आइतबार, जेठ ५, २०८२

सीसीएमसीको निर्णयले खोप केन्द्रमा घुइँचो, खोप कार्ड हराए के गर्ने?

सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने निर्णय गरेको छ। कतिपय मानिसहरु त पहिल्यै खोप लगाएको तर कार्ड हराएपछि पुनः कार्डको लागि खोप लगाउन पुगेका छन्।
 |  बुधबार, पुस २८, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, पुस २८, २०७८

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो तीन दिन यता कोरोनाविरिुद्धको खोप लगाउने मानिसको भिड बढेको छ। सरकारले कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाण (खोप कार्ड) अनिवार्य गरेपछि खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भिड बढ्न थालेको हो।

कोरोनाविरुद्ध खोप नलगाएकालाई माघ ३ गतेदेखि सार्वजनिक सेवाबाट नै वञ्‍चित गर्ने निर्णय गरेपछि खोप केन्द्रहरुमा खोप लगाउने र खोप कार्ड लिनेहरुको भिड बढेको हो। गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

सीसीएमसीको निर्णयपछि उपत्यकाका खोप केन्द्रहरुमा भिड बढ्न थालेको छ। हाल खोपकेन्द्रहरुले कोभिसिल्ड, भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप लगाइरहेका छन्। सरकारले सार्वजनिक स्थान तथा होटल रेष्टुरेन्टमा जादा समेत खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउन पुगेको सर्वसाधरणहरु बताउँछन्। 

सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने  निर्णय गरेको छ।  कतिपय मानिसहरु त पहिल्यै खोप लगाएको तर कार्ड हराएपछि पुनः कार्डको लागि खोप लगाउन पुगेका छन्।  

शुक्रराज अस्पतालमा चार दिन अगाडिसम्म दैनिक ४ सयको हाराहारीमा खोप लगाउन पुग्नेको संख्या हुन्थ्यो तर सरकारको उक्त निर्णयपछि दैनिक खोप लगाउन आउनेको संख्या बढ्दै गएको छ।  हाल दैनिक दुई हजार ५ सयको हाराहारीमा खोप लगाउन पुगेका छन्।

सरकारले आइतबार निर्णय गरेपछि सोमबार एक हजार पाँच सय भन्दा बढी खोप लगाउन पुगेका थिए भने मंगलबार दुई हजार दुई सयभन्दा धेरै थिए। त्यस्तै बुधबार त्यो भन्दा धेरै संख्या रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन्। 

कोरोना संक्रमण बढ्दै जाँदा पनि खोप लगाउनेको संख्या बढेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउनेहरुको भिड।

खोप कार्ड हराए के गर्ने? 

नेपालमा गतवर्ष माघ १४ देखि खोप लगाउन सुरु गरिएको थियो। पहिलो चरणमा खोप लगाएकाहरुले पूर्ण खोप लगाएको पनि नौ महिना भइसकेको छ। यो अवधिमा कतिपयको खोप कार्ड हराएका छन्। खोप कार्ड हराएपछि कतिपयमा मानिसहरु खोप लगाएकै ठाउँमा कार्डको माग गर्दै पुगेका छन्। अहिले खोप केन्द्रमा खोप कार्ड हरायो भन्दै पुग्‍नेहरुको संख्या धेरै भइसकेको छ, यस्तो अवस्थामा खोप कार्ड हराउनेले के गर्ने त?

खोप शाखा प्रमुख सागर दाहाल भन्छन्, ‘खोप कार्ड हराएमा जहाँ खोप लगाएको हो त्यही खोप केन्द्रबाट प्रतिलिपि लिन सकिन्छ। कार्डको लागि फेरि खोप लगाउने काम नगर्नुहोला।’

दाहालका अनुसार  सार्वजनिक सेवा लिनको लागि खोप लगाएको कार्डको फोटो खिचेको भए उक्त फोटो देखाएर पनि सार्वजनिक स्थानमा जान सकिने बताए। 

त्यस्तै स्वास्थ्य कार्यालयले तोकेको खोप केन्द्रबाट नै खोप लगाएको छ भने कार्यालयले नै पुनः खोप कार्ड बनाइदिने व्यवस्था गरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए।

साथै काठमाडौं जिल्लाको हकमा तोकिएकै खोप केन्द्रबाट नै खोप लगाएको भएमा स्वास्थ्य कार्यालयले पनि कार्ड बनाइदिने उनी बताउँछन्। अन्यथा जहाँ खोप लगाएको हो, त्यहीँ सम्पर्क गर्नुपर्ने काफ्लेले बताए। काफ्लेका अनुसार हाल कार्ड हरायो भन्दै पुनः बनाउन आउनेको संख्या बढ्दै गइरहेको छ। 

सरकारले खोप लगाएको प्रमाणका लागि क्यूआर कोड जारी गरिसकेको अवस्था छ। त्यसैले खोप कार्डको झण्झटबाट मुक्त हुनका लागि क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिन स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ। क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई फारम भर्न मन्त्रलायले अनुरोध गरेको छ। 

हाल नेपालमा कूल जनसंख्याको ३७ प्रतिशतले पूर्ण मात्रा, ५० प्रतिशतले एक मात्रा खोप लगाएका छन् । लक्षित जनसंख्यामा भने ५६ प्रतिशतले पूर्ण मात्रा र ७६ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।

प्रकाशित: Jan 12, 2022| 17:10 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्