देशमा कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दै छ। सरकार संक्रमण नियन्त्रणमा गम्भीर बनेको पाइएको छैन। सरकार संवेदनशील बनेको नपाएपछि नेपाल चिकित्सक संघले विज्ञसँग परामर्श गर्दै सरकारलाई केही सुझाव दिएको छ। हामीले संक्रामक रोग विशेषज्ञ, जनस्वास्थ्य विज्ञ र विभिन्न क्षेत्रका चिकित्सकको धारणा समेटेर सरकारलाई १८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छौं।
अघिल्लो वर्षजस्तै अहिले पनि चिकित्सक र स्वास्थ्यकर्मी अग्रमोर्चामै रहेर काम गरिरहेका छन्। तर, यसपल्ट महामारी नियन्त्रणका लागि जुन रुपमा तयारी गर्नुपर्ने हो त्यो हुन सकेको छैन। नेपालगन्जमा महामारीले उग्र रूप लिइरहँदा सरकारी उपस्थिति भने नदेखिएझैं भएको छ। संक्रमितको उपचारमा खटिएका चिकित्सक नै सुरक्षित छैनन्।
नेपालगन्जमा मात्रै सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। यस्तो संकटापन्न अवस्थामा स्वास्थ्यकर्मीले मात्रै महामारीलाई कसरी परास्त गर्लान्, हामी अन्योलमा छौं। स्वास्थ्यकर्मीको मनोबल बढाउने कुनै कार्यक्रम छैन। उपचार खटिएका स्वास्थ्यकर्मीको बिमा गर्ने विषयमा सरकारले चासो नै दिएको छैन।
तर पनि स्वास्थ्यकर्मी आफ्नो कर्ममा कटिबद्ध छन्। कोरोना संक्रमित भएर पनि सेवामा खटिरहेका छन्। चिकित्सक संघले अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीलाई महामारीको दोस्रो लहरमा सक्रिय भएर खटिन आग्रह गरेको छ। जनतालाई बचाउनु नै स्वास्थ्यकर्मीको धर्म हो। हामी त्यो धर्मबाट हिजो पनि विमुख भएनौं र आज पनि विमुख हुँदैनौं।
काठमाडौं उपत्यकामै कोरोना डेडिकेटेड अस्पतालमा बेड नपाएर बिरामी भांैतारिरहेका छन्। त्यसैले सरकारलाई देशभर कोरोना डेटिकेटेड अस्पताल थप्न आग्रह गरिरहेका छौं। मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरेर अक्सिजनसहितको बेड तत्काल थप्नुपर्छ। त्यस्ता ठाउँमा तत्काल भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ।
अर्को कुरा पीसीआर परीक्षणको दायर बढाउनुपर्छ। हटस्पटमा परीक्षणको दायरा बढाएर पोजेटिभ देखिएकालाई आइसोलेसनमा राखिहाल्नुपर्छ। उनीहरूको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राखेर समुदायमा संक्रमण भयावह हुने अवस्था रोक्नुपर्छ।
सीमा क्षेत्रमा लकडाउन गर्ने, आइसोलेसन निर्माण गर्ने, क्वारेन्टिनको व्यवस्थापन गर्नेलगायतका काम गरिहाल्नुपर्छ। अस्पताललाई चाहिने उपकरण उपलब्ध गराउन पनि ढिला गर्नु हुँदैन।
अक्सिजन भएर मात्र हुँदैन। सिलिन्डरको पनि व्यवस्थापन हुनुपर्छ। भारतमा अक्सिजनको कालोबजारी भइरहेको हल्ला छ। यसमा कडाइ गर्नुपर्छ। सरकारले यी सुझाव कार्यान्वयन गरेमा स्वास्थ्यकर्मीलाई पनि महामारीसँग लड्न सहज हुनेछ।
महामारीको उपचारमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भइसकेपछि उनीहरूको ठाउँमा काम गर्ने अन्य दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्छ। त्यसका लागि दरबन्दी थप्नुपर्ने देखिन्छ। चिकित्सक र स्वास्थ्यकर्मीलाई दिने भनिएका स्वास्थ्य सेवा अहिलेसम्म दिइएको छैन। त्यसले गर्दा स्वास्थ्यकर्मीको मनोबल खस्किँदो छ।
केही दिनअघि अजित मल्लिकले कोरोना महामारीमा खटिएबापतको सेवा नपाएको भन्दै लामै समयसम्म माइतीघर मण्डलामा धर्ना दिनुपरेको थियो। काठमाडौंबाहिरका धेरै ठाउँबाट कोरोना संक्रमितको उपचारमा खटिँदा सुविधा नपाएको गुनासो छ। हामीले स्वास्थ्यकर्मीका यस्ता गुनासा लिएर एक वर्ष अवधिमा स्वास्थ्य मन्त्रालयमा सयवटा भन्दा बढी निवेदन दिइसकेका छौं। तर सरकार हाम्रा कुरा सुन्दै सुन्दैन।
बालकदेखि वृद्धसम्म संक्रमित भइसकेका छन्। नेपालमा अहिलेकै गतिमा संक्रमण फैलिए दुई–तीन दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ नै हुँदैन। त्यसका लागि तयारी गर्नुपर्यो।
चिकित्सक संघले स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वास्थ्य सामग्रीको पर्याप्तताको कुरा गरिरहेको छ। कोरोना कालमा स्वास्थ्यकर्मीमाथि हातपातका घटना पनि भएका छन्। यस्तो अवस्थामा शारीरिक र मानसिक रुपमा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ। चिकित्सक संक्रमित हुँदा उपचार गर्नेदेखि सेवासुविधाको ग्यारेन्टी गर्नुपर्छ। संक्रमितको उपचारमा संलग्न हुँदा केही गरी ज्यान गए चिकित्सक वा स्वास्थ्यकर्मीका परिवारलाई राहत होस् भन्ने हिसाबले एक करोडसम्मको बिमाको कुरा गरेका छौं। सरकारले यस्ता माग पूरा गरे मात्र स्वास्थ्यकर्मीको मनोबल उच्च रहन सक्छ।
(नेपाल चिकित्सक संघका महासचिव डा. रिजालसँग यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)