शीर्षक पढ्नेबित्तिकै पाठकलाई लाग्न सक्छ मनुज चौधरी भनेका को हुन्? कतिपयले अनुमान लगाउलान् यी कुनै थारू नेता हुन्। तर मनुज चौधरीको परिचय गर्नुअगाडि एउटा दूरबिन लिएर करिब १६–१८ वर्ष अगाडिको नेपाल नियाल्नुपर्छ।
देशमा अन्योल थियो। राजनीतिक दल प्रतिबन्धित थिए। रेडियो र एफएममा समाचार भन्न प्रतिबन्ध थियो। गाउँमा माओवादी सक्रिय थियो। देश सनकी शासकको नेतृत्वमा थियो जसले बिरासतमा पाएको शक्तिको चरम दुरुपयोग गर्दै जनतालाई दुःख दिइरहेको थियो। प्रजातन्त्र खोसिएको थियो। दलहरुमाथि प्रतिबन्ध थियो। सैनिक बलको आडमा र आसेपासेको सल्लाहमा देशलाई उसले शोषण गरिरहेको थियो।
गाउँ–सहर, मधेस–पहाड, हिमाल–तराई सबैतिरबाट एक हिसाबको आगोको रन्को भित्रभित्र सल्किँदै थियो। त्यो आगोले बिस्तारै दोस्रो जनआन्दोलनको रुप लियो। करिब ५० लाख जनता सक्रिय राजतन्त्रविरुद्ध उभिए। नेपाली जनतालाई शासन र शोषण गरिरहेको सक्रिय राजतन्त्र अन्त्य भयो।
त्यही पेरिफेरीमा वर्षौंदेखि आफूलाई केन्द्रीकृत सत्ताको आडमा गरिएको विभेदविरुद्ध मधेसी समुदाय आन्दोलनमा उत्रियो। पुस्तौंदेखि आफूलाई दोस्रो दर्जाको नेपाली करार गरिएकोमा क्रोधित समुदायले अधिकार खोज्न थाल्यो। मधेस आन्दोलन भयो। जनजाति आन्दोलन भए। मधेसी, पिछडिएको क्षेत्र सबैले आफूलाई आन्दोलनमा सहभागी गराए र आफ्नो अधिकार स्थापित गर्न अग्रपंक्तिमा उभिएर लडाइँ लडे। फलतः देश केन्द्रीकृत शासनबाट संघीय शासनमा जाने भयो। राजतन्त्रबाट गणतन्त्रमा, असमावेशी मुलुकबाट सबै क्षेत्रमा समावेशिता र समानुपातिक अधिकार दिलाउनुपर्ने आवाज बुलन्द भयो। परिणमतः देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भयो। सबै तह, क्षेत्र र वर्गका नागरिकमा एक प्रकारको उर्जा थपियो।
कहिले गणतन्त्रको आवाज बोल्ने नरहरि आचार्य र गगन थापाहरुलाई ललकारेर लेखिएका हुन्थे त कहिले देवेन्द्रराज पाण्डे र नारायण वाग्ले लगायतका नागरिक समाजका अगुवाको विरोध गरिएको हुन्थ्यो।
त्यस बेला दरबार वरपर रहेर हुर्केकामा भने एक प्रकारको उकुसमुकुस देखिन्थ्यो। उनीहरुको वर्चस्व गुमेकोमा ठूलो विचलन थियो। राजामा मात्रै होइन, राजपरिवार वरपर रहेर काम गर्ने, राजपरिवारलाई सल्लाह दिने र राजपरिवारका कारण आफ्नो जीवन उकासेकाहरुमा ठूलो तुष थियो। यद्यपि देशमा मधेसी, जनजाति, दलित, महिला लगायत आन्दोलनका कारण उनीहरु त्यसविरुद्ध खुलेर बोल्न सक्दैनथे। भित्रभित्र दाँत किटेर बस्नुसिवाय उनीहरुसँग विकल्प थिएन।
त्यसै बेला देशका केही खबरपत्रिकामा मनुज चौधरीका नामबाट लेखहरु प्रकाशित हुन्थे। राजाको असक्षम तथा निरंकुश समयमा पनि ती लेख राजतन्त्रको पक्षपोषण गर्दै लेखिएका हुन्थे। कहिले गणतन्त्रको आवाज बोल्ने नरहरि आचार्य र गगन थापाहरुलाई ललकारेर लेखिएका हुन्थे त कहिले देवेन्द्रराज पाण्डे र नारायण वाग्ले लगायतका नागरिक समाजका अगुवाको विरोध गरिएको हुन्थ्यो।
मनुज चौधरीको लेखमा देशबाट सक्रिय राजतन्त्र बिदा भएकोमा असह्य पीडा व्यक्त गरिएको हुन्थ्यो। त्यस्तो पीडा उनी आफ्नो अक्षर खेलाउने कलाबाट बाहिर निकालेर पोखिरहेका हुन्थे। उनका लेख कहिले गणतन्त्रले देश ध्वस्त पार्ने भाष्यमा केन्द्रित हुन्थे त कहिले समावेशिता र समानुपातिक व्यवस्थाले समाज विघटन गर्ने वकालत गरिएका हुन्थे। कहिले सेनाले सक्रिय शासनको नेतृत्व गर्दै लोकतन्त्र र लोकतान्त्रिक दलहरुलाई नजरबन्द गर्नुपर्ने आसयसहितका लेख आउँथे। लेखहरू पढ्दा मनुज चौधरीलाई लोकतन्त्र र नागरिक सत्त्तासँग ठूलो आहारिस रहेको प्रस्ट बुझिन्थ्यो। मनुज चौधरी को हाेलान् भनेर धेरैले अड्कल काट्थे। तर उनको सक्कली पहिचान सार्वजनिक भएन।
अहिले समय बदलिएको छ। यस बीचमा बागमतीमा धेरै पानी बगेको छ। पहिलो र दोस्रो संविधानसभा हुँदै देशमा संविधान निर्माण भएको छ। ७२ सालको संविधानले बिस्तारै बाटो लिँदै छ। केन्द्रीकृत राज्यबाट मुलुक संघीयतामा प्रवेश गरेको छ। प्रदेश आफैंले आफ्ना योजनामा काम गरिरहेका छन्। विभिन्न प्रदेशमा प्रदेशका भाषा र संस्कृति जगेर्ना गर्ने नयाँ खालको चेतना विकास हुँदैछ। केन्द्रीकृत मानसिकताबाट बाहिर निस्कँदै प्रदेशले काम गर्न खोजिरहेका छन्।
ठूलो विभेदको लामो इतिहास रहेको मुलुकमा संरचनात्मक लाभांशबाट वञ्चित जाति, समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन पहल गर्नुपर्छ भन्ने आधुनिक चेतना उम्रिरहेको छ। चल्तीमा रहेका पार्टी, तिनले बोक्ने विचार र संस्कारले नयाँ मुलुकको भविष्य निर्माण जटिल हुन्छ भन्ने चेतनाका साथ नयाँ पुस्ताले नयाँ राजनीति खोजिरहेको छ।
उज्ज्वल थापा र विवेकशील आन्दोलनको नयाँ शताब्दी
उज्ज्वल थापाको अगुवाइमा संविधानसभाको दोस्रो चुनाव वरपरदेखि नयाँ विवेकशील आन्दोलन सुरु भएको थियो। मुलुकमा पछिल्लो पटक सुरु भएको यो कान्छो आन्दोलनको मुख्य लक्ष्य जनताका वास्तविक मुद्दालाई राजनीतिको केन्द्रमा राख्नुपर्छ भन्ने थियो। यही समूहले नेपाल खुला छ, गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार, शिक्षा र सुशासनका मुद्दा मुखरित गर्दै थियो।
बिस्तारै विवेकशील आन्दोलनबाट विवेकशील पार्टीमा रुपान्तरण भयो भने अर्कोतर्फ आफू पुनः मनुज चौधरी नबन्ने र मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनलाई सम्मान गर्दै परिवर्तनलाई मुख्य मुद्दा बनाउने गरी समाजमा केही राम्रा काम गरेका मानिसको नेतृत्व गर्दै रवीन्द्र मिश्रको अगुवाइमा साझा पार्टी गठन भयो।
उस्तै मुद्दा, उस्तै कन्स्युसटेन्सी, उस्तै आचरण भएका यी दल भिन्नभिन्न रहनुभन्दा एक भएर अगाडि बढ्नु उचित हुन्छ भन्ने आमशुभेच्छासहित पार्टी एकता भयो। विवेकशील साझा पार्टीले आफूलाई प्रस्ट रुपमा पोस्ट कन्स्टिट्युसन इराको पार्टीका रुपमा स्थापित गराउँदै देशमा अवस्था परिवर्तन गर्ने आन्दोलनको मुख्य हिस्सेदार दाबीसहित स्थापित हुँदै थियो।
एकपटकको फुटपछि रवीन्द्र मिश्रले पनि धेरै पाठ सिकेको भन्दै आन्दोलनलाई युवामैत्री र पुराना विचार, संगठन, चरित्रभन्दा फरक बनाउने प्रतिबद्धता पटकपटक दोहोर्याइरहेका थिए।
जनमानसमा पनि आममान्छेका दिनदिनका समस्या शिक्षा, स्वास्थ्य, खानेपानी र सुशासनजस्ता विषय राजनीतिको केन्द्रबिन्दुमा पुग्ने रहेछन् भन्ने आत्मविश्वास बढ्दै थियो। अझै युवामा हामीले पनि मूल पार्टीको राजनीति पारदर्शी हिसाबले गर्न सक्ने रहेछौं भन्ने आशा पलाउँदै थियो। यी सबै पहलको संयुक्त अपिलले देशमा वैकल्पिक राजनीतिको धरातल बलियो बनाउँदै थियो। एकपटकको फुटपछि रवीन्द्र मिश्रले पनि धेरै पाठ सिकेको भन्दै आन्दोलनलाई युवामैत्री र पुराना विचार, संगठन, चरित्रभन्दा फरक बनाउने प्रतिबद्धता पटकपटक दोहोर्याइरहेका थिए। यद्यपि एउटा वृत्तमा उनको त्यो पुरानो मनुज चौधरीरुपी तस्बिरले शंका कायमै गरेको थियो।
विचारभन्दा माथि देश नामक भद्दा नाट्यकथाको प्रारम्भ र वैकल्पिक आन्दोलनको विघटन
विवेकशील साझा पार्टी दोस्रो पटक एकता भएर महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्थामा थियो। ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्दै पार्टीलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउँदै स्थानीय निकायको चुनाव र केन्द्रीय चुनावको तयारी गर्नुपर्ने अवस्था थियो। पार्टीभित्र यो आन्दोलनले लिएका मुद्दालाई थप स्पष्ट पार्दै जानुपर्ने आवाज उठिरहेका थिए।
शिक्षा, स्वास्थ्य, आवास, सुरक्षाजस्ता जनताको दिनदिनको आवश्यकतासँग जोडिएका विषयलाई राज्यले लगानी गर्नुपर्ने मोड्युललाई थप स्पस्ट पार्दै जाने, सुशासनको निमित्त शक्तिशाली लोकपाल निर्माण गर्ने विषयलाई प्रधानका साथ् उठाउने, राइट टु रिजेक्ट र राइट टु रिकललाई चुनावी मुद्दा बनाएर लोकतन्त्रलाई थप उन्नत बनाउने पैरवी गर्दै जाने जस्ता विषयमा छलफल हुँदै थियो। यही बीचमा रवीन्द्र मिश्रमा एकाएक उही पुरानो मनुज चौधरीको अवतारले काम गर्न थाल्यो र एकाएक जन्म्यो विचारभन्दा माथि देशको नाट्यकथा।
अहिले भारतमा बीजेपी शक्तिमा छ। उसलाई नेपालमा धर्मनिरपेक्षता मन परेको छैन। सुरुवाती अभ्यास र पुराना दलका पात्रको केन्द्रीकृत मानसिकताले संघीयतालाई बलियो बनाउने गरी काम गर्न दिएको छैन। भर्खरै प्रदेशमा नियमकानुन बन्दैछन्। यसअगाडि कहिल्यै प्राक्टिस नगरेको संरचना भएकाले प्रदेशले सोचेअनुसार गति लिएको छैन। यही मौका छोपेर म्याउँ गरेझैं रवीन्द्र मिश्रजी पुनः मनुज चौधरीको अवतारमा फर्किएका छन्।
२५० वर्ष लामो शाही राजतन्त्रलाई १५/१६ वर्षको किशोर गणतन्त्रसँग तुलना गर्दै गणतन्त्रले काम नगरेको आरोप लगाउँदै छन् भने भर्खरै ३/४ वर्ष पुगेको प्रदेश संरचनाले राष्ट्रिय सुरक्षामा खतरा पारेको कपोलकल्पित व्याख्या गर्दै हिँडेका छन्।
विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश राखिएको उनको दस्तावेजले नागरिक भइसकेका राजालाई पनि अझै शक्तिकेन्द्र देखिरहन्छ र टेलिभिजनमा गएर बोल्छ– निर्मल निवास अझै यो देशको शक्तिकेन्द्र हो।
विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश राखिएको उनको दस्तावेजले नागरिक भइसकेका राजालाई पनि अझै शक्तिकेन्द्र देखिरहन्छ र टेलिभिजनमा गएर बोल्छ– निर्मल निवास अझै यो देशको शक्तिकेन्द्र हो।
जसरी घोडाले आफ्नो स्वतन्त्रता लगाम बिना देख्न सक्दैन उसै गरी पुनः मनुज चौधरीमा फर्किएका रवीन्द्र मिश्रले यो देश राजतन्त्र बिना खतरामा देख्छन्। कर्णालीपारि र मधेसका नागरिक आफैंले आफ्नो शक्ति उपभोग गरिरहेको देखेर असैह्य भएपछि उनलाई लाग्छ रातारात यो देशमा अब देश डुब्ने भो र देश जोगाउने हो भने मधेसको मधेसीको अधिकार घटाउनुपर्छ, दलित? सत्तामा पुगेका छन् उनीहरुको अधिकार कटान गर्नुपर्छ। महिलालाई अधिकार दिएको समावेशिता हटाउनुपर्छ।
जति पनि भुइँमान्छेहरु बलियो बन्दै गएका छन् उनीहरुको आवाज दबाइनुपर्छ भन्ने मनोविज्ञानले काम गरेको छ। विचारभन्दा माथि देश नामको दस्तावेजले उज्ज्वल थापाले देखाएको वैकल्पिक राजनीतिलाई त चीरहरण गर्यो गर्यो त्योभन्दा धेरै ठूलो यो मुलुकमा रहेको धार्मिक सदभावलाई बिथोलेर धार्मिक द्वन्द्वको बीजारोपण गर्छ र देशलाई लामो समयसम्म धार्मिक युद्धको झमेलामा फ़साउनेछ।
संघीयता खारेज गरेर प्रदेश सिध्याउने उनको प्रस्तावले मुलुकमा अखण्डता सिध्याउने बाटोमा पुर्याउँछ भने देशमा राजतन्त्रको पुनर्स्थापना गर्ने कुराले ७० वर्षको लामो लोकतान्त्रिक चेतनाको हत्या गर्ने बाटोमा पुर्याउनेछ। बीबीसीमा आफ्नो पेसागत इमेज बनाएका मिश्रलाई यो देशको लामो लोकतान्त्रिक चेतनाविरुद्ध जाने छुट छैन। उनले बुझ्नुपर्छ, मनुज चौधरी नामको छद्मनाम जसरी असान्दर्भिक भएर हरायो, यो देशबाट उनले मनुज चौधरीको नाममा बोकेको विचारको पनि त्यस्तै असान्दर्भिक भइसक्यो। उनले जतिसक्दो चाँडो यो बुझे भने उनको बाँकी जीवनलाई हित हुनेछ।