काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ। गत वर्ष माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको थियो।
यो एक वर्षको अवधिमा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप भित्रिसकेको छ। नेपालमा पहिलोपटक माघ ८ गते भारतबाट अनुदानमा कोभिसिल्ड खोप आएको थियो। नेपालमा कोरोना संक्रमण पुष्टि भएको झण्डै एक वर्षपछि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो।
सरकारले पहिलो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहका २ करोड १७ लाख जनसंख्यालाई लगाउने तय गरे पनि पछिल्लो समय बालबालिकालाई पनि लगाउन सुरु गरिसकेको छ। हालसम्म सरकारले ३ करोड ४ लाख ७५ हजार ६४० डोज खोप लगाइसकेको छ। हालसम्म १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।
सुरुमा फ्रन्टलाइनर (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शव वाहन चालक, सरसफाइकर्मी) बाट सुरु गरिएको अभियान हाल १२ वर्षमुनिका बालबालिका बाहेक सबै वर्गका मानिसलाई दिइँदै आएको छ। सुरुमा ६६ जिल्लाका ४२० खोप केन्द्रबाट सुरु गरिएको थियो। यतिबेला सरकारले पहिलो चरणमा खोप लगाएका फ्रन्टलाइनरहरुलाई अतिरिक्त मात्रा खोप लगाउन पनि सुरु गरिसकेको छ। बिहीबारसम्ममा २ लाख ८२ हजार ७२४ जनाले खोपको अतिरिक्त मात्रा लगाइसकेका छन्।
गत वर्ष माघमा खोप अभियान सुरु गर्दा स्वास्थ्यकर्मीहरु नै खोप लगाउन हिचकिचाउने अवस्था थियो। त्यतिबेला सरकारलाई खोपप्रतिको विश्वास जगाउनै समस्या भएको थियो। जसकारण सरकारले लक्ष्यअनुसारको खोप लगाउन सकेन। तर २०७७ चैतदेखि पुनः कोरोना संक्रमण बढ्न थालेपछि भने मानिसहरुले खोपप्रति चासो राख्न थाले। हाल सरकारले दैनिक ५ लाखसम्म खोप लगाउने भनेको छ। मानिसहरु खोप केन्द्रमा पुगेका पनि छन् तर सरकारले त्यो लक्ष्य पूरा गर्न सकेको छैन।
सरकारी तथ्यांक अनुसार नेपालमा १२ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख ४७ हजार ५७२ छ (२०६८ को राष्ट्रिय जनगणनाअनुसार)। जसमध्ये ७०.३ प्रतिशतले एक डोज खोप लगाएका छन् भने ५६.७ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन्। प्रदेश १ मा १२ वर्षमाथिका लक्षित जनसंख्यालाई कुल ४६ लाख २५ हजार ३१९ डोज लगाइएको छ। त्यस्तै मधेश प्रदेशमा कुल ५१ लाख ९० हजार ७७६ डोज, बागमतीमा ७३ लाख ४ हजार ४४७ डोज, गण्डकीमा ३० लाख ४८ हजार ४११ डोज, लुम्बिनीमा ५० लाख, कर्णालीमा १५ लाख १३ हजार ६०७ डोज र सुदूरपश्चिममा २६ लाख ७९ हजार ३६ डोज खोप लगाइएको खोप महाशाखाको तथ्यांक छ।
खरिदभन्दा अनुदानमा बढी
नेपालमा हालसम्म ६ प्रकारका खोप लगाइँदै आएको छ। कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन, मोडर्ना र फाइजर खोप लगाइएको छ। एक वर्षमा ४ करोड भन्दा बढी खोप नेपालमा भित्रिएको छ। त्यसमध्ये धेरै खोप अनुदानमा नै आएको छ। नेपालमा सबैभन्दा धेरै भेरोसेल खोप नेपाल भित्रिएको छ। भेरोसेल खोप ३८ लाख खोप अनुदान आएको छ भने एक करोड डोज खरिद गरिएको छ। त्यस्तै कोभ्याक्सको लागत साझेदारीमा ५९ लाख ३६ हजार ४०० डोज प्राप्त भएको छ।
यसरी नेपालमा कुल १ करोड ९७ लाख ३६ हजार ४०० डोज भित्रिएको छ। त्यस्तै सबैभन्दा पहिला नेपाल ल्याइएको कोभिसिल्ड खोप ९४ लाख ८७ हजार मात्रा डोज नेपाल भित्रिएको छ। जसमध्ये अनुदानमा ११ लाख, कोभ्याक्स सुविधामार्फत ६३ लाख ८७ हजार र खरिद २० लाख गरिएको छ।
सरकारले पहिलो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहका २ करोड १७ लाख जनसंख्यालाई लगाउने तय गरे पनि पछिल्लो समय बालबालिकालाई पनि लगाउन सुरु गरिसकेको छ।
त्यस्तै जोनसन एण्ड जोनसन खोप पनि कुल ३७ लाख ११ हजार ५०० प्राप्त गरिएको छ। जोनसनको सबै खोप कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो। सरकारले हालसम्म जोनसनको खोप खरिद गरेको छैन।
एस्ट्राजेनेका खोप हालसम्म नेपालमा ५ लाख ६२ हजार ७२० डोज विभिन्न देशले अनुदान दिएका छन् भने २४ लाख ७४ हजार ८४० डोज कोभ्याक्स सुविधामार्फत गरी ३० लाख ३७ हजार ५६० डोज प्राप्त भएको छ। त्यस्तै मोर्डना खोप कुल ५३ लाख १२ हजार प्राप्त भएकामध्ये कोभ्याक्स फ्यासीलिटी र अनुदान गरी ३६ लाख ३१ हजार २०० प्राप्त भएको छ भने कोभ्याक्स लागत सहकार्यमा १६ लाख ६० हजार ८०० प्राप्त भएको छ। फाइजर खोप पनि हालसम्म ७ लाख ६५ हजार १८० डोज प्राप्त भएको छ।
भण्डारणका लागि कोल्ड चेनको अवस्था
नेपालमा कोरोना संक्रमण हुनुपूर्व नियमित खोपका लागि कोल्ड चेन केन्द्रको क्षमता जम्मा ४५ हजार लिटर मात्र थियो। त्यतिबेला राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १२ वटा खोप केन्द्र सञ्चालनमा थिए। तर कोभिड खोप अभियान सञ्चालन गर्नका लािग त्यतिले मात्रै पर्याप्त थिएन। त्यसैले सरकारले कोरोना केन्द्र तथा प्रदेशमा कोल्ड चेनको क्षमता विस्तार गरेको छ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखा अन्तर्गत टेकु र पथलैयामा गरी दुई वटा केन्द्रीय कोल्ड चेन छन्। भ्याक्सिनको व्यवस्थापनका लागि दुईवटा केन्द्रीय कोल्ड चेन रहेका छन् भने अन्य शाखाहरु छन्। प्रदेश १ मा विराटनगर, मधेश प्रदेशमा धनुषा, बागमतीमा हेटौंडा र टेकु, गण्डकीमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिममा धनगढीमा कोल्ड चेन रहेका छन्।
हाल नेपालमा कोभिड खोपका लागि २ देखि ८ डिग्री तापक्रमका २ लाख २८ हजार ५०० लिटर क्षमताको कोल्ड चेन छुट्याइएको छ। आपूर्ति व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभागका अनुसार केन्द्रीय खोप भण्डार टेकुमा ४१ हजार २५० लिटर, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २२ हजार २५०, केन्द्रीय मेडिकल स्टोर पथैलयामा २९ हजार ७५०, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरमा ३६ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडामा २० हजार लिटर क्षमता छ।
त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा २२ हजार २५०, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २३ हजार ७५०, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा ३ हजार ७५०, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतमा ७ हजार २५०, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा २२ हजार २५० गरी जम्मा २ लाख २८ हजार ५०० लिटर क्षमता रहेको छ। खोप सुपरभाइजर अधिकृत ओमप्रसाद उपाध्यायका अनुसार खोप अभियानको सुरुवाती समयमा भण्डारणको लागि केही समस्या भए पनि हाल भण्डारणको लागि कुनै समस्या छैन।