मंगलबार, वैशाख १६, २०८२

सजिलो छैन बालबालिकालाई स्कुल पठाउन

नयाँ बालबालिकालाई विद्यालय पठाउन त कठिन छ नै। उति बेला स्कुल भर्ना भएका बालबालिकालाई पनि अब विद्यालयमा नियमित लैजान सहज नभएको मनोविद्हरू बताउँछन्।
 |  सोमबार, कात्तिक १५, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– २० महिनादेखि विद्यालयमा भौतिक कक्षा भएको छैन। महामारीका कारण बालबालिकामा अन्य कुराभन्दा ज्यान ठूलो भन्ने मानसिक अवस्थाको विकास भएको छ। २४ घण्टाजस्तो अभिभावकसँग रहेका बालबालिकालाई अब स्कुल कसरी पठाउने? सिकाइको लयमा कसरी ल्याउने? चाडपर्व सकिनेबित्तिकै अभिभावकलाई टाउको दुखाइको विषय बन्दै छ। 

विद्यालय सञ्चालन नभएपछि विद्यार्थीले पठनपाठन गर्ने बानी बिर्सिएका छन्। भौतिक रूपमा कक्षा नहुँदा दुई शैक्षिक सत्रमा प्राथमिक र पूर्वप्राथमिक तहका नयाँ बालबालिका विद्यालय जान पाएका छैनन्। अनलाइन कक्षा भए पनि पूर्वप्राथमिक र प्राथमिक तहका बालबालिकाको सिकाइ प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएका छन्। 

प्रनव पोखरेल बाफलस्थित कखरा मन्टेसरीमा जान थालेको दुई महिना नहुँदै लकडाउन सुरु भयो। उनले कख, एबीसीडी लेख्न सिकेका थिए। स्कुल बन्द भएपछि  घरमा बसिरहँदा सिसाकलम समाउनसमेत बिर्सिएको आमा आशा शर्मा बताउँछिन्। उनी भन्छिन्, ‘श्रीमान् आफ्नै काममा व्यस्त हुनुहुन्छ। मैले घरको काम गर्दा समय दिन पाएकी छैन। आफूले पढाउन खोज्दा छोराले टेर्दैन। स्कुल पनि बन्द भएपछि सबै बिर्सियो। अब कसरी स्कुल पठाउने भन्ने चिन्ता छ।’

नाइटिंगल स्कुल कुपण्डोलकी अभिभावक शोभा चौधरीले कक्षा ४ मा अध्ययनरत छोरी दुई वर्षदेखि घरमै रहेकाले अनलाइन कक्षामा त्यति चासो नदिएको बताउँछिन्। उनी भन्छिन्, ‘अब बिस्तारै विद्यालय खुल्न थालेको छ। नानीलाई स्कुल पठाउन त्यति सजिलो छैन।’

तल्ला कक्षाका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन नसकिएको दरबार हाइस्कुल भानु माविका प्रधानाध्यापक अखिलेश मिश्रले बताए।

उसो त पूर्वप्राथमिक र प्राथमिक तहका सबै बालबालिका अनलाइन कक्षामा सहभागी भएका छैनन्। तल्ला कक्षाका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन नसकिएको दरबार हाइस्कुल भानु माविका प्रधानाध्यापक अखिलेश मिश्रले बताए।

Metro Mart
worldlink

त्यसैले नयाँ बालबालिकालाई विद्यालय पठाउन त कठिन छ नै। उति बेला स्कुल भर्ना भएका बालबालिकालाई पनि अब विद्यालयमा नियमित लैजान सहज नभएको मनोविद्हरू बताउँछन्।

मनोविद् डा. गोपीलाल न्यौपाने अनलाइन माध्यमबाट पढ्ने विद्यार्थीमा विद्यालय जाने विषयमा रुचि नदेखिएको बताउँछन्। नयाँ भर्ना हुने बालबालिकालाई पनि स्कुल पठाउन सहज नभएको उनको बुझाइ छ। ‘एक त दुई शैक्षिक सत्र बित्दा विद्यालय भर्ना हुने उमेर नै घर्किसकेको छ। अर्को, भर्ना भइसकेका विद्यार्थीलाई निरन्तर सिकाइमा ल्याउन सजिलो छैन।’

यसका लागि अब ‘साइकोलोजिकल मोटिभेसन’ का कार्यक्रममार्फत बालबालिकालाई विद्यालयमा आउने वातावरण बनाउन पहल गर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘विद्यालयले पनि विद्यार्थीलाई कसरी विद्यालय आउन आकर्षित गर्ने भनेर विभिन्न कार्यक्रम गर्नुपर्छ।’ यस्तै अब बालबालिकामा रहेको  ‘नपढेर केही हुँदैन’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको उनी बताउँछन्।

काठमाडौंको एक निजी स्कुलको अनलाइन कक्षामा सहभागी बालिका। फाइल तस्बिर

 न्यून आय भएका र रोजगारी गुमेका अभिभावकका विद्यार्थीले विद्यालय परिवर्तन गर्नेदेखि कक्षा नै छोडेर बसेको अवस्था छ। अभिभावकको मासिक आम्दानीको स्रोत घटेसँगै उनीहरुले पठनपाठनलाई प्राथमिकता दिन सकेनन्। 

ज्यालामजदुरी गरेर विद्यालयमा सन्तान पठाउने अभिभावक पनि अब कसरी विद्यालयमा पठाउने भनेर चिन्तित छन्। त्यसैले विपन्न र आयस्रोत गुमाएका अभिभावकका सन्तानलाई विद्यालयमा जान सरकारले नै कार्यक्रम ल्याउनुपर्ने सुझाव विज्ञको छ।

‘सरकारले अभिभावक शिक्षातर्फ ध्यान दिएको छैन। बालबालिकालाई चेतना दिने दायित्व शिक्षकको हो। शिक्षकले पनि आफ्नो दायित्व पूरा गर्न नसक्दा यस्तो अवस्था उत्पन्न भएको हो।’ 

शिक्षाविद् धनञ्जय शर्मा अभिभावक, विद्यार्थी र शिक्षक नै गैरजिम्मेवार भएका कारण यस्तो अवस्था उत्पन्न भएको दाबी गर्छन्। ‘सरकारले अभिभावक शिक्षातर्फ ध्यान दिएको छैन। बालबालिकालाई चेतना दिने दायित्व शिक्षकको हो। शिक्षकले पनि आफ्नो दायित्व पूरा गर्न नसक्दा यस्तो अवस्था उत्पन्न भएको हो।’ 

इन्टरनेटको पहुँच नभएका र शिशु कक्षाका विद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित छ। यो भनेको शिक्षाको जग बसाल्ने उमेर समूहका विद्यार्थी हुन्।  बालबालिकाका लागि खोपको व्यवस्था गर्न सकिएको छैन। त्यसैले अभिभावक ढुक्क भएर विद्यालय पठाउने अवस्था बन्न नसकेको उनको भनाइ छ। 

शर्माले भने, ‘सरकारले शिक्षकलाई प्रयोग गरेर विद्यार्थीलाई विद्यालयमा ल्याउन सक्ने गरी योजना बनाउनुपर्छ। यस्तै अभिभावकलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।’ 

सरकारले शिक्षकलाई प्रोत्साहन गरेर जनचेतनामूलक कार्य गर्नुपर्नेमा त्यसतर्फ ध्यान नगएको उनी बताउँछन्। उनले भने, ‘लामो समय विद्यालयबाहिर बसेका विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउनुपर्छ। किताब, खानेपानी, झोला, खाजा खाने व्यवस्था गरेर आकर्षण गर्न सकिन्छ।’ विद्यार्थीलाई विद्यालय जाऊँ जाऊँ भन्ने वातावरण बनाउन खेल खेलाउने, शिक्षकले कक्षाकोठामा रमाइलो वातावरण बनाएर कथा सुनाउने, विद्यार्थीसँगै कुरा गर्ने गरेर आकर्षण गर्न सकिने उनको सुझाव छ। 

महामारीका कारण निजी स्कुलमा पनि विद्यार्थीको संख्या घटेको छ। निजी विद्यालयमा विद्यार्थीको संख्या घटेको प्याब्सनका अध्यक्ष टीकाराम पुरी बताउँछन्। विद्यार्थी सहरबाट गाउँमा गएका कारण सहरका निजी विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको उनले बताए। 

विश्वव्यापी रूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्ष प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। 

पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी रूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्ष प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। 

महामारीपछि अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै बालबालिका तथा युवामा डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता देखिएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथामको बन्दाबन्दीले गर्दा ७४ सातासम्म विद्यालय पूर्ण र आंशिक रूपमा बन्द भइसकेको छ। यो विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ।

भानु मावि तिहारपछि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारीमा छ। तर विद्यार्थी आउने वा नआउने अन्योल रहेको प्रधानाध्यापक मिश्र बताउँछन्। 

उनले भने, ‘दसैंबिदामा विद्यार्थी घरतिर भएर भौतिक कक्षा सञ्चालन गर्न सकेका छैनौं। अभिभावकसँग छलफल गरेर तिहारपछि भौतिक रुपमा कक्षा सञ्चालन गर्छौं।’ उनका अनुसार  इन्टरनेटको पहुँचमा भएका उपल्लोे कक्षाका विद्यार्थी अनलाइन कक्षामा सहभागी भए पनि तल्लो कक्षाको विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन नसकिएको उनले बताए। 

भर्ना भएका बालबालिकालाई निजी विद्यालयले फोन गरेर कक्षा बस्न लगाउँछन्। अभिभावकसँग निरन्तर सम्पर्कमा रहन्छन्। तर सरकारी विद्यालयमा त्यस्तो कार्यशैली छैन। यस सम्बन्धमा प्रधानाध्यापक मिश्र भन्छन्, ‘हामी अभिभावकको सम्पर्कमा त छौं। तर सबैसँग प्रविधिको पहुँच नभएकाले चाहेर पनि अलनाइन कक्षामा सहभागी गराउन सकेका छैनौं।’ भानु माविमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून छ। 

अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन भने अर्कातिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन्। यसले उनीहरुमा मनोसामाजिक असरसमेत पर्ने गरेको छ। यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदा डिजिटल जोखिममा बालबालिका रहेको निष्कर्ष निकालिएको थियो।

classroom
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भगवान् अर्यालका अनुसार कोभिड–१९ को अत्याधिक संक्रमण देखिएका राष्ट्रमा समेत विद्यालय यति लामो समयसम्म बन्द भएको छैन। हाम्रो देशमा बालबालिकाको अनलाइन शिक्षामा पहुँच नपुग्ने भएकाले सिकाइमा नकारात्मक प्रभाव पर्नुका साथै सबै विद्यार्थीमा सिकेका कुरा धेरै समय सम्झिन सक्ने क्षमतामा कमी भएको उनले बताए।

महामारीले नेपालका विद्यालय तहका ७४ लाख विद्यार्थीको सिकाइको क्षतिसम्बन्धी तत्कालीन जोखिम सिर्जना गरेको तथ्याङ्क छ।

युनेस्कोले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थीमध्ये ९७.५५ प्रतिशत विद्यार्थी अझै विद्यालयबाहिर रहेको विवरण प्रकाशनमा ल्याएको छ। सो विवरणअनुसार नेपालमा झन्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो। यीमध्ये ११ लाख ५ हजार पूर्वप्राथमिक तह, २८ लाख ५ हजार प्राथमिक तह, ३९ लाख ५ हजार माध्यमिक तह र ५ लाख ५ हजार उच्च तहका विद्यार्थी छन्।

महामारीले नेपालका विद्यालय तहका ७४ लाख विद्यार्थीको सिकाइको क्षतिसम्बन्धी तत्कालीन जोखिम सिर्जना गरेको तथ्याङ्क छ। लामो समयसम्म विद्यालय बन्द रहने, गतिशीलतामा बन्देज लाग्ने र बन्दाबन्दीले घरमै सीमित हुने भएकाले विद्यार्थीको स्वास्थ्यका साथै परिवार तथा समुदायलाई पनि थप तनाव भई नकारात्मक असर सिर्जना गरेको युनाइटेड वल्र्ड स्कुल्सको प्रतिवेदन २०२० ले जनाएको छ। 

निम्नवर्गीय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउन तथा बालबालिका विद्यार्थी कामकाजमा बढी संलग्न हुनुपरेको अध्ययनले देखाएको छ। 

विपन्न र सीमान्तकृत परिवारका बालबालिकालाई दिवाखाजा कार्यक्रमबाट वञ्चित हुनुपर्दा पोषण स्वास्थ्यमै जोखिम उत्पन्न भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले कोभिड १९ का कारण शैक्षिक निरन्तरतामा चुनौती थपिदिएको बताए। उनले सबै बालबालिकालाई निरन्तर सिकाइ क्रियाकलापमा जोड्न समुदाय र अभिभावकको सशक्त भूमिका आवश्यक रहेको बताए।

अनलाइन पठनपाठनमा सहभागी माथिल्लो कक्षाका बालबालिकामा पनि पढाइप्रति उत्साह नभएको पाइएको छ। विद्यार्थी नियमित रुपमा कक्षामा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन। गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ। 

भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाको ध्यान किताबमा केन्द्रित नभई अन्य पक्षमा बढी केन्द्रित भएको पाइएको छ। न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल डासुराम पन्तले अनलाइन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए। 

‘कक्षाकोठामा विद्यार्थी रहे पनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको छ’, उनी भन्छन्, ‘पहिला कक्षामा एकै पटकमा सजिलै गहन कुरा बुझ्ने विद्यार्थी पनि अहिले धेरै पटक बुझाउनुपरेको छ, बेलाबखत हामी के भनिरहेका छौं सो समेत विद्यार्थीले सुनेका हुँदैनन्।’ पाल्पामा भौतिक रुपमा कक्षा सञ्चालन सुरु भइसकेको छ। 

प्रकाशित: Nov 01, 2021| 10:27 सोमबार, कात्तिक १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्