सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फेरि कोरोना 'हटस्पट' बन्दै सुदूरपश्चिम, भारतबाट आउनेहरूले जोखिम बढाए

फेरि कोरोना 'हटस्पट' बन्दै सुदूरपश्चिम, भारतबाट आउनेहरूले जोखिम बढाए

भारतमा कोरोना जोखिम बढ्न थालेपछि उनीहरू घर फर्किन थालेका छन्। मंगलबार मात्रै भारतबाट फर्किएका एक सय १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, वैशाख ८, २०७८

कैलाली - सुदूरपश्चिम प्रदेशमा मंगलबार मात्रै ६७ कोरोना संक्रमित थपिए। स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा १ सय ९३ नमूना परीक्षण गर्दा कैलालीमा ३५, कञ्चनपुरमा २३, डोटीमा ५, डडेल्धुरामा २ र बाजुरा तथा अछाममा १/१ जना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २२ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना, डडेल्धुरा अस्पतालमा ६ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हाल ३ सय १७ सक्रिय संक्रमित छन्। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा सबैभन्दा बढी एक सय ८० संक्रमित छन्। कञ्चनपुरमा ८८, बैतडीमा २३, अछाममा ४, डडेल्धुरामा ९, डोटीमा ८, बाजुरा र अन्य जिल्लाका २/२ तथा बझाङ्गमा एक जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा हालसम्म ५९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरमा १२, बैतडी, बझाङ्ग, डडेल्धुरामा ३/३ जना संक्रमितको मृत्यु भएको छ। अछाम, बाजुरा, दार्चुलामा २/२ जना तथा डोटीमा एक जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्।

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा हुनुमा भारत प्रमुख कारण बनेको छ। रोजगारिका लागि सुदूरपश्चिमबाट भारत जानेहरू निकै छन्। भारतमा कोरोना जोखिम बढ्न थालेपछि उनीहरू घर फर्किन थालेका छन्। मंगलबार मात्रै भारतबाट फर्किएका एक सय १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।

कञ्चनपुरको गड्डा चौकी भन्सार, कैलालीको गौरीफन्टा, बैतडीको जुलाघाट, दार्चुलाको पुलघाट नाकाबाट भित्रिएका १२ सय ६१ जनामध्ये ६ सय ८६ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १० जनाको नजिता पोजेटिभ आएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशका चार सीमा नाकाबाट भित्रिएका १४ हजार ७ सय ५१ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। 

हालसम्म कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ८ सय ८, कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट भित्रिएका १ सय ६५ जना, बैतडीको जुलाघाट नाकाबाट भित्रिएका १९ र दार्चुलाको पुलघाट नाकाबाट भित्रिएका १ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो।

जोखिम बढ्दै गएपछि कैलालीमा आंशिक निषेधाज्ञा

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले कैलालीमा आशिक निषेधाज्ञा जारी गरेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिभिन्न क्षेत्रमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरीएको छ। 

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिएको सूचना अधिकारी जोशीले बताए।

सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थालाई विधुतीय माध्यमबाट सञ्चालन गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको जोशीले बताए। आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने उनले बताए।

मालपोत कार्यालयले तोक्यो बार अनुसार सेवा

धेरै भीड रहने मालपोत कार्यालय धनगढीले कोभिडको जोखिम बढेपछि स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ।

अब धनगढी उपमहानगरपालिका, चुरे र मोहन्याल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार कार्यालयबाट सेवा पाउनेछन्।

घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिकाका नागरिकले बिहीबार र शुक्रबार सेवा पाउनेछन्।

गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार सेवा पाउनेछन्।

मुद्दा फाँटसँग सम्बन्धित कार्यका लागि धनगढीकाले आइतबारदेखि मंगलबारसम्म सम्पर्क राख्नेछन् भने अन्य स्थानीय तहका नागरिकलाई बुधबारदेखि शुक्रबार सेवा दिने बताइएको छ। 

प्रदेश सरकार कोरोना अस्पताल निर्माणमा जुट्यो

कोरोनाको संक्रमण बढेपछि सुदूरपश्चिम सरकारले कोरोना अस्पतालको लागि भवन निर्माणमा जुटेको छ।

केही महिनाअगाडिसम्म कोरोना संक्रमणदर घटेपछि सुस्ताएको प्रदेश सरकार कोरोना संक्रमणदर बढेपछि ५० शैय्याको भवन निर्माण गर्न लागेको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरामीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठमा धनगढीमा ५० शैय्याको अस्थायी कोरोना अस्पताल स्थापना गरेको थियो। 

सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी ९४ लाखको लागतमा अस्पताल निर्माण गरेको थियो।

सुदूरपश्चिममा कोरोनाका विरामीको संख्या बढ्दै गएपछि सेवा थप गर्ने भन्दै प्रदेश सरकारले थप ५० शैय्याको भवन निर्माण प्रक्रिया गत पुस महिनादेखि नै सुरु गरेको थियो। तर, भवन निर्माणमा भने ढिलाइ गरिएको छ।

निर्माणको ठेक्का पाएको वाइआर कन्ट्रक्सनले बैशाख १ गतेदेखि निर्माण कार्य अगाडि बढाएको छ। 

१ करोड ४९ लाखको लागतमा निर्माण हुन लागेको भवन असार मसान्तभित्रै निर्माण सम्पन्न हुने बताइएको छ।

प्रकाशित: Apr 21, 2021| 01:06 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।