मौलाइरहेको ‘इन्साइडर ट्रेडिङ’ले सर्वसाधारण लगानीकर्तामा सेयर बजारप्रतिको आकर्षण घट्ला भन्ने चिन्ता थपिएको छ।
काठमाडौं - सोमबार अजोड इन्स्योरेन्सको सेयरको मूल्य ह्वात्तै बढेर सकारात्मक सर्किट लाग्ने तहसम्म बढ्यो। मंगलबार नै कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको पत्र नेप्सेमा पठायो।
सो पत्र देख्नेबित्तिकै लगानीकर्ताहरूले सहजै अनुमान गर्न सके कम्पनीको सेयर इन्साइडर ट्रेडिङ (कम्पनीको सूचना चुहाएर भएको भित्री कारोबार) भएको।
त्यसैले लगानीकर्ताहरूले इन्साइडर टे«डिङ भएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छानबिनका लागि आग्रह गरे।
एक लगानीकर्ताले भने नेप्से र बोर्डले राम्रोसँग छानबिन गर्नेमा विश्वस्त नभएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छानबिनका लागि उजुरीसमेत दिएका छन्।
त्यस्तै गत माघ १८ गते जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २६ सय ६६ रूपैयाँमा कारोबार भएको थियो। जबकि त्यसको ठीक एक महिनाअघि सो संस्थाको सेयर मूल्य १८ सय २० रूपैयाँमा कारोबार भइरहेको थियो। तर, माघ १९ गते संस्थाले ५२ प्रतिशत लाभांश दिने त्यसमध्ये ४९.४० प्रतिशत बोनस सेयर दिने निर्णय ग¥यो।
माघ २५ सम्ममा आइपुग्दा सो कम्पनीको प्रतिसेयर ४१ सय नाघिसकेको थियो। त्यसबेला पनि लगानीकर्ताहरूले इन्साइडर ट्रेडिङ भएको प्रष्ट देखिएको भन्दै इन्साइडर ट्रेडिङ गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। तर, सेबोनले केही गरेन।
यी दुई घटना नेपालको सेयर बजारका प्रतिनिधि घटना मात्र हुन्।
नेपालमा इन्साइडर ट्रेडिङको इतिहास पुरानै छ। जबदेखि दोस्रो बजारमा सेयरको कारोबार हुन थाल्यो र सर्वसाधारणहरू सामेल हुन थाले तबदेखि नै इन्साइडर ट्रेडिङ मौलाउन सुरू गरेको सेयर बजार विश्लेषकहरूको भनाइ छ।
पछिल्लो समयमा इन्साइडर ट्रेकबडिङ झनै मौलाइरहेको छ।
सर्वसाधारणहरूमा सेयर बजारप्रतिको चासो कोरोना महामारीका कारण भएको लकडाउन र नेप्सेले अनलाइन प्रणाली विस्तार गरेपछि बढेको हो।
त्यस्तै पूर्वाधार विकास बैंक, अपर–तामाकोसी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, सान्जेनलगायतका कम्पनीहरूले सर्वसाधारण सेयर जारी गरेपछि यसले सेयर बजारमा सर्वसाधारणको उपस्थितिलाई थप बलियो बनायो। सर्वसाधारण लगानीकर्ता दोस्रो बजारमा पनि आकर्षित हुँदै गए।
सोही अवस्थाको फाइदा उठाउँदै इन्साइडर ट्रेडिङ गर्नेहरू मौलाउँदै गए। विभिन्न समयमा इन्साइडर ट्रेडिङहरू भइरह्यो। जसको मारमा साना लगानीकर्ताहरू परिरहेका छन्। उनीहरूमा सेयर बजारप्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सेबोनले समय–समयमा इन्साइडर ट्रेडिङबारे अध्ययन गरिरहेको छ।
‘हामीले इन्साइडर ट्रेडिङ गरेको भनी कुनै पनि लगानीकर्ताले सूचना दिएमा वा छानबिनका लागि निवेदनसहित आग्रह गरेमा सो कम्पनी र दलाल व्यवसायीको छानबिन गर्ने गरेका छौं,’ उनले भने, ‘सो कम्पनी र दलाल व्यवसायीलाई स्पष्टीकरण सोध्ने गरेका छौं। यसअघि पनि धेरै कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको छ।’
धितोपत्रसम्बन्धी ऐन २०६३ दफा १०१ उपदफा १ अनुसार इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको ठहरेमा बिगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। तर, हालसम्म सो ऐनअनुसार कसैलाई पनि कारबाही नभएको सेयर लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए।
उनले भने, ‘सेबोनसँग इन्साइडर ट्रेडिङ भए/नभएको अनुगमन गर्नेदेखि काराबाही गर्नेसम्मको अधिकार छ, तर अहिलेसम्म पनि सेबोनले स्पष्टीकरण सोध्ने बाहेक कारबाही गर्ने हिम्मत गरेको छैन।’
तर, सेबोनका प्रवक्ता गिरीका अनुसार गत सोमबारको अजोडको केसमा भने सेबोनले छानबिन गरिरहेको छ। गिरीले ऐनले इन्साइडर ट्रेडिङ भएमा दण्ड जरिबानासम्मका कुराहरू तोकिदिए पनि के–कस्ता कामहरू इन्साइडर ट्रेडिङभित्र पर्छन् भन्ने बारे स्पष्ट नहँुदा कारबाही गर्न कठिन भएको बताए।
‘इन्साइडर ट्रेडिङबारे थप स्पष्ट हुन हामीले नियमावलीको मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको एक वर्षभन्दा बढी भइसक्यो अझै स्वीकृत भएर आएको छैन,’ उनी भन्छन्, ‘नियमावली आएपश्चात भने इन्साइडर ट्रेडिङको बारेमा स्पष्ट हुने र दण्ड जरिवानासमेत गर्न सकिन्छ।’
मर्कामा साना लगानी कर्ता
इन्साइडर ट्रेडिङ हुँदा साना लगानीकर्ताहरू मर्कामा परेका छन्।
राम्रो लाभांश दिने कम्पनीहरूको सूचना चुहाएर ठूला लगानीकर्ताहरूले ती कम्पनीहरूको सेयर थोरै मूल्यमा किन्ने गर्छन्। र, लाभांश दिने निर्णय सार्वजनिक भएपछि साना लगानी कर्ताहरूले सो कम्पनीको सेयर बढी मूल्यमा किन्नुपर्ने अवस्था आउँछ।
कम्पनीको मूल्य बढ्ने बित्तिकै पुनः सो कम्पनीको सेयर धेरै मूल्यमा बिक्री गरी नाफा बुक गरिहाल्ने प्रवृत्ति बढ्दै जाँदा साना लगानी कर्ताहरू भने इन्साइडर ट्रेडिङ गर्नेहरूबाट ठगिरहेका छन्।
उनीहरू सेयरको मूल्य बढ्दा किन्ने र घट्दा बेचेर घाटा व्यहोरिरहनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन्। तर, नियामक निकाय सेबोन भने सेयर किन्दा सचेत भएर किन्न बारम्बार अनुरोध मात्र गरिरहेको छ। इन्साइडर ट्रेडिङ गर्नेहरूलाई अहिलेसम्म पक्राउ गरी कारबाही गर्न सकेको छैन।