शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बजार नपाएर तरकारी फ्याँक्नु पर्दैन, सीधै कालीमाटी ल्याउनुस्

बजार नपाएर तरकारी फ्याँक्नु पर्दैन, सीधै कालीमाटी ल्याउनुस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानलाई समितिको स्टलमा ल्याएर बिक्री गर्न आह्वान गरेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

प्रेम चन्द

प्रेम चन्द

मंगलबार, चैत २४, २०७७

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानलाई समितिको स्टलमा ल्याएर बिक्री गर्न आह्वान गरेको छ। 

किसानका लागि छुट्टै स्टल सञ्चालनमा ल्याएसँगै समितिले यस्तो आह्वान गरेको हो। समितिले अब किसानले तरकारीमा डोजर लाउनुपर्ने अवस्था अन्त्य हुने दाबी गरेको छ।

समितिले हालै किसानका लागि छुट्टै एक दर्जन स्टल सञ्चालनमा ल्याएको छ। समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले किसानले तकारी उत्पादनमा डोजर लाउने स्थिति नआउने र गोलभेडा, मूलालगायतका तरकारी सडकमा फाल्नु नपर्ने बताए। 

उनले भने, ‘अब किसानले दुई किलो भए पनि आफ्नो उत्पादन यहाँ ल्याएर बिक्री गर्न सक्नु हुनेछ’, भट्टराईले भने, ‘बजार अभावमा बारीमा डोजर चलाउन पर्दैन।’

२०७५ साल पुसमा चितवनका एक किसानले बजार नपाएको झोकमा बन्दा–काउलीको बारीमै डोजर चलाएर नष्ट गरेका थिए। 

त्यस्तै काभ्रेलगायतका जिल्लामा बेलामा बजार अभावमा मूला, गोलभेडा लगायतका उत्पादन सडकमै फालिएको थियो। 

समितिले व्यावसायिक किसानलाई लक्षित गर्दै स्टल सञ्चालनमा ल्याएको हो। स्टलमा किसानले आफ्ना सानोसानो उत्पादन पनि राख्न पाउनेछन्।

स्टलमा बुधबार र बिहीबार परीक्षणका रूपमा चार जना किसानले स्टल पनि राखेका थिए।  

‘छोटो समयमै प्रचारप्रसार पुग्न नसकेकाले किसान आउन नसकेको बुझिन्छ’, कार्यकारी निर्देशक भट्टराई भन्छन्, ‘अहिले तरकारी उत्पादनको अफ सिजनसमेत भएकाले किसान आउन नसकेका हुन्।’

तरकारी उत्पादनको सिजन सुरु भएपछि र किसानले थाहा पाएपछि किसानको स्टल बढ्ने विश्वास छ।

किसानले स्टलमा राख्दा खासै शुल्क पनि तिर्नुपर्दैन। ‘प्रतिकेजी २० पैसाका दरले मात्रै समितिलाई तिर्नुपर्छ’, भट्टराई भन्छन्। 

त्यसबाहेक अन्य कुनै पनि शुल्क किसानले तिर्नुपर्ने छैन।  

समितिले थोक बजारको छेउमै स्थान खाली गरेर किसानका लागि स्टल राखेर तरकारी बिक्री गर्न पाउने व्यवस्था गरेको छ। 

कालीमाटी स्टलबाट किसानले पहिलो प्राथमिकतामा कालीमाटी तथा बल्खु तरकारी बजारका थोक विक्रेतालाई बिक्री गर्न पाउनेछन्।  थोक विक्रेताले उचित मूल्यमा किनेनन् भने मात्रै खुद्रा विक्रेता र उपभोक्ताले प्राथमिकता पाउनेछन्।

किसानले सीधै कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याएर बिक्री गर्न थालेपछि समितिलाई तरकारीको वास्तविक मूल्यबारे पनि थाहा हुनेछ। 

किसानबाट बिचौलियाले खरिद गर्ने त्यसपछि थोक विक्रेताले खरिद गर्ने प्रक्रियाको अन्त्य भई किसानदेखि उपभोक्तासम्म पुग्ने तह घट्नेछ। बिचौलियाले लिने नाफामा कमी आई उपभोक्तालाई राहत हुने विश्वास समितिको छ।

किसानले आफ्नो उत्पादन बिक्री गर्न सक्ने गरी २१ घण्टासम्म स्टलमा राख्न पाउने व्यवस्था गरिएको छ। 

बेलुका ७ बजेदेखि भोलिपल्ट साँझ ४ बजेसम्म किसानले आफ्नो उत्पादन कालीमाटी फलफूल तथा तरकारी बजारबाट बिक्री गर्न पाउनेछन्।

प्रकाशित: Apr 06, 2021| 06:59 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।