मंगलबार, असार ३, २०८२

देउवा परिवारको धर्म–भक्ति : स्वान्त सुखाय कि राजनीति?

त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्।  उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
 |  बुधबार, साउन ६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, साउन ६, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले मंगलबार हरिशयनी एकादशीका अवसरमा फेसबुकमा एउटा तस्बिर पोस्ट गरिन्। प्रधानमन्त्री निवास बालुवाटारमा तुलसाको मोठमा तुलसी रोपर पूजा गरेको  तस्बिर पोस्ट गर्दै उनले ‘जय तुलसा’ माता भन्दै हरिशयनी एकादशीको शुभकामना दिइन्।  

असार १९ मा आरजुले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेकी थिइन्। जुन भिडियो २ वर्षअघि बूढानीलकण्ठस्थित घरमा लगाइएको विशेष पूजाको थियो। भिडियोमा पण्डितले मन्त्रोचारण गरेको र पूजापाठ भइरहेको देखिन्छ। फ्रेमभित्र देउवा र आरजु दुवै छन्। भिडियो पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘विश्वमा हामी जहाँ रहे पनि संस्कृतिले हामीलाई परिभाषित गर्छ। दुई वर्षअघिको सम्झना सयर गरेकी छु।’

असार ९ गते उनले फेसबुकमा पारिवारिक तस्बिर पोस्ट गरेकी थिइन्। जहाँ उनी पति देउवा र छोरा जयवीर देउवासँग देखिन्छिन्। तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको जस्तो देखिन्छ। देउवा र उनका छोराले राधेराधे लेखिएको खादा लगाएका छन्। उक्त तस्बिरको क्याप्सनमा आरजुले लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो।’

राणा देउवा पत्नी मात्रै होइनन्, कांग्रेस नेतृसमेत हुन्। नजिकिँदो कांग्रेस महाधिवेशन र देउवाले मुलुकको बागडोर सम्हालिसकेपछि आरजुले निरन्तर सामाजिक सञ्जालमा हिन्दु धर्मसँग सम्बन्धित तस्बिर सेयर गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। देउवा दोस्रो पटक कांग्रेस सभापति हुने दौडमा छन्। र, कांग्रेसभित्र हिन्दु राज्यका पक्षमा रहेको जनमत पनि छ। त्यसलाई ‘क्यास’ गर्ने कोसिस आरजुले गरेको टिप्पणी कतिपयले गरिरहेका छन्। 

तर केहीले भने धार्मिक आस्था राख्नु र सामाजिक सञ्जजालमा तस्बिर राख्नुलाई सामान्य रुपमा लिनुपर्ने बताइरहेका छन्। यसलाई ‘स्वान्त सुखाय’ का रुपमा लिनुपर्ने भनाइ उनीहरुको छ। 

भाग्यमा भरोसा 
त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्। उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्। त्यसबाटै थाहा हुन्छ– भाग्यप्रति देउवाको विश्वास। 

भाग्यप्रतिको विश्वास देउवाले छिपाएका भने छैनन्। सार्वजनिक कार्यक्रममै उनले यसबारे बोलिसकेका छन्। खासगरी २०७४ को चुनावताका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसबाट देउवा नै अन्तिम प्रधानमन्त्री हुने दाबी गरेपछि देउवाले यसबारे बोलेका थिए। चुनावी सभाकै क्रममा कैलालीमा रहेका देउवाले २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारसँग भनेका थिए, ‘ ज्योतिषीले ७ पटक बन्नुहुन्छ भनेका छन्।’ 

गत पुस ५ गते ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएपछि देउवालाई प्रधानमन्त्री बन्न विपक्षी दलहरुले पटक–पटक ‘अफर’ गरे। तर, देउवाले कच्चा खेल नखेल्ने भन्दै ती अफरलाई अस्वीकार गरिरहे। त्यसको कारण पनि ज्योतिषीको सल्लाह नै हो।  

देउवालाई सात पटक प्रधानमन्त्री बन्ने दावी गरेका ज्योतिषी सुरेशचन्द्र रिजालले  फागुन १९ गते देउवालाई भेटेर सल्लाह दिए– ‘अब चार महिना सावधानी अपनाउनुहोस्।’ ज्योतिषीको सल्लाहबमोजिम देउवाले सत्तामा पुग्ने अवसरलाई पर धकेले। पुनः ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरे। असार २८ गते अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो। र, असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भए। 

ज्योतिषीले चार महिना पर्खन भनेको समय असार २६ मा सकिएको थियो। प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारी निवास बालुवाटर प्रवेशका लागि समेत देउवाले ज्योतिषको सल्लाह लिएका थिए। देउवालाई सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका ज्योतिषी रिजालका अनुसार देउवा देवीदेउताप्रति धेरै विश्वास गर्छन् र पूजाआजा गर्दै आएका छन्।

कांग्रेसमा हिन्दु जनमत
कांग्रेसभित्र हिन्दु राष्ट्रका पक्षमा रहेको जनमत छ। महामन्त्री डा. शशांक कोइरालाले बेलाखतमा हिन्दु राष्ट्रका पक्षमा वकालतसमेत गर्ने गरेका छन्। उनले केही वर्षअघि हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। 

प्रारम्भमा तत्कालीन केन्द्रीय सदस्य खुमबहादुर खड्काको समूहले हिन्दु राज्य स्थापनाका लागि अभियान चलाएका थिए। उनको निधनपछि शशांक कोइरालाले हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आएका छन्। कोइरालासँगै नेताहरु शंकर भण्डारी, चन्द्र भण्डारी, एनपी सावद, पुष्पा भुसाल लगायतका नेताहरु पनि हिन्दु राज्यका पक्षमा छन्।

२०७४ सालमा भएको महासमिति बैठकमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर संकलन नै भएको थियो। त्यो बेला शंकर भण्डारी र पुष्पा भुसालसहित सात १५ जना महासमिति सदस्यले हिन्दु राज्यका पक्षमा हस्ताक्षर गरेका थिए। यस्तै ३० जिल्ला सभापति र एक हजार आठ सय समर्थकले हस्ताक्षर गरेका थिए। 

कांग्रेसभित्रको हिन्दु राज्यको पक्षमा भएको जनमत, नजिकिँदो महाधिवेशन र आरजुको हिन्दुधर्मप्रतिको प्रेमको साइनो छ त? हिन्दु धर्मको पक्षमा वकालत गर्दै आएका कांग्रेस नेता लोकेश ढकाल भन्छन्, ‘राजनीतिक प्राणीबाट निरन्तर यस किसिमका पोस्ट आउनुको अर्थ त पक्कै होला, तर त्यसको महत्त्व  छैन।’ 

नेताकार्यकर्ताको सेन्टिमेन्ट ‘क्यास’ गर्नका लागि गरिने यस्ता क्रियाकलापलाई ढकाल ढोगीपन मान्छन्। ‘शान्तिप्रक्रियापछि हिन्दु राज्य मास्नेहरुले पूजाआज गरेर तस्बिर हाल्नु ढोगीपना हो। राजनीतिक फोरममा नबोल्ने, पार्टीमा छलफल नगर्ने अनि पूजाआजा गरेर तस्बिर हाल्ने, त्यसको के महत्त्व र?,’ ढकाल भन्छन्, ‘महामन्त्री बाहिर बोल्नुहुन्छ। पार्टी बैठकमा बोल्नुहुन्न। महासमिति बैठकमा बहुमत सदस्यको हस्ताक्षरसहितको प्रस्ताव टेबुल गर्दा छलफल हुँदैन। त्यसैले तस्बिर राखेर कांग्रेसभित्रका नेता–कार्यकर्ताको सेन्टिमेन्ट क्यास गर्न खोज्नुको अर्थ देख्दिनँ।’ 

कांग्रेसको इतिहासका जानकार पुरुषोत्तम बस्नेत पूजा गर्नु, तस्बिर पोस्ट गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘देउवाजी धार्मिक हुनुहुन्छ। ज्योतिषीमा विश्वास गर्नुहुन्छ भन्ने थाहा भएकै कुरा हो। पूजा गर्नु, तस्बिर पोस्ट गर्नु उहाँहरुको स्वतन्त्रताको कुरा हो,’ बस्नेत भन्छन्, ‘जहाँसम्म कांग्रेसमा हिन्दु राज्यका पक्षमा वकालत गर्ने तप्काको त्यसको ध्यान आकृष्ट गर्न खोज्ने प्रयासको कुरा छ। धर्मनिरपेक्षता र हिन्दु राज्यको कुरा त २०६३ सालमै समाप्त भइसकेको छ। संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनिएकाले यो बहस नै सान्दर्भिक छैन।’

तर, राजनीतिक विश्लेषक डा. विष्णु दाहालका विचारमा यो कांग्रेसले हिन्दु राज्यको एजेन्डा अघि सार्ने पूर्वसंकेत हो। आगामी महाधिवेशनमा हिन्दु राष्ट्रको एजेन्डा आउन सक्ने र त्यसलाई क्यारी गरे निर्वाचनमा लैजाने सम्भावना रहेको उनी बताउँछन्। 

‘कांग्रेसको आगामी निर्वाचनमा हिन्दु राज्यको एजेन्डा लैजान्छ। त्यसकै पूर्वसंकेतका रुपमा यसलाई लिन सकिन्छ,’ दाहाल भन्छन्, ‘जनतामा हिन्दु राज्यका पक्षमा ठूलो सेन्टिमेन्ट छ। कांग्रेसलाई अहिले पनि यथास्थितिवादी दल भनिएकै छ। आगामी महाधिवेशनमा यो एजेन्डा आउन सक्ने र त्यसलाई क्यारी गरेर निर्वाचनमा जाने सम्भावना धेरै देख्छु।’
 

प्रकाशित: Jul 21, 2021| 06:55 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।