बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • डाक्टरको सिफारिस भए पनि भन्नेबित्तिकै पाइँदैन अक्सिजन

डाक्टरको सिफारिस भए पनि भन्नेबित्तिकै पाइँदैन अक्सिजन

डिपोमा अक्सिजन नपाएपछि बिरामीका आफन्त सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन  र नियमन नहुँदा वितरणमा समस्या देखिएको व्यवसायी बताउँछन्।
 |  आइतबार, वैशाख २६, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

आइतबार, वैशाख २६, २०७८

काठमाडाैं- कोरोना संक्रमणबाट गम्भीर बिरामीको संख्या बढेपछि अक्सिजन उद्योगमा उत्पादनको चाप बढेको छ। डिपोमा अक्सिजन नपाएपछि बिरामीका आफन्त सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन  र नियमन नहुँदा वितरणमा समस्या देखिएको व्यवसायी बताउँछन्।

पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन उद्योगमा आइतबार बिहान अक्सिजन लिन आउनेको बाक्लो भीड थियो।
अस्पतालको माग धान्नै गाह्रो परेकाले व्यक्तिगत रुपमा अक्जिसन लिन आउनेलाई पनि अक्सिजन दिन नसकिएको उद्योगका सञ्चालक दीपक घिमिरेले बताए।

‘अहिले अस्पतालबाट आएका सिलिन्डर भरेर दिनै भ्याइनभ्याइ छ,’ घिमिरेले भने, ‘अहिले हाम्रो गाडीले अक्सिजन लिएर डिपो जाने अवस्था छैन।’ उद्योगका पाँच–सातवटा गाडी थन्किएका छन्।  व्यक्तिगत रूपमा डाक्टरको सिफारिस लिएर आउनेलाई पनि आउनासाथ अक्सिजन दिन सक्ने अवस्था नभएको घिमिरेले बताए। ‘अस्पतालकै लामो क्यु छ। हामी २४ घण्टा काममा खटिएका छौं। मेसिन एक मिनेट पनि बन्द छैन, तैपनि दिन भ्याइरहेका छैनौं।’ उनका अनुसार सामान्य अवस्थामा भन्दा अहिले ६० प्रतिशत बढी उत्पादन भइरहेको छ।

अक्सिजन लिन आउनेको भीड बढेपछि उद्योग प्रहरी तैनाथ गरिएको छ। ‘मान्छेहरु हतारिएर आउँछन्। सबैलाई व्यवस्थापन गर्न भ्याइँदैन अनि हामीलाई पनि काम गर्न असहज हुन थालेपछि प्रशासनले प्रहरी खटाएका हौं,’ उनले भने।

Metro Mart
worldlink

उद्योगमा खटिएका कामदारले पनि दिनरात काम गरिरहेका छन्। मास्कले ढाकिएको उनीहरूको अनुहारमा निद्रा कचमचिएका राता आँखा प्रस्टै देखिन्थे। ‘हामी पालोपालो सुतेर काममा भिडिरहेका छौं,’ एकजना श्रमिकले भने। काठमाडौं उपत्यकाका सबै अक्सिजन उद्योगमा यस्तै अवस्था रहेको नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन्। उनका अनुसार उपत्यकामा आठवटा अक्सिजन उद्योग छन्।

‘अहिले हामीसँग माग र आपूर्तिको अनुमान गर्ने आधार केही छैन,’ शारडाले भने, ‘आएका सिलिन्डरलाई सकेसम्म चाँडो भरेर दिने प्रयासमा छौं।’  अक्सिजनमा कालो बजारी हुन थालेको आशंकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिना सिफारिस अक्सिजन बिक्रीवितरण नगर्न उद्योगहरुलाई परिपत्र गरेको छ।

शारडाले भने, ‘मन्त्रालयले सिफारिसका आधारमा मात्र अक्सिजन दिनु भनेको छ। हामी मन्त्रालयको निर्देशनअनुसार काम गर्न केन्द्रित छौं।’ संघका महासचिव नारायणदत्त तिमिल्सिनाले स्वास्थ्य मन्त्रालयले सिफारिसका आधारमा अक्सिजन वितरण प्रभावकारी हुन नसक्ने बताए।

उद्योगमा विभिन्न संघसंस्था र क्लबका नाममा वडाबाट सिफारिस लिएर अक्सिजन लिन जानेको भीडले गर्दा पनि वितरणमा समस्या आएको उनको भनाइ छ। ‘विभिन्न निकायबाट सिफारिस लिएर आएपछि सिलिन्डर दिने कि नदिने उद्योगलाई धर्मसंकट परेको छ,’ तिमिल्सिनाले भने, ‘एकातिर अस्पताललाई अक्सिजन नपुग भएको अवस्था छ। सिलिन्डर कहाँ गएका छन्, के गरिएको छ केही भन्न सकिने अवस्था छैन।’

विभिन्न स्थानीय निकायले अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउँदा पनि सिलिन्डर वितरणमा समस्या देखिएको व्यवसायीको छ। कुन क्षेत्रमा कति सिलिन्डर छन् र कहाँ कति अक्सिजन आवश्यक पर्न सक्छ भन्ने तथ्यांक पनि छैन। 

‘हामीले उत्पादन गरेर दिने हो। हामी रातरातभर काममा खटिएका छौं,’ तिमिल्सिना भन्छन्, ‘बिरामीको स्वास्थ्य अवस्थासँगै मागका आधारमा सिलिन्डरको चाप मिलाउने कार्यमा सरकारी निकाय सक्रिय हुनुपर्छ।’ देशभर सिलिन्डर अभाव छ। कैयन् अस्पतालमा अक्सिजन नपाएर बिरामीको निधन भइरहेको छ।

‘हामी ठूलो धर्मसंकटको अवस्थामा छौं। सरकार, स्थानीय तह, उद्योगी सबैले मिलेर यो संकट टार्नुको विकल्प छैन,’ तिमिल्सिनाले भने।

प्रकाशित: May 09, 2021| 12:41 आइतबार, वैशाख २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।