शुक्रबार, जेठ ३१, २०८२

फस्टाउँदैछन् बन्दाबन्दीमा खुलेका फुड डेलिभरी कम्पनी

'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्‍यो,' पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने, 'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत कार्यालयमा कार्यरत कर्मचारीले दिवाकालीन खाजा खान कठिनाइ भएको देखेँ। त्यसपछि फुड डेलिभरीको व्यापार चल्ने सोच पलायो।'
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

झापा-  कार्य व्यस्तताले चाहेजस्तो खाना खान रेष्टुराँ जान नभ्याउनेका लागि घर र कार्यालयमै  तयारी खानेकुरा पुर्‍याइदिन झापामा खुलेका फुड डेलिभरी कम्पनी लोकप्रिय हुन थालेका छन्।

जनघनत्व भएको सहर विर्तामोड र मेचीनगरमा खुलेका त्यस्ता कम्पनीले मोबाइल एप्स् प्रयोग गरी अर्डर लिएर ग्राहककै रुचिको खानेकुरा घरदैलोमै पुर्‍याउने गर्दै आएका छन्। मेचीनगर–१० का २८ वर्षीय प्रनित पुडासैनी र २४ वर्षीय सरोज खरेलले ड्रिम्स ग्रुप अफ कम्पनी स्थापना गरेर विर्तामोडमा ‘टिफिन बक्स’ सेवा सुरु गरेका हुन्। अनलाइनमार्फत खानेकुराको अर्डर लिने गरेको यस कम्पनीले विर्तामोड र आसपासको १५० वटा संस्थासँग सम्झौता गरी नियमित खाना र खाजा पुर्‍याउने गरेको कम्पनीका निर्देशक पुडासैनीले जानकारी दिए।

'बिर्तामोडको १० किलोमिटरको परिधिभित्र जहाँ पनि खानेकुरा पुर्याउन हाम्रा कर्मचारी तयारी अवस्थामा हुन्छन्,' उनले भने, 'सामाजिक सञ्जाल र मोबाइल एप्सबाट पनि ग्राहकको अर्डर आउँछ।' फुड डेलिभरि कम्पनी सुरु गर्नु अघि उहाँ मिडिया र मोडलिङ क्षेत्रमा काम गर्थे। झापाको सूर्योदय टेलिभिजनमा समाचार बाचक भएर लामो अवधि पत्रकारिता गर्नुभएको निर्देशक पुडासैनीले जिल्लामा दर्जनौँ ‘ट्यालेन्ट शो’ प्रतियोगिताको आयोजनासमेत गरेका थिए। 

'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्‍यो,' पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने, 'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत कार्यालयमा कार्यरत कर्मचारीले दिवाकालीन खाजा खान कठिनाइ भएको देखेँ। त्यसपछि फुड डेलिभरीको व्यापार चल्ने सोच पलायो।' 

आफ्नै भान्सा घरसमेत चलाउँदै आएको ‘टिफिन बक्स’ले रु ६० देखि एक हजारसम्म पर्ने २५० प्रकारका खानेकुराका परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ। दश किलोमिटर वरपर सामान पुर्याउँदा सेवा शुल्क नलाग्ने तर त्यसभन्दा टाढा लैजाँदा प्रतिकिलोमिटर रु १० का दरले सेवा शुल्क लिने गरेको उनले बताए।

मानिस टिफिन बक्समा घरबाट खाजा बोकेर कार्यालय जाने पुरानो चलनलाई पछ्याउँदै कम्पनीको नामाकरण ‘टिफिन बक्स’ राखिएको उनको भनाइ थियो। ‘टिफिन बक्स’ जस्तै ‘यमी’ नामको कम्पनी पनि झापामा फुड डेलिभरी व्यवसायमा लोकप्रिय बनिरहेको छ। भारतको दिल्ली युनिभर्सिटीबाट बिजनेस मेनेजमेन्टमा स्नातक उत्तीर्ण गर्नुभएका २२ वर्षीय अन्सुल वंशलको नविनतम् व्यावसायिक सोचको उपज हो ‘यमी’। मेचीनगर–१० धुलाकारीका वंशलले पनि बन्दाबन्दीको बेलामा सर्वसाधारणले मनलाग्दी खानेकुरा खान रेष्टुराँ जान सकेको देखेको थिए। कोरोनाको डरले मानिस घर बाहिर निस्कन डराउँथे तर मीठो खाजाको सम्झना त आइहाल्थ्यो। विदेशमा घर र कार्यालय बसेरै खानेकुराको अर्डर गर्न सकिने चलन देखेको हुँदा वंशलमा स्वदेशमै त्यस्तै नयाँ काम गर्ने हुटहुटी जाग्यो। जसका कारण ‘यमी’को जन्म भएको उनले सुनाए। 

फुड डेलिभरीको व्यवसाय एक्लै गर्न सम्भव नदेखेर उहाँले साइक्लिस्ट साथी धनराज थापासँग मिलेर ‘यमी फुड्स डेलिभरि सर्भिस्’ नामक कम्पनी सञ्चालन गरे। यसले अहिले विर्तामोडलाई केन्द्र बनाएर झापा जिल्लाभरि आफ्नो व्यापार विस्तार गरिसकेको छ। 'अहिलेसम्म हामी झापामा सीमित छौँ, तर छिट्टै यसलाई विस्तार गरेर प्रदेश नं १ भरि पुर्‍याउने योजना गरिरहेका छौँ', यमीका सञ्चालक वंशलले भने, 'आजका युवा पुस्ताको चाहना र प्रविधिले दिएको सुविधालाई हामीले संयोजन गरेर व्यवसायलाई अघि बढाउन सक्यौँ।' यस्तो व्यवसाय सञ्चालनमा सामाजिक सञ्जाल र मोबाइल एप्सले मद्त गरेको उनले बताए।

यमीले झापामा रहेका प्रसिद्ध रेष्टुराँमा पाकेको खाजा उपभोक्तासमक्ष ताजै पुर्‍याउने गरेको छ। मूल्य पनि रेस्टुरेन्टकै हुने बताइएको छ। दूरीअनुसार रु ३० देखि रु १०० सम्म सेवा शुल्क लिने गरिएको उनले जानकारी दिए। पहिलो डेलिभरिमा जुनसुकै सामान मगाए पनि सेवा शुल्क नलिने र जन्मदिनको केक अर्डर गर्दा सेवा शुल्क नलिने यमीको अफर छ। एप्स डेभलपमेन्ट, डेलिभरी, मार्केटिङ र डिजाइनर गरी २५ युवाको टिमले ‘यमी’मा काम गरिरहेको छ। पिज्जा, बर्गर, जन्म दिनको केक, पाउँभाजी, पान, चिसो पेय पदार्थलगायत शुद्ध भेज आइटमका खानेकुरा ‘यमी’ले ग्राहकलाई पुर्‍याउने गरेको छ।

फेसबुक पेजमा परिकार र अफरका बारेमा विस्तृत जानकारी राखेर सेवा प्रदायक यस्ता कम्पनीले ग्राहकलाई छनोटको अवसर पनि दिने गरेका छन्। सामाजिक सञ्जाल चलाउने पुस्ता फुड डेलिभरी सेवाप्रति आकर्षित रहेको र प्रतिक्रिया सकारात्मक आइरहेको ‘यमी’का सञ्चालक वंशलले बताए।

प्रकाशित: Nov 27, 2021| 23:25 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।