worldlink

पर्यटनमन्त्री आले सटल बस उद्घाटनको दिन बस चढ्दै।

लोकेन्द्र प्रजापतिले नेपाल नागरिक उड्ययन प्राधिकरणमा जागिर खाएको १९ वर्ष भइसकेको छ। यसबीचमा उनले प्राधिकरणका धेरै गाडी चलाए तर अहिले सटल बस चलाउँदा सन्तुष्टि मिलेको उनी सुनाउँछन्। प्रत्येक दिन सयौं यात्रुलाई निःशुल्क सेवा दिन पाउँदा उनी दंग छन्। ‘यात्रुहरू यति सानो सेवाले पनि निकै खुसी भएर जानुहुन्छ,’ लोकेन्द्र भन्छन्, ‘झर्ने बेलामा धन्यवाद गुरुजी भनेको सुन्दा आनन्द लाग्छ। सरकारको सानो सहायतामा पनि नागरिक खुसी भएको देख्दा हामीलाई अझ खुसी लाग्छ।’

दुई वटा सटल बस चलाउन लोकेन्द्रसहित तीन जना चालक खटाइएको हो। लोकेन्द्र प्रजापति, कृष्णराम महर्जन र कृष्ण थापा मगर हप्ताको सातै दिन सटल बस चलाउन नेपाल नागरिक उड्ययन प्राधिकरणबाट खटिएका छन्। यसअघि उनीहरू प्राधिकरणकै गाडी चलाउँथे।

सटल बस चल्नुअघि यात्रुहरू ट्याक्सीलाई महँगो भाडा तिरेर विमानस्थलको गेटसम्म जान बाध्य हुने मध्येका एक हुन् सटल बसकै चालक कृष्ण थापा पनि। ‘एयरपोर्ट आउँदा दुई–तीन वटा झोला हुन्छ। बोकेर लैजान सकिँदैन,’ थापाले सम्झिए, ‘अझ परिवार, केटाकेटी पनि छन् भने जति महँगो भए पनि यहीँ अगाडि रोकेर राखेको ट्याक्सी चढ्नैपर्थ्यो। जति माग्यो उति पैसा तिर्नुपर्थ्यो।’

भाडादर थाहा नभएका यात्रुलाई विमानस्थलमा चल्ने ट्याक्सीले गेटबाहिर पुर्‍याएकै पनि चार–पाँच सय रुपैयाँसम्म लिने गरेका थिए। सटल बस चलेपछि यात्रु त्यही चढेर विमानस्थलको गेटअगाडि उत्रिन पाउँछन्। त्यसपछि आफ्नो इच्छाअनुसार सार्वजनिक सवारी, पठाओ, टुटल, ट्याक्सी वा पैदलै पनि आफ्नो गन्तव्यमा सजिलो भएको छ।

विमानस्थलको गेट बाहिरबाट चक्रपथ घुम्ने मात्र नभई काठमाडौंका अधिकांश ठाउँमा जाने बस तथा माइक्रो पाइन्छ। बनेपासम्म जाने बस पनि त्यहाँबाट छुट्छन्। सटल बसले विमानबाट ओर्लेका यात्रुलाई सार्वजनिक यातायात आउने बस स्ट्यान्डमै लगेर यात्रुलाई रोकिदिन्छ। अनि विमानस्थलको गेटबाट हिँड्दै गरेका यात्रुलाई बस चढाएर आन्तरिक टर्मिनलअगाडि लगेर झारिदिन्छ।

प्रकाशित: Mar 16, 2022| 20:45 बुधबार, चैत २, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।