शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हिमाल पारिको संकट : दुई लाखमा उड्ने हेलिकप्टरले अहिले पाँच लाख माग्छन्

हिमाल पारिको संकट : दुई लाखमा उड्ने हेलिकप्टरले अहिले पाँच लाख माग्छन्

भरपर्दो स्वास्थ्य सुविधा नभएको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका नागरिकले कोरोनाको उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यही मौकाको फाइदा उठाउँदै हेलिकप्टरहरूले चर्को शुल्क असुल्न थालेका छन्।
 |  शनिबार, जेठ १, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, जेठ १, २०७८

भरपर्दो स्वास्थ्य सुविधा नभएको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका नागरिकले कोरोनाको उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यही मौकाको फाइदा उठाउँदै हेलिकप्टरहरूले चर्को शुल्क असुल्न थालेका छन्।

पोखरा - गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्ने हो भने मनाङमा भेटिएका ६३ कोरोना संक्रमितमध्ये ४३ सक्रिय छन्। 

यस्तै मुस्ताङमा भेटिएका ९७ मध्ये ६३ जना सक्रिय संक्रमित छन्। मुस्ताङमा त कोरोनाका कारण एक जनाको मृत्युसमेत भइसकेको छ। 

सक्रिय संक्रमितमध्ये जो सुकैलाई जुनसुकै बेला पनि आईसीयू/भेन्टिलेटर/अक्सिजन आवश्यक पर्न सक्छ। तर, हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ् र मुस्ताङका जनता आफ्नै जिल्लामा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। उनीहरू महँगो हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। 

कोरोना संक्रमण कालीगण्डकी र मर्स्याङ्दीको तीरैतीर उकालो लागेर ढपक्क छोप्न लागेको छ। तर, ती जिल्लामा भरपर्दो अस्पताल छैन। आईसीयू कक्ष छैन। 

प्रदेश सरकारले पठाएको दुईमध्ये एउटा मात्रै भेन्टिलेटर जोडिएको छ। त्यो पनि प्राविधिक नभएकाले त्यसै थन्किएको छ। मनाङकै कुरा गर्ने हो भने यहाँ डाक्टर छैनन्। अरू स्वास्थ्यकर्मी पनि थोरै छन्। 

कोरोना परीक्षण आरडीटी माध्यमबाट भइरहेको छ। पीसीआर गराउन मनाङका मानिसहरूको स्वाब पोखरा ल्याउनुपर्छ भने मुस्ताङकाे बागलुङ झराल्नुपर्छ। 

यी जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन्। कतै कोभिड अस्पताल पनि बनेका छन्। तर, स्वास्थ्यकर्मी छैनन्।

मुस्ताङमा यतिबेला ६३ संक्रमित छन्। चार जनालाई हेलिकप्टरबाट पोखरा ल्याएको सांसद इन्द्रधारा विष्टले जानकारी दिए। ‘पहिलेभन्दा दोब्बर महँगो भाडा छ। स्वास्थ्यकर्मीहरू पनि लगेर बिरामी ल्याउनुपर्छ,’ उनले भने, ‘डेढ दुई लाखमा उड्ने हेलिकोप्टरले यो बेला ५ लाखसम्म माग्छन्। बिरामीको ज्यान बचाउन भन्दा पैसा ठूलो भएन, के गर्नु ?’ 

कोरोना संक्रमणको पहिलो लहरका बेला यी दुई जिल्ला करिब–करिब सुरक्षित थिए। यसपालि केही सीप लागेन। कोरोना झन् माथि–माथि चढ्दै गयो। दैनिक संक्रमित थपिँदै जाँदा मानसिक त्रास उस्तै थपिएको छ। 

जिल्लामा राम्रो उपचार नपाएर सहर झरेका बिरामीलाई यता पनि राम्रो उपचार छैन। सबैजसो अस्पताल भरिएका छन्। पर्याप्त सिलिन्डर नहुँदा अक्सिजन अभाव सुरू भइसकेको छ। 

जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन्। कतै कोभिड अस्पताल पनि बनेका छन्। तर, स्वास्थ्यकर्मी छैनन्।

हिमालपारिका जिल्लासँगै उत्तरी गोरखाको अवस्था पनि जटिल छ। दैनिकजसो बिरामीहरू हेलिकप्टर चार्टर गरेर सहरी क्षेत्रमा झार्नुपर्छ।

मनाङ, मुस्ताङका अधिकांश स्थानीय तहको काम संक्रमणका कारण ठप्प भएको छ भने बाहिरबाट मान्छे छिर्न रोक लगाइएको छ। स्वास्थ्य उपकरणमा सरकारले उतिसारो चासो नदिँदा दुःख भोगिरहेका छन्, विकटका नागरिक। 

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष सबै जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष तयार गर्न १४ करोड रूपैयाँ विनियोजन गरेको थियो। अधिकांश अस्पतालले सामान खरिद गरे पनि प्राविधिक नहुँदा जडान नगरी थन्क्याएर राखेका छन्।

कतिपय ठाउँमा आईसीयू कक्ष बनाउने भवन छैन। भएका भवनमा पनि जोडिएका उपकरण प्रयोग गरिएका छैनन्। 

मनाङ र मुस्ताङमा दुई–दुई बेड तथा अरू जिल्लामा पाँच बेडका दरले आईसीयू कक्ष बनाउन लागिएको थियो। सोही समयमा गाडी किन्न दिइएको पैसा सबै खर्च भइसकेको छ, तर उपकरण खरिद केही अस्पतालले अझै गर्न सकेका छैनन्। 

स्वास्थ्य उपकरण र चिकित्सक नहुँदा हिमालपारिका जिल्लाका कोरोना संक्रमित हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, त्यो पनि महँगो शुल्कमा। 

थोरै जनसंख्या भनिए पनि यी जिल्लामा कोरोना संक्रमणको चेनब्रेक गर्न मुस्किल पर्दै गएको छ। बिरामीहरू चर्को मूल्य तिरेर हेलिकोप्टर चार्टर गरेर पोखरा र काठमाडौंका अस्पतालमा पुगेका छन्।

मनाङ्का प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने भन्छन्, ‘एउटा भेन्टिलेटर छ। प्राविधिक नभएकाले चलाउन सकिएको छैन। ठाउँ नभएर आईसीयू सञ्चालन हुन सकेको छैन।’ उनका अनुसार यहाँका केही स्थानीय तहले कोभिड अस्पताल भनेर बनाएका छन्। तर, डाक्टर छैनन्। सामान्य स्वास्थ्यकर्मीको भरमा चलिरहेको उनको भनाइ छ। 

हालैमात्र मनाङका दुईजना बिरामीमध्ये एकजना पोखरा र एकजना काठमाडौंमा हेलिकोप्टर चार्टर गरेर पुगेका छन्। 

प्रजिअ लामिछानेले कोरोनाबाट पार लगाउने सन्दर्भमा समस्यै समस्या सुनाए। ‘तल झर्ने बाटो राम्रो छैन। भएको दुईवटा एम्बुलेन्सले पनि खासै काम दिँदैनन्। ‘बिरामीको स्वास्थ्य कमजोर हुँदै गए हेलिकप्टरको विकल्प छैन,’ उनले भने, ‘वास्तवमा दुखद समय व्यहोरिरहेका छौं। हाम्रा लागि कोरोना भारी पर्दै छ।’ उनका अनुसार जिल्लामा अक्सिजनको अभावसमेत बढ्दै छ। 

‘कम्तीमा भेन्टिलेटर मात्रै चलाउन सके पनि धेरै आधार हुन्थ्यो। हेलिकप्टरमा जानुपर्ने बाध्यता हुँदैनथ्यो,’ उनले भने, ‘अक्सिजन र स्वास्थ्य उपकरण तयारी अवस्थामा राखौं भनेर जोहो गर्न स्वास्थ्यकर्मीलाई पोखरा पठाएका छौं।’ 

स्वास्थ्य कार्यालयका प्रमुखसहितको टोली अहिले पोखरामा अक्सिजन सिलिन्डर र औषधिको खोजीमा छन्। 

स्वास्थ्य उपकरण र चिकित्सक नहुँदा हिमालपारिका जिल्लाका कोरोना संक्रमित हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, त्यो पनि महँगो शुल्कमा। 

प्रकाशित: May 15, 2021| 06:16 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।