बुधबार, वैशाख १७, २०८२

आर्यघाटले पनि हात उठाउने खतरा!

कोरोना संक्रमितको मृत्यु बढेसँगै पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा पनि चाप परेको छ। शव जलाउनका लागि आफन्तले पालो कुर्नुपर्ने अवस्था छ। 
 |  आइतबार, वैशाख १९, २०७८

प्रेम चन्द

प्रेम चन्द

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- 
भिडियो कलमा रोइरहेकी थिइन् एक महिला। अलि पर दुई-तीन जनाको समूहले अन्तिम संस्कार स्वरूप गेटबाहिरबाटै पहेँलो रंगको बोरामा रहेको शवमाथि फूल चढाइरहेका थिए। उत्तरपट्टि छेउमै पहेँलो बोरामै अर्को शव पनि थियो। दक्षिण-पूर्वपट्टि करिब ३ मिटर पर नेपाली सेनाको शववाहन। सेतो बोरामा प्याक गरेर ल्याइएको अर्को शव सेनाको शववाहनले झिकेर भुईंमा राख्यो। 

केही छिनपछि पहेँलो रंगको बोराको एउटा शव व्यक्तिगत सुरक्षा कवच (पीपीई)सहितको सेनाको टोलीले शवदाहगृहभित्र पुर्‍याइसकेको थियो। उक्त शव जलिरहेकाले थियो होला सायद। बाहिर तीन शव प्रतीक्षामा थिए।

000 

पशुपति आर्यघाटको विद्युतीय शवदाहगृह प्रांगणमा शुक्रबार बेलुका ५ बजे आसपासका दृश्य हुन् यी।

Metro Mart
worldlink

शवदाहगृहमा शव ल्याएपछि सँगै आएका आफन्त पीडाले भक्कानिएका मात्रै थिएनन्। कोरोना संक्रमित मृतकको अन्तिम पटक अनुहारसमेत हेर्न नपाउँदा उनीहरूलाई थप विह्वल बनाइरहेको थियो। मृतकका आफन्तको छटपटिले देख्दा आकलन गर्न सकिन्थ्यो- छोडेर जानेहरूको अन्तिम पटक एक झल्को अनुहार हेर्न पाए हुन्थ्यो!

तर, कोरोना संक्रमणपछि मृत्यु भएका आफन्तका लागि त्यो सम्भव थिएन। दाह संस्कार गर्दा कोरोना नफैलियोस् भन्ने उद्देश्यले नेपाली सेनाले नै शव व्यवस्थापन गर्दै आएको छ। परिवार र आफन्तले टाढैबाट मृतकको शवमा फूल चढाउन मात्र पाउँछन्। अनुहार हेर्न पाउँदैनन्।

पशुपति आर्यघाटको दृश्य मृतकका आफन्तका लागि मात्र होइन, त्यहाँ पुग्ने जो कोहीका लागि पनि हृदयविदारक थिए। अन्तिम संस्कारका लागि त्यहाँ पुगेका आफन्तहरू कोही आँसु पुछ्दै थिए। सडकसँगै जोडिएको दुबोको चौरमा बसेका प्रायः सबैका आँखा रसाइरहेका थिए।

शव जलाउनै हम्मे
कोरोना संक्रमितको मृत्यु बढेसँगै पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा पनि चाप परेको छ। शव जलाउनका लागि आफन्तले पालो कुर्नुपर्ने अवस्था छ। 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार विद्युतीय शवदाहगृहमा एक पटकमा एउटा मात्रै शव जलाउने क्षमता छ। ‘विद्युतीयमा एकपटकमा एउटा शव मात्रै जलाउने क्षमता छ,’ ढकालले भने। उनका अनुसार विद्युतीय शवदाहगृहमा एउटा शव जलाउन करिब ४५ मिनेट लाग्छ।

एक शव जलाइसकेपछि अर्को शव जलाउनका लागि मेसिन व्यवस्थापन कम्तीमा थप १५ मिनेट लाग्छ। अहिले अपनाइएका सबै प्रक्रिया पूरा गरेर एउटा शवदाह गर्न करिब १ घण्टा लाग्छ।

शनिबार विद्युतीय शवदाहगृहमा २३ शव आएका थिए। कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएसँगै मृत्युदर पनि बढ्दै गएपछि विद्युतीय शवदाहगृहमा चाप पर्दै गएको छ। बिहीबार शवदाह गृहमा १७ वटा शव आइपुगेका  थिए भने मंगलबार १० शव आएका थिए। 

‘जुन हिसाबले कोरोना संक्रमित मृतकको संख्या बढिरहेको छ, यसले शवदाहको व्यवस्थापन गर्न पनि चाप पर्दै आएको छ,’ सदस्य-सचिव ढकालले भने।  यही दरमा बढ्दै जाने हो भने स्वास्थ मन्त्रालयले उपचारका लागि बेड छैन भनेजस्तै शवदाहगृहले पनि शव जलाउने चिता छैन भन्ने अवस्था आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

कोषका सदस्य सचिव ढकालका अनुसार पछिल्लो १० दिनयता आर्यघाट आउने शवको संख्या बढेको हो। ‘औषतमा दैनिक ४० वटा शव जलिरहेका छन्,’ उनले भने, ‘त्योभन्दा पहिले औषतमा दैनिक ३० वटाको हाराहारीमा हुग्थ्यो।’

बिहीबार मात्रै आर्यघाट र विद्युतीय शवदाह गृहमा गरी कुल ४० शव जलाइएका थिए। ‘कोरोना संक्रमित चाहिँ शवदाह गृहमा जलाउने गरिएको छ,’ ढकाल भन्छन्, ‘उता (आर्यघाटमा) नर्मल शव मात्रै जलाउने गरिएको छ।’

प्रकाशित: May 02, 2021| 13:17 आइतबार, वैशाख १९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।