बुधबार, जेठ ८, २०८२

आधा खर्बको इन्धन सकियो तीन महिनामा

साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँभन्दा बढीको इन्धन खपत भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँ बढीको इन्धन खपत भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ मा साउन देखि असोजसम्म ५० अर्ब ७४ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। आयात भएको सबै पेट्रोलियम खपत हुने गरेको नेपाल आयल निगमले जानकारी दिएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आयात भएका सबै इन्धन खपत हुने गरेको छ।

पछिल्लो समय स्थानीय तहहरु सडकको पहुँचमा पुगेसँगै खाना पकाउने ग्यास प्रयोगकर्ता सँगै सवारी साधनको सँख्या पनि बढ्दो रहेको छ। साथै पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि बढी मूल्यको इन्धन भएको निगमका अधिकारीहरुको अनुमान छ।

गत आर्थिक वर्ष २०७७–०७८को सोही अवधिमा सबै किसिमका इन्धन गरेर कुल २१ अर्ब ३२ करोड ६९ लाख ५८ हजार रुपैयाँ बराबरको आयात भएको थियो।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ लाख ७४ हजार ३२ किलोलिटर पेट्रोल आयात भएको भन्सार विभागको तथ्यांक छ। विभागका अनुसार सो परिमाणमा पेट्रोल ल्याउन १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजार रुपैयाँ बाहिरिएको छ। त्यस्तै ३ लाख ३२ हजार ४५७ किलोलिटर डिजेल आयात भएको छ। सो परिमाणमा डिजेल ल्याउन मुलुकको २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँ बाहिरिएको छ।

भन्सार विभागका अनुसार यस वर्षको साउन देखि असोजसम्म खाना पकाउने एलपी ग्यास १२ करोड ३८ लाख ४० हजार ७९८ केजी आयात भएको छ। उक्त परिमाणको ग्यासले १४.२ केजी क्षमताका ८७ लाख २१ हजार १८३ सिलिण्डर भरिन्छन्। साउन देखि असोजसम्म तीन महिनामा मासिक २९ लाख ७ हजार ६० सिलिण्डरका दरले खाना पकाउने ग्यास खपत भइरहेको देखिन्छ। सो परिमाणमा ग्यास आयात गर्नका लागि १२ अर्ब १८ करोड १० लाख ५ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ।

भन्सार विभागका अनुसार साउन देखि असोजसम्म ३१ हजार ११२ किलोलिटर हवाई इन्धन आयात गर्नका लागि २ अर्ब ७ करोड ७५ लाख ६५ हजार रुपैयाँ बाहिरिएको छ। त्यस्तै ३ हजार ८४० किलोलिटर मट्टितेल आयातका लागि २९ करोड ४६ लाख २२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ। 

६५ अर्ब रुपैयाँको निर्यात

तीन महिनामा ५० अर्ब ७४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ मात्रै आयात भइरहँदा मुलुकबाट हुने कुल निर्यात भने ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरको छ। यसरी आयातको तुलनामा निर्यात न्युन हुँदा मुलुकको वैदेशिक व्यापार घाटा पनि बढिरहेको छ। वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा ४ अर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा विभिन्न मुलुकबाट ४ अर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैया बराबरको भएको भन्सार विभागको तथ्यांक छ।

खाना पकाउन, यातायात सञ्चालन गर्न लगायतमा पेट्रोलियम पदार्थको हिस्सा बढ्दो रहेको र मुलुकको वैदेशिक सन्तुलनमा नराम्रो असर पारिरहेकाले यस्ता काममा विद्युतको प्रयोग गर्न विज्ञहरु सुझाउँदै आएका छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विद्युतीय सवारी साधनबाट प्रतिस्थापन गर्न सकिने र खाना पकाउन समेत विद्युतकै प्रयोग गर्न सकिने विज्ञहरु औंल्याउँदै आएका छन्।

प्रकाशित: Oct 28, 2021| 12:05 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्