कुनै पनि रोगको उपचार प्रविधिबिना सम्भव छैन। प्रविधिकै सहयोगमा डाक्टरले रोग पत्ता लगाउँछन् र प्रविधिकै सहयोगमा उपचार गर्छन्। प्रविधिकै कारण थुप्रै रोगको पहिचान र उपचार सम्भव भएको छ।
पछिल्लो पटक देखिएको कोरोना भाइरस महामारीमा पनि प्रविधिकै महत्व देखियो। एक वर्षअघि कोरोना पुष्टि गर्न हामीसँग पीसीआर मेसिनहरू भए पनि नोबल कोरोना भाइरस पत्ता लगाउने पीसीआर रिएजेन्ट्स नहुनाले नै स्वाब संकलन गरेर हङकङ लैजानुपर्ने बाध्यता थियो। एक वर्षको बीचमा उपकरण, जनशक्ति र प्रविधिमा केही प्रगति भएको छ। कोरोना महामारीले के देखायो भने हामीसँग मेडिकल इमर्जेन्सीका लागि कुनै योजना र गाइडलाइन रहेनछ। हामीलाई आफूसँग के छ के छैन भन्ने पनि थाहा रहेनछ। प्रविधि, उपकरण र जनशक्तिको तथ्यांक रहेनछ।
पूर्वयोजना नभएपछि केही आइलाग्यो भने दौडादौड गर्नुपर्छ। कोरोनाको सन्दर्भमा कुरा गर्दा धेरै कुरा अन्तरसम्बन्धित छन्। पहिलो कुरा त सावधानी नै हो। जति धेरै सावधानी त्यति धेरै त्यसपछिको अवस्था सहज हुन्छ। व्यक्तिगत सावधानी नभएर संक्रमण भएमा मानिसलाई क्वारेन्टिनमा राख्नुपर्छ। क्वारेन्टिनमा धेरै मान्छे भए भने अस्पताल पुर्याउनुपर्ने मान्छे धेरै हुन्छन्। अस्पतालमा धेरै बिरामी भए भने आईसीयू, सीसीयू, भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढ्छ। अक्सिजन पनि धेरै चाहियो। त्यसैले सुरूमै, रोकथामको अवस्थामै प्रभावकारी काम भयो भने अन्तिम अवस्था (मृत्यु हुने अवस्था) सम्म पुगिँदैन।
एसएमएस (सोसल डिस्टान्सिङ, मास्क, स्यानिटाइजिङ) मा जोड दिनुको कारण पनि यही हो। धर्म, रितिरिवाज, राजनीति, संस्कारका नाममा हामीले एसएमएस फलो गरेनौं। कुनै पनि देशले लाखौंको संख्यामा एक्कैचोटी विशिष्ट सेवा पुर्याउन सक्दैन। त्यसमाथि हाम्रोजस्तो अत्यन्त न्यून स्रोतसाधन भएको देशले त रोकथाममै शतप्रतिशत ध्यान दिनुपर्नेमा राजनीतिक नेतृत्वको अकर्मण्यताका कारण देश कोरोनाको दोस्रो लहरको भूमरीमा नराम्रोसँग फस्यो।
फर्केर हेर्दा नेपालमा सबैभन्दा राम्रो काम भनेकै स्वास्थ्यकर्मीहरूबाट भएको देखिन्छ। त्यो जनशक्तिले दुई दिन तालिमको भरमा स्वाब संकलन गर्याे, पीसीआर गर्याे। हतारहतारमा अहोरात्र बिरामीको सेवामा खट्न मानसिक रूपमा तयार भयो, अनि कहिले पनि पछाडि फर्केर हेरेन।
आयातमुखी देश भएकाले हामी धेरैजसो कुरा आयात नै गर्छौं। मेडिकल सामग्रीको हकमा पनि त्यही हो। अहिले अति जरुरी भएको अक्सिजन सिलिन्डर पनि हामीकहाँ उत्पादन हुँदैन। हामीले बल्ल सोच्न थालेका छौं, अध्ययन थालेका छौं। निर्यातको आशा त के सपनामा पनि हामी सोचिरहेका छैनौं, जबकी भारतको सानो ठाउँमा खुलेको सानो एउटा कम्पनीले समेत नेपाल, भुटान, बंगलादेशसम्म निर्यात गर्ने सोच राख्छ। अब हाम्रा उद्योगीहरुले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनको सोच बनाएर आफ्ना उद्योगको परिकल्पना गरे हुने थियो। उदारहणको लागि– पहिलेदेखि नै अक्सिजन भरेर सिलिण्डरमा बेच्नेले सिलिण्डर र अक्सिजन प्लान्ट राख्ने सोच्नुपर्याे । बिसौं वर्षदेखि औषधी कम्पनी चलाउनेले भ्याक्सिन बनाउनेतर्फ सोच्नुपर्याे । स्मरण रहोस्, कोभिडको भ्याक्सिनमा इन्टेलेक्चुअल प्रोपर्टी राइट मिनाहा गरिएको छ।
अवश्य पनि मेडिकल इमर्जेन्सीहरू हाम्रो शरीरको कुनै न कुनै प्रणालीलाई दुःख दिने गरी आउँछ। अहिलेको महामारीले त झन् श्वासप्रश्वास प्रणालीमै हमला गरेको छ। भूकम्प, बाढीपहिरो जस्ता विपत्तिमा हाडजोर्नी, ट्रमा, मेरुदण्डको इमर्जेन्सी आउला। रगत व्यवस्थापनको समस्या आउला। बाढीपहिरोमा भोकमरीको पनि समस्या आउँछ। टाइफाइड, पानी, खानेकुरासँग सम्बन्धित स्वास्थ्य समस्या आउला। त्यसको व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ। यही कोरोना महामारीपछि पनि मनोवैज्ञानिक स्वास्थ्यको संकट आइसकेको छ। त्यसकारण हामीले सबै कुराको पूर्वतयारी गर्नुपर्छ। सोचौं त एकपटक– यदि पहाडी भेगमा दूषित पानीको कारणले मानिस मर्न थाले भने स्वस्थ पानीको वितरण, अस्पताल, औषधी, डाक्टर, नर्सको परिचालन कसरी गर्ने होला?
मेडिकल इमर्जेन्सीको पूर्वतयारी भनेको होलिस्टिक अप्रोच (समग्र दृष्टिकोण) हो। म्यानपावर, मेसिन, त्यसको व्यवस्थापन, प्लानिङ, तथ्यांक सबै कुराहरु यसमा आउँछन्। हामीसँग कुन स्तरका कतिवटा अस्पताल छन्, कति स्वास्थ्य संस्था छन्, तिनमा केके सामान, उपकरण र जनशक्ति छन्, तिनले गर्न सक्ने के हो, गर्न नसक्ने के हो? यस्तो तथ्यांक राज्यको निकायले राख्नुपर्छ। तर हामीकहाँ आइपरेपछि मात्रै छलफल सुरू गर्ने र काम नै सुरू गर्दा त अत्यन्तै ढिलो भइसक्ने प्रवृत्ति छ। अहिलेको मुख्य विषय अक्सिजनकै कुरा गरौं न। अक्सिजन प्लान्ट कति छन्, तिनको क्षमता कति हो, सिलिन्डर कति छन्, कहाँ छन्, माग कति हो, आपूर्ति कति भइरहेको छ? त्यति पनि तथ्यांक रहेनछ राज्यसँग जबकी यो संक्रामक महामारीले श्वासप्रश्वासमा समस्या ल्याउँछ र अक्सिजन नै जीवन रक्षाको पहिलो आवश्यकता हो भन्ने एक वर्षपहिले नै विभिन्न मुलुकका दर्दनाक श्रव्यदृष्य छरपष्टै भइसकेका थिए।
हाम्रो कार्यशैलीमा पनि समस्या छ। मेडिकल इमर्जेन्सीमा समेत सरकारी कर्मचारीतन्त्रमा कामचोर प्रवृत्ति देखिन्छ। अगाडि आएको अवसरलाई कसरी व्यक्तिगत लाभमा परिणत गर्ने, बिदाको दिन किन काम गर्ने भन्नेसमेतको मानसिकता छ। देशमा अनेक सार्वजनिक बिदा छन्। हर कोही कर्मचारी राजनीतिक रूपमा आवश्यकताभन्दा बढी क्रियाशील छन्।
देशमा महामारी दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ। तपाईं लडाइँमा हुनुहुन्छ भने शत्रुले शनिबार भन्दैन, सार्वजनिक बिदा भन्दैन र बन्दुक सिरानी हालेर राति आनन्दले सुत्दैन। हामी लडाइँमा छौं। लडाइँमा भएको बेला सम्बन्धित कोही पनि चैनले सुत्नु हुँदैन। शत्रु पराजित गर्ने रणनीति भन्दा बाहेक अन्त सोच्नै हुँदैन। हामी सबैलाई थाहै छ, हाम्रा पछिल्ला ४०० दिनहरू के कुरामा गलफत्ती गर्दै बिते।
कोराना महामारीको सन्दर्भमा खासै प्रगति नदेखिनुमा समग्रमा हेर्दा प्रविधिशून्यता नै हो। विश्व रोबोटिक सर्जरीमा जाँदैछ, हामीसँग हस्पिटलको फोहोर व्यवस्थापन गर्ने समेत उपयुक्त प्रविधि छैन। जिरो वेस्टको अवधारणा कार्यान्वयनमा आएको धेरै भइसक्यो, हामी भने अस्पतालको फोहोर अस्पताल परिसर बाहिर वा नदीमा फालेर ढुक्क छौं। वेस्ट म्यानेजमेन्टको सन्दर्भमा त हामी ढुंगे युगमै छौं। यहाँसम्म कि मानव अंगहरू शरीरबाट निकालिसकेपछि त्यसको उचित व्यवस्थापन गर्ने प्रविधिसम्म पनि हामीसँग छैन। अस्पताल परिसरका मुसाहरू मानव अंगको भोजन गर्दै रमाइरहेका देखिन्छन्।
डिजिटल मेडिकल रेकर्डिङकै कुरा गरौं न। अहिले पनि बिरामीले मेडिकल रिपोर्टको फाइल काखीमा च्यापेर हिँड्नु परिरहेको छ। ठूला भनिएका करोडौं लगानीका अस्पतालमा पनि फाइलको ढड्डा देख्न सकिन्छ। डाक्टरकहाँ फलोअपमा जाँदा औषधिको पोकै लिएर जानुपर्छ। उनीहरुले आफ्नो बिरामीको रेकर्ड राखेर शतप्रतिशत डिजिटल प्रविधिमा जानैपर्ने मापदण्ड जारी गर्न ढिला भइसकेको छ।
तथ्यांक र प्रविधिको प्रयोगमा हामी किन अग्रसरता लिइरहेका छैनौं? छिमेक भारतमै छन् धेरै प्रविधि। तिनलाई अनुशरण गर्न कुनै गाह्रो छैन। योजना बनाउने गुरू हो तथ्यांक तर खै हामीले बुझेको? कहिले बुझ्ने हो हामीले?
कोरोना संक्रमणको सुरुवातमै संक्रमितको ट्रयाकिङ गर्न सकिएको भए अहिलेजस्तो फैलिने थिएन। मोबाइल नम्बर नै आज मानिसको एक पहिचान भइसक्यो। मोबाइललाई नै महाव्याधी रोकथामको बलियो आधार बनाएर उपयोग गर्न सकिन्थ्यो सूचना प्रवाह, ट्रयाक एन्ड ट्रेस र अरु थुप्रै सहजता लिने एपमार्फत।
२०६३ सालको सार्वजनिक खरिद ऐनले पुराना मेडिकल उपकरण खरिदमा रोक लगाएको छ। तर, अहिले पनि सेटिङ मिलाएर पुराना उपकरण खरिद गरिन्छ। कटिङ एज टेक्नोलोजी आउनुपर्नेमा पुरानै प्रविधि भित्रिरहेको छ। किनकी त्यसमै फाइदा छ आयातकर्तालाई, स्वास्थ्यको कर्मचारीलाई, भन्सारको मान्छेलाई। वास्तवमा यो स्मग्लिङ हो। बनेका मापदण्डलाई कार्यान्वयन र अनुगमनको तिक्ततापूर्ण विगतसमेतले आज जटिलता बढाइरहेको छ।
हामीले त्यस्ता उपकरण किन्नुपर्छ, ताकि एक–दुई वर्षमै त्यो उपकरण आउडेटेड नहोस्। राष्ट्रिय स्वास्थ्य योजनामा यस्ता कुराहरूले प्राथमिकता पाउनुपर्छ। उपकरण किन्ने निकायका व्यक्तिले आफूलाई धेरै कमिसन दिनेले कस्तो उपकरणको व्यापार गर्छ। त्यसैलाई नै अत्यन्त राम्रो प्रमाणित गर्दै आएको प्रथा परिवर्तन गरी संसारमा आएका प्रविधिबारे छलफल चलाउनुपर्छ। थाहा पाउन विज्ञको गोलमेच छलफल चलाइनुपर्छ र देशभर उपकरणको एकरूपता हुनुपर्छ।
हेल्थ केयर सिस्टमलाई आइसोलेट गरेर हेर्न मिल्दैन, होलिस्टिक रुपमा हेर्नुपर्छ। हस्पिटल भन्नेबित्तिकै मेडिकल सर्भिससँगै हस्पिटालिटी पनि आउँछ। जसरी होटलमा राम्ररी बोल्ने, सरसफाइमा ध्यान दिने, स्वच्छतामा सचेत हुने, गृह व्यवस्थापन (हाउस किपिङ) मा ध्यान दिने गरिन्छ– त्यसैगरी हस्पिटलमा पनि हस्पिटालिटी हुनुपर्छ।
हस्पिटल भनेको सर्जरी गर्ने मात्र होइन। ओपीडी, इमर्जेन्सी, आईसीयू, सीसीयू, नर्सिङ, एनेस्थेसिया, फार्मेसी अनि सफा निर्मलीकरण गरिएको बस्ने–खाने सुविधा आदि सबै मिलेर हस्पिटल बन्ने हो।हस्पिटलमा जाँदा हाँसेर कोही बोलेन, वास्ता गरेन, सोधेको कुरा राम्रोसँग बताएन, ट्वाइलेट गन्हाएको छ, तिरेको मूल्यबमोजिमको सेवा पाइएन भन्ने गुनासाहरू तोडफोडको घटनासम्म पुगेका उदाहरण हामीसामु नै छन्। हस्पिटल भनेको होटल पनि हो, मेडिकल पनि हो। यो कुरा सरकारीदेखि लिएर ठूला र महँगा भनिएका निजी अस्पताल सबैमा लागू हुन्छ।
स्वास्थ्य गुणस्तरमा सुधार ल्याउन र मापदण्ड बनाउनको लागि हामीले अपरिहार्य रूपमा डी,एम,ए,आइ,सी भन्ने प्रक्रियालाई अक्षरशः पालना गरी आउने नियन्त्रणका उपायलाई यथाशिघ्र कार्यान्वयनमा नल्याए भविष्यमा आउने कुनै पनि साना–ठूला मेडिकल इमर्जेन्सीले हामीलाई यसरी नै हावाकावा खेलाउने छ।
१) डिफाइन (समस्याको पहिचान)
२) मेजर (मापन) समस्या कति गहिरो छ पत्ता लगाउने
३) एनलाइज (विश्लेषण) कारणको जरोसम्म पुग्ने
४ं) इम्प्रुभ (सुधार) व्यवस्थापनका उपाय पत्ता लगाउने
५) कन्ट्रोल (नियन्त्रण) सही कार्यविधि अनुशरण भइराखेको छ कि छैन अनुगमन गर्ने र अनुशरण गर्न बाध्य बनाउने
स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो, जसमा गल्ती गरेर पछि सच्याउन मिल्दैन। बिरामीलाई गलत औषधि दिनुभयो भने कसरी सच्याउने? कुनै पनि स्वास्थ्य इमर्जेन्सी आयो भने के गर्ने भन्ने गाइडलाइन हुनुपर्छ राज्यको। महामारी आए के गर्ने, भूकम्प आए के गर्ने, बाढीपहिरोमा के गर्ने? त्यसको पूर्वतयारी हुनुपर्छ। इमर्जेन्सीमा के गर्ने भनेर रिहर्सल गर्न सकिन्छ।
यस्ता हाँकहरूबाट पार पाउन मुख्य कुरा नीति निर्माता र कार्यपालिका प्रमुखसँग सही काम गर्छु भन्ने साहस र प्रतिबद्धता भने पहिलो शर्त नै हो।
(स्वीस-नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका उपाध्यक्ष थापा ल्याबोरेटोरी प्रविधि र स्वास्थ्य गुणस्तरका अध्येता हुन्)