मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दोस्रो तहका नेताको सक्रियताले वैशाख २७ अघि नै मिल्ला त एमाले ? 

दोस्रो तहका नेताको सक्रियताले वैशाख २७ अघि नै मिल्ला त एमाले ? 

सत्तारुढ दल नेकपा (एमाले)मा केही महिनादेखि बढेको किचलो मिल्ने संकेत देखिएको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबीच विवाद बढ्दो छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले)मा केही महिनादेखि बढेको किचलो मिल्ने संकेत देखिएको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबीच विवाद बढ्दो छ।

गत फागुन २३ गते सर्वोच्च अदालतले माओवादीसँगको एकता बदर गरी एमालेलाई ब्युँताइदिएपछि पार्टीमा दुई गुट सक्रिय छन्। स्पष्टीकरण, कारबाही, आरोप-प्रत्यारोपमा अल्झिएको एमाले न मिल्ने संकेत देखिएको छ, न फुट्न नै सकेको छ। पार्टी अध्यक्ष ओलीले संसद् विघटनपछि तत्कालीन नेकपा हुँदा निर्माण गरेको पार्टी संरचनालाई अगाडि बढाएपछि माधव–झलनाथ पक्षले पनि असन्तुष्टि जनाउँदै समानान्तर कमिटी निर्माण गरेको छ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि एमाले एक रहन्छ वा विभाजित हुन्छ भन्ने चासो बढेको छ। यसैबीचमा विभाजनको डिलमा पुगेको एमाले जोगाउन अहिले दुवै पक्षका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन्। 

एमालेमा हुँदा उपाध्यक्ष रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एमाले विभाजन रोक्न क्रियाशिलता देखाएकी छन्। शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाल पक्षका नेताहरुबीच सघन रूपमा वार्ता भएको छ।

ठोस निष्कर्ष ननिस्के पनि वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताइएको छ। ‘पार्टी एकता गरौं, मिलाउँ, विभाजनतर्फ नलैजाउँ भन्ने कुरा नै भयो। उहाँहरुले पनि मिलाउने नै कुरा गर्नुभयो,’ वार्तामा सहभागी नेपाल निकट एक नेताले भने, ‘छलफल सकारात्मक नै भएको छ। तर, कुरा मिलिसकेको छैन।’

आज भएको छलफलका बारेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैलाई रिपोर्टिङ गर्ने सहमति भएको ती नेताले जानकारी दिए। भोलि पनि बसेर छलफल गरिने जानकारी उनले दिए। ती नेताका अनुसार वार्ता सकारात्मक भए पनि सहमतिको बिन्दु भने पहिल्याउने तर्फ अघि बढेको छैन। 

‘हामीले २०७५ जेठ २ लाई नै आधार मान्नुपर्छ भनेका छौं। उहाँहरुले त्यसमा अझै मानि सक्नुभएको छैन,’उनले भने, ‘त्यसको बीचमा कार्यदल बनाएर कुनै विकल्प निकाल्न सकिन्छ कि भनेर कुराकानी भएको छ। कार्यदलले के गर्ने भन्ने कार्यादेश टुंगो लागेको छैन।’

ओली निकट नेताले पनि वार्ता सकारात्मक रूपमै अघि बढेको प्रतिक्रिया दिए। ‘हामी सबैको चाहना पार्टीलाई विभाजन हुनबाट जोगाउने नै हो। केही दिनदेखिका घनिभूत छलफल सकारात्मक दिशामा गएका छन्,’ उनले भने, ‘केही निकास निस्कन्छ भन्ने हाम्रो पनि बुझाइ छ।’

वार्तामा ओलीका तर्फबाट संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए। त्यस्तै, नेपाल निकट नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा ओली र नेपालबीच पनि टेलिफोन संवाद भएको थियो। शुक्रबार दिनभर दुवै पक्षका नेताहरूले ओली र नेपालबीच वार्ता गराउने पहल जारी राखेका थिए।

यद्यपि दुई नेताबीच आज भेटवार्ता हुन सकेन। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतिलाल दुगड र एमाले सांसद सोमप्रसाद पाण्डेले दुवै नेताहरुलाई भेटवार्ताका लागि दिनभरजसो प्रयास गरेका थिए। 

बिहीबार भने अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको एमाले नेताहरूले बताएका छन्। समझदारी भएको भन्ने विषय बाहिरिएपछि नेता नेपालले सामाजिक सञ्जालमा धारणा राख्दै कुनै सहमति नभएको प्रष्ट पारेका थिए। 

यसअघि बिहीबार एमालेभित्र देखिएको विवाद समाधानकै लागि राष्ट्रपति र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। उक्त भेटमा नेता नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै अध्यक्षले अदालतको फैसलालाई मानेर अगाडि बढ्नुपर्ने आफ्नो अडान प्रष्ट राखेका थिए।

शुक्रबार बालुवाटारमा छलफल हुनुअघि अर्थमन्त्री एवम् ओली निकट नेता विष्णु पौडेलले बिहीबार मात्रै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए भने नेता भट्टराईसँग ईश्वर पोखरेलले छलफल गरेका थिए। 

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेता गोकर्ण विष्टलाई बालुवाटार बोलाएर छलफल गरेका थिए। वैशाख २७ अगाडि नै निर्णायक वार्ता गरेर एमालेभित्र देखिएको विवाद समाधानमा नेताहरूले सक्रियता देखाइरहेको बेला एमालेको भविष्य के हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन। 

नेपाल पक्षले एकातिर अध्यक्ष ओलीसँगको छलफललाई निरन्तरता दिइरहेको छ भने अर्कोतर्फ विपक्षी दलका नेताहरूसँगको भेटवार्तालाई पनि जारी राखेको छ। यो बीचमा स्वयं नेता नेपालले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरिसकेका छन्। बिहीबार मात्रै देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका नेता नेपालले अविश्वासको प्रस्तावमा ओलीलाई असफल बनाउने विषयमा छलफल गरेका थिए।

शुक्रबार नेपाल निकट नेता भीम रावलले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नेकपा एमालेका पार्टी कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुुर तामाङ पार्टी विभाजन रोक्न हरसम्भव प्रयास जारी रहेको बताउँछन्। वैशाख २७ गते एमालेका निम्ति निर्णायक समय रहेको उनको भनाइ छ।

प्रकाशित: May 07, 2021| 15:46 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।