मंगलबार, वैशाख १६, २०८२

प्रश्न सर्जकलाई होइन, आफ्नो नेतृत्वलाई गर

नेतृत्वलाई अभिभावक मानेर हिँडेका र परिवर्तनका लागि ज्यान दिने र लिने क्रान्तिकारीहरु अयोग्य लडाकुको बिल्ला भिरेर बहिर्गमनमा पर्दाको अवस्था कति कहालीलाग्दो थियो?
 |  आइतबार, फागुन २९, २०७८

प्रकाश गजमेर

प्रकाश गजमेर

आइतबार, फागुन २९, २०७८

यही फागुन २७ गते शुक्रबार प्रकाश सपुतको गीत ‘पिर’ सार्वजनिक भएकै केही समयमा चर्चा हुन थाल्यो। पिर गीतले सामाजिक सञ्जाल मात्र तताएन, यसले राजनीतिमै एउटा तरंग ल्याइदियो।

सत्तासिन राजनीतिको एउटा दल जुन सशस्त्र जनयुद्धबाट आएको थियो, त्यही दलभित्र ठूलो खैलाबैला भयो। एकै दिनमा दश लाखभन्दा बढी भ्युजसहित युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुग्यो गीत।

दश वर्षे जनयुद्धमा बन्दुक, गोली, बमले सामन्ती शोषकलाई तर्साउँदै र जनतालाई मार्दै हिँडेका हिजोका क्रान्तिकारी माओवादीहरुलाई गायक प्रकाशको गीत ‘पिर’ तोपजस्तै भइदियो। आगामी वैशाख ३० गतेका लागि घोषित स्थानीय चुनावका लागि पार्टीहरु घरदैलोमा भोट माग्न हिँड्ने तयारी गरिरहेका छन्। माओवादी पनि चुनावी देश दौडाहामा जुटिसकेको छ। पार्टी कार्यकर्ता पनि गाउँ झरिसकेको बेला गायक सपुतले पुरानो घाउ बल्झाइदिए। चुनाव नै बिथोलिदिने भयो भनेर नेता कार्यकर्ताको निद हराम भयो। आफ्नो पार्टीप्रति वितृष्णा गरिदिएझैं सञ्जाल आक्रोशित मात्र भएको छैन, सपुतलाई धम्कीपूर्ण शब्दमार्फत सपुतमाथि खनिएका छन्।

पहिले भिडियोकै कुरा गरौं। गीतमा प्रयोग गरेका शब्दहरु र १६ मिनेटको भिडियोमार्फत समाजको वास्तविकता चित्रण गर्न खोजेका छन् सपुतले। सशस्त्र जनयुद्धपछि पूर्व माओवादी छापामार लडाकुहरुले भोगेको यथार्थ काहानी भिडियोमा देख्न सकिन्छ। यो तीतो यथार्थ हेर्दा च्वास्स पारेपनि वास्तविकताभन्दा बाहिर भने छैन। प्रश्न र जवाफ, हिनतावोध र आक्रोशले भरिएको भिडियो कथा साँच्चिकै जनमुक्ति सेनाले पाएको दुःख सत्य लाग्छ। गीतको कथामा सुरुबाट अन्तिमसम्म निराशा छ। अर्को भाग ल्याउने एउटा बिन्दु भने गायक सपुतले छोडेर निराशालाई आशामा बदलिन खोजेको चलाखी पनि देखिन्छ। 

सशस्त्र द्वन्द्वपछि आफ्नो अमूल्य समयसँग युद्धमा बिताएका नेताहरु चार पटकसम्म हात उठाएर सलाम गर्दासम्म पनि नदेखेझैं गर्दाको दुखद् क्षणले हरेक पूर्वलडाकुलाई छुन्छ। त्यसैगरी परराष्ट्र मन्त्रालयको राहादानी विभागमा हुने बेथिति जहाँ महिलाहरु भोग्छन् त्यो पनि नायिका सुरक्षा पन्तले देखाएकी छन्। वैदेशिक रोजगारीमा आफ्नो आमाबा जाँदा सानो बच्चाबच्चीले गर्ने बिलौनाले झनै दर्शकलाई भिडियोबाट बाहिर जान दिँदैन।

Metro Mart
worldlink
सशस्त्र जनयुद्धपछि पूर्व माओवादी छापामार लडाकुहरुले भोगेको यथार्थ काहानी भिडियोमा देख्न सकिन्छ। यो तीतो यथार्थ हेर्दा च्वास्स पारेपनि वास्तविकताभन्दा बाहिर भने छैन।

एकै समयमा संघर्ष गरेका माओवादी योद्धा शान्ति सम्झौतापछि कोही आर्थिक रुपमा सम्पन्न भए भने कोही फुटपाथमै छन्। अथवा घर भाडा र परिवार चलाउन सक्ने हैसियतसम्म राख्न सक्दैनन्। यस्तो परिस्थितिबाट छुटकारा पाउन पीडित पूर्वलडाकुकी जहान खाडी जान तयार हुन्छिन्। र श्रीमानले मन मारेर विदेश पठाउन पासपोर्ट बनाइदिन्छ। 

जनयुद्ध गलत थिएन। गणतन्त्र पनि आयो। कैयन मुद्दाहरू स्थापित गरिदियो पनि। तर ती मुद्दाहरु स्थापना गर्न रगत पसिना र ज्यानको बलिदान दिएकाहरुको योगदानको मूल्यांकन किन भएन भन्ने हो। मर्ने मरे, बाँच्नेहरु ठूलो बडा नेता भन्नेहरु भए। उनीहरु पुँजीपति भए। बम र गोलीको बाटो हिँडेर जनताको जीवनशैली फेर्न हिँडेका नेताको मात्रै जीवनशैली फेरियो तर फेरिएन छापामार लडाकुहरुको। 

नवराज बिकहरु जातकै कारण मर्नुपर्यो। जातीय, वर्गीय मुक्तिको लडाइँ लडेका पार्टीकै नेताले दोषीलाई बचाउन गरेको तर्क हेर्दा गणतन्त्र आयो र भन्ने हुन्छ? कसका लागि लडेका रैछन् यिनले भन्ने प्रश्न पनि आउँछ।

वर्गीय मुक्तिको लडाइँ लडेको, जातीय मुक्तिको लडाइँ लडेको पार्टी देशकै ठूलो पार्टी नबनेको पनि होइन। राज्य सञ्चालनको बागडोर नसम्हालेको पनि होइन। परिवर्तनका लागि केही मुद्दालाई स्थापित नगरेको पनि होइन। कसैले माओवादी आन्दोलनलाई कम आँक्छ भने ऊ कि राजनीति बुझ्दैन कि स्वीकार गर्दैन। तर जसका लागि लडे जो जो लडे तिनीहरुको जीवनमा के तात्विक भिन्नता आयो त भन्ने प्रश्न आम मान्छेले अहिलेसम्म खोज्दै आएको चाहिँ हो। 

माओवादी पार्टीका विद्यार्थी नेतादेखि कार्यकर्तासम्मको फेसबुक र ट्विटर हेर्यो भने गायक सपुतप्रति कटाक्ष देख्न पाइन्छ। कतिपयले त प्रतिबनध नै गर्ने धम्की दिए। कतिपयले भने ज्यानको धम्की नै दिए। विभिन्न समयमा माओवादी पूर्वलडाकुहरुको नेताप्रति आक्रोश नदेखिएको होइन तर गायक सपुतको यो गीतपछि भने एकपटक सिंगो माओवादी पार्टी र आन्दोलन नै ‘रि–फ्रेस’ भएझै भएको छ।

नवराज बिकहरु जातकै कारण मर्नुपर्यो। जातीय, वर्गीय मुक्तिको लडाइँ लडेका पार्टीकै नेताले दोषीलाई बचाउन गरेको तर्क हेर्दा गणतन्त्र आयो र भन्ने हुन्छ? कसका लागि लडेका रैछन् यिनले भन्ने प्रश्न पनि आउँछ।

यो सत्य हो कि, माओवादीले लडेर ल्याएको गणतन्त्रमा आज निर्धक्कसँग सत्तामाथि प्रश्न गर्न सक्छन्। तर यत्रो सत्र हजार नेपाली जनताको आहुतिबाट पाएको गणतन्त्रको उपलब्धि यत्ति मात्र हो त? जसले युद्ध लडे, तिनीहरु आज के लाउँ के खाउँ भन्ने अवस्थामा छन्। सबै नहोलान् तर अधिकांश छापामार लडाकुको अवस्था दुःखान्त छ। सपुतले गीतमार्फत माओवादी नेतृत्वलाई समेत धक्का दिएको चाहिँ हो। अहिले बन्दुकको भन्दा बलियो एक स्रष्टाको गीत भएको छ। बन्दुक देखाएर तर्सिनेहरु गीत देखेर तर्सिनुपर्ने आत्तिनुपर्ने दिन आयो। 

नेतृत्वलाई अभिभावकत्व मानेर हिँडेका र परिवर्तनका लागि ज्यान दिने र लिने क्रान्तिकारीहरु अयोग्य लडाकुको बिल्ला भिरेर बहिर्गमनमा पर्दाको अवस्था कति कहालीलाग्दो थियो? यी त्यस्ता लडाकु थिए जसको न त हाइट, तौल नापियो ती त मुक्तिका लागि भनेर नेतृत्वसँगसँगै हिँडेका थिए। तिनले देखाएको मार्गमा हिँडेका थिए। पछि तिनै लडाकु अयोग्य भए। केका अधारमा अयोग्य भए भन्ने प्रश्नहरु पनि नआएका होइनन्। 

अमूल्य जीवन र घाइते शरीरलाई घिसार्दै बाँच्नकै लागि संघर्ष गरेका छापामार लडाकु सहरको गल्लीगल्लीमा भेटिन्छन्। ती पहुँचहिन योद्धाका कथा भन्न खोज्दा नेतृत्वको नजिक रहेका एकाध ढाेंगी क्रान्तिकारीलाई ऐंठन परेजस्तो भएको छ। प्रश्न सर्जकलाई होइन, आफ्नो नेतृत्वलाई गर। नेतृत्वमाथि प्रश्न गर्नसक्ने हैसियत छैन भने एक सर्जकमाथि प्रश्न गर्ने नैतिकता पनि हुँदैन। 

यो प्रश्न माओवादी नेतालाई मात्र होइन सामग्र राजनीतिकर्मीलाई प्रश्न गरिएको पनि हो। माओवादी जनयुद्धको एक सानो क्याडेट म आफू पनि भएको हुनाले यसमा भएको कमजोरी मेरो पनि छ र म मेरो भागमा पर्ने जिम्मा लिन्छु। प्रश्न अझै बाँकी छ।

अब नेतृत्वलाई हामीले गर्नैपर्ने प्रश्नः 

विशाल पार्टी कसरी चोइटा चोइटा भो? कारण  के? कमजोरी कसको? आलीसान महल र बंगला कहाँबाट आए? लडाएर भिडाएर टुट्न फुट्न किन यहाँसम्म आयौ? विचार मिलेन कि, बाटो मिलेन कि, सत्ताको भागबण्डा मिलेन कि? के मिलेन? पार्टी टुक्रियो, जनताको जीवनमा किन परिवर्तन आउन सकेन? सर्जकले देखाएको वास्तविकताले नेता–कार्यकर्ताका आँखा खुल्न सक्छन् भने आफ्नो नेतृत्वसँग आँखा जुधाएर प्रश्न पनि गर्न खोज्ने सामर्थ्य राखौं। 

प्रकाशित: Mar 13, 2022| 16:17 आइतबार, फागुन २९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...