काठमाडौं – एसईईको नतिजा प्रकाशित भएपछि विद्यार्थी अब कहाँ कुन विषय पढ्ने भन्ने अन्योलमा छन्। अभिभावक पनि सन्तानलाई के विषय कहाँ पढाउने भन्ने चिन्तामा छन्। कारण यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को पाठ्यक्रमको ढाँचा परिवर्तन गरेको छ। परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ११ को पठनपाठन एकलपथीय प्रणालीबाट सुरु भएको छ। विगतमा संकायगत शैक्षिक प्रणालीमा पढाइ हुन्थ्यो।
कक्षा ११ मा विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित पढ्नुपर्छ। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय पढ्नुपर्छ। अनिवार्यअन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ।
एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
ऐच्छिकअन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय पढाइ हुन्छ। विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाइन्छ।
यसरी रोज्नुपर्छ पढ्ने विषय
भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, सूचना प्रविधि, जीवविज्ञान, रसायनशास्त्र, वनस्पतिशास्त्रसँगै विज्ञानसँग सम्बन्धित विषयमा उच्च शिक्षा लिन चाहनेले कक्षा एघारमा अनिवार्य नेपाली, अंग्रेजी र गणित लिनुपर्छ भने ऐच्छिकअन्तर्गत पहिलो समूहमा भौतिकशास्त्र, दोस्रो समूहमा जीवविज्ञान वा कम्प्युटर विज्ञान, तेस्रो समूहमा रसायनशास्त्र विषय रोज्न पाउँछन्।
व्यवस्थापन संकायतर्फ भविष्य बनाउन चाहनेले तीनवटा अनिवार्य विषयसहित पहिलो समूहमा लेखा विधि, दोस्रो समूहबाट कम्प्युटर विज्ञान वा व्यवसाय अध्ययन र तेस्रो समूहबाट अर्थशास्त्र लगायतका विषय रोज्न सक्छन्।
विद्यार्थीले दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्य, गृहविज्ञान, समाजशास्त्र, वातावरण, भूगोल, धर्म, संस्कृति, आमसञ्चार तथा पत्रकारिता, विभिन्न भाषागत विषय रोज्न सक्छन्।
शिक्षण पेसामा जान चाहनेले अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययनसँगै मूल्यांकन, शिक्षा र विकास, बाल विकासजस्ता विषय अध्ययन गर्नुपर्ने हुन्छ।
एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर विकल्पका रुपमा ‘ए लेभल’ पनि पढ्न सक्छन्। बेलायतस्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साइन्स र ननसाइन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन्। यसमा पनि विद्यार्थीले चाहेको विषय रोज्न पाउँछन्। विश्वभर एकै किसिमको पढाइ र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा छन्।
कक्षा १० अध्ययनपछि प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले व्यावसायिक र प्राविधिक दुवै विषय अध्यापन गराउँदै आएको छ। एसईई उत्तीर्ण गरेका विद्यार्थीले तीनवर्षे डिप्लोमा तहमा नर्सिङ, एचए, फार्मेसी, ल्याबटेक्निसियन पढ्न सक्छन्।
त्यस्तै इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, आईटी, कम्प्युटर, अटो मेकानिकल, कृषितर्फ प्लान्ट, एनिमल साइन्स र आयुर्वेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन्।
विज्ञको सुझाव - विषय रोज्दा सजग बनाैं
कक्षा ११ मा रोज्ने विषयले विश्वविद्यालय शिक्षाको अधारशिला तय हुने भएकाले भविष्य केन्द्रित भएर विषय र विद्यालय छनोट गर्न विज्ञले सुझाव दिएका छन्।
एसईई परीक्षा सकाएका प्रत्येक विद्यार्थीले विषय र विद्यालय छनोटमा ध्यान दिन सकेमात्र आफ्नो भविष्यको रुपरेखा कोर्न सहज हुने शिक्षाविद् धनञ्जय शर्मा बताउँछन्। उनी भन्छन्, ‘परिवर्तित पाठ्यक्रममा विद्यार्थीले पढ्न मन लागेको विषय रोज्न पाउँछन्। विद्यार्थीले विद्यालय पनि सोहीअनुसार रोज्नुपर्छ।’
‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्न पाउँछन्। विद्यालय परिवर्तन गर्नुपर्छ भन्नेचाहिँ होइन। आफूलाई अध्ययन गर्न मन लागेको विषय भएको विद्यालयमा जानुपर्छ।’
विश्वविद्यालयको पूर्व तयारी कक्षाका रुपमा रहने कक्षा एघार र बाह्रमा राम्रो नतिजा ल्याउन सके विद्यार्थीले विश्वविद्यालयमा आफूले चाहेको विषयमा भर्ना पाउन सहज हुन्छ। कक्षा एघारमा विद्यार्थीले छनोट गरेको विषयले उसको करिअरको रुपरेखा कोर्ने हुँदा यसप्रति विद्यार्थी सजग हुनुपर्छ। त्यसैले विद्यार्थीले आफू अध्ययन गर्ने विद्यालय र विषय छनोट गर्दा निकै ध्यान दिनुपर्ने बझाइ शर्माको छ।
शिक्षा मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख विदुरराज गिरी विगतमा जस्तो संकायगत रुपमा विषय रोज्ने भन्दा पनि समूहगत विषय भएकाले विद्यार्थीलाई विषय रोज्न र आफूले चाहेको विद्यालयमा भर्ना भएर पढ्ने छुट रहेको बताउँछन्। उनी भन्छन्, ‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्न पाउँछन्। विद्यालय परिवर्तन गर्नुपर्छ भन्नेचाहिँ होइन। आफूलाई अध्ययन गर्न मन लागेको विषय भएको विद्यालयमा जानुपर्छ।’
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा पनि विद्यार्थीको रुचि, उक्त विषय पढ्नका लागि लाग्ने खर्च, अभिभावकको आर्थिक हैसियत, शैक्षिक क्षमता बुझेर मात्रै विद्यालय र विषय छनोट गर्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘सबै विद्यार्थीले विज्ञानसँग सम्बन्धित विषय पढ्नुपर्छ भन्ने छैन। जुनसुकै विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ तर त्यसमा दक्षता हासिल गर्न भने जरुरी छ।’
प्याब्सन केन्द्रीय सदस्य एवं एडमार्क एकेडेमी कलंकीका निर्देशक पुरुषोत्तम अधिकारीले विद्यार्थीले आफ्नो आर्थिक हैसियतअनुसार विद्यालय छनोट गर्नुपर्ने बताए। उनले भने, ‘विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरबारे ध्यान दिनुपर्छ।’ यस्तै विद्यालय छनोट गर्दा विद्यालयले प्रदान गर्ने सेवासुविधा, फ्याकल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति आदि कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ।
कस्ता विद्यालय छनोट गर्ने?
कुशल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षक भएको,
अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनीयता हासिल गर्न सकेको,
अध्ययनअध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिविधिबाट मुक्त,
विद्यार्थीले आफू बस्ने घरदेखि विद्यालयसम्मको दूरी कम भएको,
अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको,
कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थी मैत्री र प्रविधिमैत्री भएको,
अध्ययनअध्यापनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिने,
रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिने,
अध्ययन गर्न चाहेको विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीको स्थिति,
विद्यालयको भौतिक पूर्वाधार र संरचना।
यस्तो छ कक्षा ११ र १२ को पाठ्यक्रम