बुधबार, वैशाख १७, २०८२

जनशक्ति अभावमा प्रयोगविहीन बन्दै भेन्टिलेटर

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्। 
 |  सोमबार, वैशाख १३, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, वैशाख १३, २०७८

जनकपुरधाम– प्रदेश २ यति बेला हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्। कतिपय बिरामी आईसीयूमा राख्नुपर्ने अवस्थाका छन् त कतिपयलाई भेन्टिलेटर। तर अस्पतालहरूमा रहेका भेन्टिलेटर चलाउने दक्ष जनशक्तिको अभाव हुँदा बिरामीले समयमै उपचार सेवा पाउन सकेका छैनन्। चलाउने दक्ष जनशक्ति नहुँदा अस्पतालहरुका भेन्टिलेटर प्रयोगविहीन बन्ने अवस्थामा पुगेका छन्। 

प्रदेशका आठै जिल्ला भारतीय सीमासँग जोडिएको र वैदेशिक रोजगारीमा जानेको संख्यासमेत सबैभन्दा बढी रहेकाले प्रदेश २ मा कोरोना संक्रमणको उच्च जोखिम छ। प्रदेश सरकारले रोकथाम गर्न पूर्ण रुपले तयार रहेको दाबी गरे पनि चिकित्सक भने अझै प्राविधिक रुपले तयार हुन नसकेको बताउँछन्। 

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार प्रदेश २ मा ४५ वटा भेन्टिलेटर उपलब्ध छन्। तर चलाउने जनशक्ति अभाव रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। उनले भने, ‘वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजमा मात्रै दक्ष जनशक्ति छन्।’ 

जनकपुरधामको प्रादेशिक अस्पतालमा पनि जसोतसो भेन्टिलेटर चलिरहेको छ। झाले भने, ‘अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त छैनन्।’ यस्तै कतिपय अस्पतालमा आईसीयू तथा एचडीयूको व्यवस्था रहे पनि जनशिक्त अभावमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। उनले भने, ‘चलाउने जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहीन बनेका छन्।’

झाका अनुसार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्। 

Metro Mart
worldlink

महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर छन्। सर्लाहीमा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नरहेको स्वास्थ्य महाशाखाले जनाएको छ।

प्रदेश २ मा ७१ बेडको आईसीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए। उनका अनुसार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगन्जकै नेसनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा आईसीयू बेडको व्यवस्था गरिएको छ। जलेश्वरमा ५ र सिरहामा ५ बेडको आईसीयूको व्यवस्था छ।

प्रदेश २ मा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) को व्यवस्थासमेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। उनका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयू छ। त्यस्तै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेडको एचडीयूको व्यवस्था छ। बाँकी जिल्लामा १५–१५ बेडको एचडीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए।

प्रदेश २ मा अहिले कुल १ हजार १ सय ४२ जना कोरोना संक्रमित छन्। तीमध्ये पर्सामा मात्रै ७ सय १९ जना कोरोना संक्रमित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ।  निर्देशनालयका अनुसार आइतबारसम्म बारामा १ सय ४९, धनुषामा १ सय १८, रौतहटमा ७६, महोत्तरीमा ४२, सिरहामा १५, सप्तरीमा १२ र सर्लाहीमा ११ जना कोरोना संक्रमित छन्।

सामाजिक विकास मन्त्रालय सचिवविहीन  

सामाजिक विकास मन्त्रालय सचिवविहीन छ। मन्त्रालयका सचिव रहेका कृष्ण कापरीको सरुवा भएको तीन साता बित्दासमेत नयाँ सचिव आउन नसकेको उपसचिव दिलीप ठाकुरले जानकारी दिए।

उनले सचिव नभएकै कारण मन्त्रालयको कयौँ काम प्रभावित भइरहेको बताए। उनले भने, ‘मन्त्रालयमा सचिव नहुँदा विभिन्न काम व्यवस्थित रुपमा अगाडि बढाउन कठिन भइरहेको छ।’ कोरोनाको दोस्रो लहर सुरु भएपछि सचिव सरुवा भएर नयाँ सचिव नआउँदा झनै समस्या भइरहेको उनको भनाइ छ।
 

प्रकाशित: Apr 26, 2021| 07:57 सोमबार, वैशाख १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।