प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् सुरु हुनेबित्तिकै भने, ‘आज मेरो मुड अफ छ।’ एउटा न्युज पोर्टलमा प्रकाशित समाचारको यस्तो शीर्षक पढेर मैले सोचें, यो केही दिनमा कोभिडबाट मृत्यु हुने नेपालीको बढ्दो संख्याका कारण प्रधानमन्त्रीको मुड अफ भएको होला। मनमनै बिचरा प्रधानमन्त्री, साँच्चै कति कमलो मनका, हामी यसै कस्तो असंवेदनशील! भनेर भन्ने गरेका रहेछौं भन्दै समाचारको लिंक खोलें।
समाचारकाे सुरुको वाक्य थियो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफ्नो ‘मुड अफ’ भएको बताएका छन्।’ प्रधानमन्त्रीप्रति उब्जेको मेरो सहानुभूति क्षणमै खरानी हुन पुग्यो।
चैतदेखि नेपाल कोरोना महामारीको दोस्रो लहरबाट प्रताडित छ। अहिले त स्थिति सम्हाल्नै नसकिने अवस्थामा पुगेको छ। भारतमा दोस्रो लहर फैलन थालेलगत्तै विज्ञहरुले त्यसको असर नेपालमा पर्न सक्छ भनेर सुझाएकै हुन्। स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको थियो।
सत्य के हो भने अभिभावक अनुशासित भए मात्र परिवारका अन्य सदस्य पनि जिम्मेवार हुन्छन्। घर सुन्दर बन्छ। सरकारले नै स्वास्थ्य सावधानी अपनाउन अपिल गर्यो तर हामी सबैका अभिभावक प्रधानमन्त्री भीडभाड गर्दै उद्घाटन र शिलान्यासमा व्यस्त भए। वैशाख ११ गते तामझामका साथ धरहरा उद्घाटन गरे। त्यसअघि चैत २१ गते भृकुटीमण्डपमा मेलम्ची खानेपानी उत्तिकै भीडभाडका साथ उद्घाटन भयो। सोही बेला अस्पतालमा कोरोना संक्रमित छटपटाउन थालिसकेका थिए।
अघिल्लो वर्ष कोरोना निको पार्न बेसारपानी खानुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले यसपटक भने अम्बाको पात खानुपर्ने सुझाव दिएको विषयले स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई गिज्याइरहेको छ। विज्ञको सुझाव र विज्ञान लत्त्याउँदै ओलीले दिएका यस्ता स्वास्थ्य ‘टिप्स’ हाँसिमजाकका विषय बनेका छन्।
स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था बन्द गर्न गरिएको आग्रहमा शिक्षा कृष्णगोपाल श्रेष्ठ असंवेदनशील भएर प्रस्तुत भए। उनले केसम्म भन्न भ्याए भने, ‘विद्यार्थी घरमा भन्दा विद्यालयमा सुरक्षित हुन्छन्।’
अघिल्लो वर्ष कोरोना निको पार्न बेसारपानी खानुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले यसपटक भने अम्बाको पात खानुपर्ने सुझाव दिएको विषयले स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई गिज्याइरहेको छ। विज्ञको सुझाव र विज्ञान लत्त्याउँदै ओलीले दिएका यस्ता स्वास्थ्य ‘टिप्स’ हाँसिमजाकका विषय बनेका छन्।
वैशाख मध्यमा आइपुग्दा त हाम्रो स्वास्थ्य संरचना फेल भइसकेको अवस्था थियो। प्रधानमन्त्री ओलीले भने विश्वासको मत लिने भन्दै संसद्को विशेष अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे। संसद् बैठक बस्यो। ओलीले संसद्मा आत्मगान गाए।
संक्रमित बेड र अक्सिजन अभावमा ज्यान गुमाइरहेका छन्। अस्पतालमा उपचार पाइरहेका सक्रमितको अवस्था पनि कम छैन। कुन बेला अक्सिजन सकिने हो र अक्सिजन नपाएकै कारण अस्पतालले हात उठाउने हो दैव जानून्। सरकार भने न अक्सिजन अभाव स्वीकार्छ न त बेडको अभाव। ननकोभिड बिरामीको अवस्था झन् कहालीलाग्दो छ। पीसीआर परीक्षण नगरी अरू रोगको परीक्षण र उपचार दुवै हुँदैन। यस्तो अवस्थामा नेपाली कहाँ जाने, कसको शरणमा पर्ने?
कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएका सर्वसाधारण जसमा ज्येष्ठ नागरिकको संख्या बढी छ, उहाँहरूले कोरोनाविरुद्धको दोस्रो खोप कहिले लगाउन पाउने हो निश्चित छैन। प्रधानमन्त्री भाषणैपिच्छे दक्षिण एसियाको भ्याक्सिन रेसमा नेपाल अब्बल रहेको दाबी गर्न छोड्दैनन्। प्रधानमन्त्रीले याद के याद राख्नुपर्छ भने दोस्रो डोज नपाएर कुनै पनि नागरिकको स्वास्थ्य तलमाथि भएमा यसको जिम्मेवारी स्वयम् उनले नै लिनुपर्छ।
तर महामारी नियन्त्रण र संक्रमितकाे उपचारमा प्रधानमन्त्रीकाे चासाे देखिएन। उनको ध्यान त कुर्सी जोगाउने, आफ्नो पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने र राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई जिताउनमा केन्द्रित थियो। सोही बेला थापा उपनिर्वाचनमा पराजित हुन पुगे अनि गैरसांसद रहेका थापाकाे पद सर्वाेच्च अदालतले खारेज गरिदियाे। याे खबरबाट निराश भएका प्रधानमन्त्रीलाई मैले कोरोना भाइरसले निम्त्याएको परिस्थितिले गर्दा मुड अफ भएको होला भन्ठान्नु मूर्खता साबित भयो।
राष्ट्रपति कार्यालयबाट निर्णय दिन समय लाग्नेबित्तिकै प्रधानमन्त्रीको दाबी गलत छ भन्ने धेरैले बुझिसकेका थिए। किनकि यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा एक मिनेट पनि बिलम्ब नगरी सदर गर्दै आएको थियो।
राजनीतिक खिचतानी जारी नै रह्याे। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने आधार नदेखेपछि मार्गप्रशस्त गर्ने भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरे। राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनका निम्ति २१ घण्टाको समय दिई विज्ञप्ति निकालियो। विपक्षीहरु बहुमत जुटाउन लागिरहँदा ओलीचाहिँ ‘मलाई सरकार चलाउन मन भएको भए विश्वासको मत लिन जान्थें, विश्वासको मत लिएर सरकार चलाउँथें तर मलाई सरकार चलाउन मन छैन त्यसैले विश्वासको मतको झमेला गर्नुभन्दा पहिले नै बाटो खोलिदिएको हुँ' भन्दै बालुवाटारमा पत्रकारसँग भन्दै थिए।
विपक्षीको बहुमत पुग्यो भन्ने चाल पाएर शीतल निवास पुगेका ओलीले विपक्षीभन्दा अगाडि आफ्नो दाबी पेस गरे। एकछिन अघिसम्म पत्रकारसँग वैकल्पिक सरकार आए स्वागत गर्छु, सहयोग गर्न तयार छु भनेका ओली आफ्नो पक्षमा बहुमत छ भनेर दाबी पेस गर्न पुग्नु हास्यास्पद र असंवैधानिक थियो।
राष्ट्रपति कार्यालयबाट निर्णय दिन समय लाग्नेबित्तिकै प्रधानमन्त्रीको दाबी गलत छ भन्ने धेरैले बुझिसकेका थिए। किनकि यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा एक मिनेट पनि बिलम्ब नगरी सदर गर्दै आएको थियो। प्रधानमन्त्रीले जस्तोसुकै गम्भीर विषयमा गरेकाे सिफारिसलाई पनि राष्ट्रपति कार्यालय कानुन क्षेत्रका विज्ञसँग परामर्श गर्न आवश्यक ठान्दैनथ्याे। राष्ट्रपतिले यसपटक समय लगाउने बित्तिकै जालझेलको राजनीति सुरु भएको शंका उत्पन्न थालेको थियो। मध्यरातमा कसैको दाबी निपुगेको भनेर विज्ञप्ति जारी गरेपछि त्यो शंका सत्य प्रमाणित हुन पग्यो।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वार्थका निम्ति संविधान मिचेका छन्। संविधान र विधि कुल्चिएर पनि पदमा बसिरहँदा प्रधानमन्त्री ओलीको त ‘मुड अन’ भएको होला, प्रधानमन्त्री ओलीज्यू, तीन करोड नेपालीको 'मुड' भने झन् 'अफ’ भएको छ।
मध्यरातमै बसेको मन्त्रिरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न र मध्यावधि गर्न सिफारिस गर्यो। राष्ट्रपति भण्डारीले तत्काल सिफारिस सदर गरी मध्यावधि निर्वाचन घोषणा गरिन्। यसपछि नेपाली राजनीति थप संकटतर्फ प्रवेश गरेको छ। यसको मूल कारक राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली नै हुन्।
नेपाली जनता रोग र भोकले आक्रान्त छन्। कोरोना संक्रमित हुने र मृत्यु हुनेको रेकर्ड चुलिँदा छ। अर्थतन्त्र डामाडोल छ। विभिन्न अध्ययन प्रतिवेदनअनुसार एक वर्ष अवधिमा २० लाखभन्दा मानिस गरिबीको रेखामुनि पुगेका छन् भने १५ लाखभन्दा बढीको रोजगारी गुमेको छ। यस्तो अवस्थामा मुलुकको एकीकृत ध्यान संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वार्थका निम्ति संविधान मिचेका छन्। संविधान र विधि कुल्चिएर पनि पदमा बसिरहँदा प्रधानमन्त्री ओलीको त ‘मुड अन’ भएको होला, प्रधानमन्त्री ओलीज्यू, मसहित तीन करोड नेपालीको ‘मुड’ भने झन् ‘अफ’ भएको छ।