पदको मान्छे भन्नेबित्तिकै हाम्रो मनमा एउटा फरक किसिमको भाव पैदा हुन्छ। अलिकति भय, अलिकति आग्रह, अलिकति आशा र अलिकति दुरी कायम गरेर पदको मान्छेसँग सामान्यजनको साक्षात्कार हुन्छ।
तर, सबै पदको मान्छेलाई एउटै र उही नजरले हेर्न मिल्दैन। चार दशक निजामती सेवामा रहेर अवकाश प्राप्त गरेका गोपी मैनाली निबन्धमार्फत पाठकसँग संवाद गर्न आइपुगेका छन्। ३० थान निबन्ध रहेको ‘घाउ आफैँलाई दुख्छ’भित्र घतलाग्दा निबन्धहरू छन्।
मैनालीले यी निबन्धहरू एकै चरणमा लेखेका होइनन्। विगत डेढ दशकयता लेखेका निबन्धहरूलाई सङ्ग्रहित गरेर पुस्तकको रूपमा दिएका हुन्। यसर्थ कुन निबन्ध कुन सन्दर्भमा लेखियो भन्ने आकलन गरेर पढियो भने न्यायसंगत हुन्छ।
संग्रहका केही निबन्ध प्रबन्धनात्मक शैलीका छन्। अर्थात् तथ्य, तथ्यांक र विश्लेषणमा जोड दिएर लेखिएका। केही निबन्ध भने बिल्कुल निजात्मक छन्। ती निबन्ध मनको पोयो फुकाउन दौडेको मसीले छपक्क भिजेका छन्। तिनको गहिराइसम्म पुग्दा पाठकको मनमा गोपी मैनाली छपक्कै बसिसकेका हुन्छन्।
‘विचारा निजामती’, ‘प्रविधि पुस्ता र परिवर्तन’, ‘सामाजिक सञ्जाल र आमसञ्चार’जस्ता निबन्धमा विश्लेषण पक्ष हाबी छ। यसमा निबन्धको रस भरिएको छैन। अखबारी लेखन वा कुनै संस्थाको वार्षिक स्मारिकाका लागि लेखिएका लेखजस्तो लाग्छन्।
यसबाहेक ‘बिचरा निजामती’, ‘घाउ आफैँलाई दुख्छ’, ‘महान् मानिस’ र ‘पदको मान्छे’ भने गहकिला लाग्छन्। तिनमा अनुभूति र स्वच्छन्द भावको प्रधानता बढी छ। यिनै केही थान निबन्धले गर्दा यो निबन्धसंग्रह पठनीय बनेको छ। किनभने अखबारी लेखनमा समेत सक्रिय मैनालीका लेख–रचनासँग पाठक पूर्ण परिचित छन्। यस्ता पूर्वपरिचित पाठकलाई थप विशेष खुराक माथि उल्लेख गरिएका निबन्धहरू नै हुन्। पदको मान्छे !
घाउ आफैँलाई दुख्छ निबन्धसंग्रहभित्र एउटा निबन्ध छ– पदको मान्छे ! जुन मलाई विशेष मन परेको निबन्ध हो। जीवनका चार दशक आफैँ पनि विभिन्न पदमा बसेको मान्छेले खरिदारदेखि हाकिम, सचिव, मुख्यसचिव, मन्त्रीसम्मलाई नजिकबाट देखे–भोगेका छन्। आफैँ पनि सचिव पदसम्म पुगेका छन्।
सामान्य मान्छे पनि पदमा पुगेपछि किन विशेष हुन चाहन्छ, जबकि ऊभित्र त्यस्तो ‘विशेष’ केही हुँदैन। आखिर ऊ केही महिना वा केही वर्षमा फेरि सामान्यजन नै हुन पुग्छ। यो तीतो सत्यलाई निजी अनुभवको आधारमा अत्यन्त सान्दर्भिक विश्लेषण गरिएको छ यो निबन्धमा।
यही निबन्धको एकठाउँमा मैनाली लेख्छन्– अब त पदका मान्छे कवि बन्न थाले, गीत र कविता कोर्न थाले। जीवनी र आत्मकहानी लेख्न थाले। भाव नभएका कविता, मन नपोखिएको गीत अनि भावना नबगेको निबन्ध लेख्ने पदको मानिसलाई के भन्ने ?
यो निबन्धमा अभिव्यक्त कुराहरू लेखिदिऊँ न त भनेर लेखिएका होइनन्। लेखकको अन्तरहृदयमा गहिरोसँग प्रभाव पारेका घटनाहरूको निचोडबाट लेख्नुपर्ने भएपछि लेखिएको हो। प्रत्येक दिन पदको मान्छेसँग ठोक्किइरहने निजामती कर्मचारीको कवि मन यो निबन्धमा पोखिएको छ।
शीर्ष निबन्ध घाउ आफैँलाई दुख्छ पनि पठनीय निबन्ध हो। सबै मान्छे एउटा न एउटा घाउ बोकेर बाँचेको क्रूर सत्यलाई यो निबन्धले सम्बोधन गरेको छ। यस निबन्धमा मैनाली लेख्छन्– महत्त्वाकाङ्क्षीहरू अरूको दुःखको बेवास्ता गर्छन्। उनीहरूका लागि साथ र सहयोग पनि प्रगतिका खुट्किला चढ्ने भर्याङसिबाय अरू हुन्न।
थाहा भएकै कुरालाई सान्दर्भिक ठाउँमा राखेर भन्न सक्ने खुबीले गर्दा गोपी मैनालीका निबन्ध चाखलाग्दा बनेका हुन्। समग्रमा उनका निबन्धले अझै प्राञ्जल र परिष्कृत रूप खोज्छ।
पुस्तक : घाउ आफैँलाई दुख्छ
प्रकाशक : सन्तोषी माता सञ्चार प्रालि
मूल्य : ४ सय रुपैयाँ।