केही समययता आफ्नै उल्झनहरुमा सैसैला खेल्दै थिएँ। केही लेख्ने मेसो मिलिरहेको थिएन। साथीहरुले भने लेख्न आग्रह गरिरहनुभएको थियो। म भने किताबभित्र डुब्ने कोसिसमा थिएँ। मसँग थियो उदय अधिकारीको पछिल्लो पुस्तक ‘प्रश्न’। नेपालमा हुँदा बढीजसो गैरआख्यान किताबहरु पढ्थेँ। खासगरी राजनीतिक वैचारिक किसिमका किताबहरु रोजाइमा पर्थे। थोरैमात्र आख्यान पढेँ हुँला र काव्य त अझ कम। तर परदेश लागेपछि भने आख्यानमा बढी मन भुलिन थाल्यो।
आख्यानले मान्छेलाई कल्पनाशील बनाउँछ कि! यस्तै लाग्यो मलाई। यता आएर मैले पढेको गैरआख्यान असंगति र मांगेना मात्रै हो। त्यसैले कताकता गैरआख्यानप्रतिको रुचि फेरि ब्युँतिएर आख्यानहरुलाई टेबलको एक छेउमा थाक लगाएर प्रश्न पढ्न थालेथेँ। यो किताब ठ्याक्कै कुन विधाको हो त्यो त थाहा छैन। तर पढ्दै गर्दा इतिहासको व्याख्या त्यही समयका साक्षीहरुको आवाजमा सुनेजस्तो अनुभूत भइरहेको छ। मित्र दिलिप कुँवरको ‘केही लेख्ने’ आग्रह आउँदा म अभि सुवेदीको अन्तर्वार्ताको अन्तिम उत्तर पढ्दै थिएँ। अभि सर भन्नुहुन्छ, ‘मलाई लेखेको बेला बाहिर पर केही रुख, एउटै मात्र भए पनि हुन्छ, अनि भरसक पर पहाड बीचको अलिक फैलिएको भूमि हेर्न मन पर्छ बीचबीचमा। झ्यालबाहिर चराहरु आएर गाए भने म रोमाञ्चित हुन्छु। मलाई सरल ठाउँ मन पर्छ।’
लेखनका लागि सबैसँग आ–आफ्नै किसिमका ‘कम्फर्ट’ हुन्छन् क्यारे। जस्तो कि कुमार नगरकोटीलाई मध्य सहरको व्यस्त कफी शपमा बसेर लेख्न उत्तम लाग्छ। तत्काल मसँग लेख्ने विषय केही थिएन। तर मित्रले नै क्लु दिनुभयो– ताल्चा कसरी लेख्नुभयो? यसैका बारे लेख्नुस न।
हुन त यो ठूलो विषय होइन। जसरी यो ब्रह्माण्डमा पृथ्वीको स्थान एउटा सानो थोप्लो जति मात्रै रहन्छ, नेपाली साहित्यमा ताल्चाको स्थान सायद त्यस्तै हुन आउला। यद्यपि मलाई एक प्रकारको आनन्द यस कारण लागिरहेको छ कि कमसेकम लामो समयसम्म आफ्नै मनभित्र हुँडुलिरहेका अनेक भाव र अवस्थाका कथा र पात्रहरुलाई अब उप्रान्त मुक्त गरिदिएँ। अर्थात् सबैलाई सुनाएँ। सायद आफ्नो कुराहरु अरुलाई सहजै भनिरहन सक्ने भएको भए ती गुम्फनहरु म आफ्ना साथीभाइलाई सुनाएरै शान्त बनाउँथेँ हुँला। तर चाहेर पनि म आफूलाई त्यसरी व्यक्त गर्न नसक्ने मान्छे। सायद त्यस्तै उकुसमुकुसहरुको प्रकट रुप भन्न मिल्ला ‘ताल्चा’।
हामी भन्छौँ नि हाम्रो समाज बहुसांस्कृतिक छ, बहुभाषिक छ, बहुधार्मिक छ। तर मैले स्कुलमा पढ्ने किताबहरुमा पढाइने पाठ र मेरो घरमा गरिने अभ्यासहरु कहिल्यै उस्तै भएनन्। घरमा बोल्ने भाषाका बारे कहिल्यै स्कुलमा कुरा भएन। स्कुलको पढाइ र वास्तविक जीवनका बीच तादाम्यता नमिल्नुको कारण अलि पछिबाट मात्रै बुझ्न थालियो। त्यसका कारणहरु खोजी गर्न थालियो। सायद ती कारणहरु भेटिँदा मस्तिष्क एक प्रकारले खल्बलियो कि? अर्थात् यो देशले भन्ने गरेको राष्ट्रमा मकहाँ छु त भन्ने प्रश्नले लखेट्न थालेकै हो। यिनै सवालहरुले आफू हुनुको बोध गराउन थाले क्यार, र नै आफ्नै सेरोफेरो र वरपरका कुराहरुले आकर्षण गरिरहे।
त्यो समय, जतिखेर घाम उदाउनु र अस्ताउनुले समयको सूचना दिन्थ्यो। चराहरुको आवाज र गतिविधिका आधारमा मौसमको मेसो लगाइन्थ्यो। माछाहरुको बसाइँसराइ हेरेर जाडो गर्मीको पहिचान हुन्थ्यो। आमा, दिदीहरु मध्यरातमै उठेर ढिकी जाँतोको काम सकिसक्थे। भाले बास्नुअघि नै दल्छिन ढुंगा र चकमक ठोसेको झिल्कालाई झुलोमा भेला गरेर आगो बनाउँथे। अगुल्ठो हल्लाउँदै पँधेरामा पुगेर पानी ल्याइपुर्याउँथे। धरतिमा उज्यालो नखस्दै खेत, बारीको मेलापात वा वन जंगलमा घाँस दाउराका लागि पुगिसक्थे।
अब त्यो समय रहेन। आमा दिदी बहिनीहरुका लागि त्यतिखेरका ती निजी कामहरुका थुप्रै सरल विकल्प आए। त्यससँगै हाम्रो दैनिकीका अनेक कामहरु छरितो भए, हामीलाई सहुलियत भयो। तर हामीले ती सहुलियतहरु उपभोग गर्दै गर्दा हाम्रा भाषा, मौलिक संस्कृति, कला, सभ्यता जस्ता महत्वपूर्ण कुराहरु आज आएर गुमाउँदै गइरहेका छौँ। हामी आफ्नै थातथलोबाट बिरानो हुँदै गइरहेका छौँ। हाम्रा पुराना दुःखहरु त सकिए तर ती भन्दा गह्रुँगा नयाँ दुःखहरुसँग संघर्ष गरिरहेका छौँ।
आख्यानले मान्छेलाई कल्पनाशील बनाउँछ कि! यस्तै लाग्यो मलाई। यता आएर मैले पढेको गैरआख्यान असंगति र मांगेना मात्रै हो। त्यसैले कताकता गैरआख्यानप्रतिको रुचि फेरि ब्युँतिएर आख्यानहरुलाई टेबलको एक छेउमा थाक लगाएर प्रश्न पढ्न थालेथेँ।
मान्छेको बुझाइ, दृष्टिकोण वा भनौँ दुनियाँदारीप्रतिको उसको नजर उसले होस सम्हालेदेखि भोगेर ल्याएको, देखेर ल्याएको अनुभूति र अनुभवका आधारमा निर्माण हुन्छ क्यार! विद्धानहरुले भन्ने गरेको बालबालिकाहरुको मस्तिष्क कागजको खाली पन्ना हो भन्ने भनाइलाई सहि मान्ने हो भने त्यो खाली पन्नामा जुन समयदेखि जे कुरा लेखिन थाल्छ त्यही कुराले नै मानिसको अनुभव र अनुभूतिलाई आकार दिन थाल्छ। मान्छे तिनैका भरमा आफूलाई डोर्याइरहेको हुन्छ। अर्थात त्यसैलाई नै चेतना भनिँदो होला कि! यसर्थमा प्रत्येक मानिसको भोगाइ फरक हुन्छ र नै चेतनाको आयाम पनि फरक फरक हुने गर्छ।
हतुवा राज्य गुमेको ठिक ३ सय वर्षपछि हतुवागढी दरबारकै काखमा एउटा स्कुल खुल्यो, सगरमाथा माध्यमिक विद्यालय। खुलेको २५ वर्षपछि सो स्कुलको विद्यार्थी हुन पुगेँ म। हो, त्यही स्कुलको पुस्तकालयले मलाई कक्षाकोठामा पढिने किताब बाहेकका किताबले फरक चेतना दिन्छ भन्ने सिकायो। त्यही पुस्तकालयले मेरो बाँकी रहेको खाली पन्नामा थप अध्यायहरु थपिदियो र कतिपय पूर्वनिर्मित चेतनाहरुलाई परिमार्जन गरिदियो। पुस्तकालयको सानो कोठाले दुनियाँ आखाले देखेको ३६० डिग्रीको परिधिभन्दा पर अझ विशाल छ भन्ने देखायो।
त्यही पुस्तकालयले बढाइदिएको पुस्तकहरुसँगको निकटताले गर्दा नयाँ नयाँ पुस्तकहरुको खोजी गर्ने प्यास बढायो। ती पुस्तकहरुले विचारका नयाँ आयामहरु निर्माण गरिदिन थाले। तिनै आयामहरुले देखाए, ‘म बाँचेको समाज, परिवेश र म जस्ताहरुको कथा त लेखिन बाँकी नै रहेछ त अझ पनि।’ सायद यो म हुनुको बोध थियो अर्थात् आफ्नो परिचयको खोज थियो। त्यही बोधले म जन्मेहुर्केको, देखे–भोगेको समाज र त्यो समाजभित्रका मान्छेहरुको भोगाइलाई मस्तिष्कमा बुन्न थालेँ। शुरुमै भनेँ कि मनभित्र बुनिने यस्ता कुराहरु अरु कोहीसँग भनिहालेको भए त्यो त्यतिबेलै सकिन्थ्यो, मन हलुंगो हुन्थ्यो।
तर मेरो स्थायी स्वाभावले गर्दा त्यस्ता कुराहरु अरुलाई नभनी राख्दा मन एक तमासले पोलिरहँदो रहेछ। एक खालको उकुसमुकुसले गाँजिरहने रहेछ। त्यस्तोमा मैले चाहिँ शब्दमा व्यक्त गरेर मनलाई शान्त बनाउने उपाय खोजी गर्दा केही कथा जस्तै लाग्ने चिजहरु तयार भएका हुन्। यिनलाई म कथा भन्दा पनि मैले देखेको, भोगेको समाजको व्यथा भन्न रुचाउँछु। यसर्थमा सदियौँदेखि राज्य व्यवस्थाले, समाज व्यवस्थाले वा नियन्त्रित चेतनाले ताल्चा लगाइराखेका केही आवाजहरुलाई मुखरित गर्ने कोसिस स्वरुप ताल्चा कथा संग्रहको निर्माण भएको छ।
खासगरी किरात सभ्यताभित्रका केही मूल्य मान्यता, संस्कृति र पूर्वी पहाडको आञ्चलिकताको फेरो समातेर त्यही भूगोलमा बाँचिरहेका अनायक पात्रहरुको भोगाइ सुनाउने प्रयास गरेको छु। नलेखिएका वा लेख्न छुटिरहेका थुप्रै कथाहरु छन् त्यस्ता। लेखिनैपर्ने वा भनिनैपर्ने कैयौँ विषयहरु छन्। राज्य व्यवस्थाको एक पाखे नीतिले ती चिजहरुलाई वर्षौंसम्म दलनमा पारिरह्यो। ती भुइँमान्छेहरु जो धुलो माटोमै बसेर पनि पुस्तौँदेखि यो देशको माटोमै रगत पसिना बगाउँदा पनि राज्यले शंकाको नजरले हेर्दछ, उनीहरुको व्यथाहरु लेखिनुपर्ने जति लेखिएकै छैन। त्यही कोसिस गर्न खोजेको हो।
हामीले आफ्ना थितिहरुको अभ्यास गर्न नपाएपछि त्यसलाई छोडेर लामो समयसम्म अर्कै अभ्यास गरिरह्यौँ। तर हामी यस्तो मोडमा पुगेर झस्कन्छौँ कि हाम्रो आफ्नोपन भुलिसक्छौँ। भलै यतिखेर हामी त्यो बेलाभन्दा उन्मुक्त छौँ। यो पनि राज्यले गरेको एउटा उत्पिडन नै थियो कुनै समय।
समय बित्दै जान्छ। हामी पच्छ्याइरहन्छौँ। तर यस्तो देखिन्छ अहिले, हामीले आफैलाई भुलेर समयको पिछा गरिरहेका छौँ। समयले सफलता नामको नाकेडोरी कसिदिएको छ हाम्रो नाकमा। त्यही डोरीले हामीलाई पछाडि फर्किनै नदिई बुर्कुसी मार्न विवश बनाइरहेको छ। हामीले ती पदचापहरु बिर्संदै गइरहेका छौँ जहाँबाट हाम्रा पुर्खाहरुले हाम्रो सभ्यताको ढोल झिकेका थिए।
हाम्रा रितिस्थितिहरु बिस्तारै संग्रहालयको श्रृंगार मात्रै बन्दै गइरहेका छन्। आफ्नै पहिचान, पौरख र मेहनतले बलिष्ठ पाखुरीहरु विस्तारै विश्वव्यापीकरणको जंक फुडले सुकेनास परेजस्तै भइसकेका छन्। यी सबैलाई छोडेर हामी त्यही नाकेडोरीको नियन्त्रणमा जेलिइसकेका छौँ। यदि यसरी नै छुट्न लागेका हाम्रा सबै मौलिकताहरुलाई छुट्न दिने हो भने एकदिन त्यो नाकेडोरी हाम्रो लागि फाँसीको डोरी बन्नेछ।
मनभरी चलिरहने यस्तै छाल र तरंगहरुको एउटा सानो भंगालो बनाउने प्रयास स्वरुप बनेको हो ‘ताल्चा’। यसले व्यवस्थित र कुशलतापूर्वक भन्न नसके पनि हाम्रो नेपालकै एउटा समाजको व्यथा सुनाएको छ।