केही वर्षअघिसम्म एउटा ‘जोक’ चर्चित थियो। जोक यस्तो छ-
एउटा युवक विवाहका लागि केटी माग्न जान्छ। केटीको घरमा पुगेपछि कराकानी हुन्छ–
केटीका बाबु : अनि तिमी के गर्छौ?
युवक : म क्रिकेट खेल्छु।
केटीको बाबु ः खेल्छौ ठिक छ। तर, कमाइका लागि चाहिँ के गर्छौ?
हाहाहा...!
यो जोकको आशय हो, युवकले क्रिकेट खेलेर पनि पैसा कमाउन सकिन्छ भनेर केटीका बावुलाई स्पष्ट पार्न सक्दैन।
कुनै बेला खेलाडीको अवस्था यस्तै थियो। सबैलाई लाग्थ्योे, ‘लौ! क्रिकेट खेलेर पैसा कमाउने रे? खेल्दाचाहिँ कसले पैसा दिन्छ?’
विभिन्न खेलमा लागेका खेलाडी व्यावसायिक बनिसकेपछि अहिले अवस्था सामान्य बन्दै गएको छ।
समय कहाँ उस्तै रहन्छ र’ संसार अर्कैतिर मोडिइसकेको छ। बुधबार साँझ पत्रकारहरूको म्यासेन्जर ग्रुपमा एउटा म्यासेज आएपछि मेरो ध्यान त्यता केन्द्रित भयो।
भोलिपल्ट म सवा १२ बजे दरबारमार्गस्थित होटेल रोयल सिंगीमा आयोजित पत्रकार सम्मेलनमा पुगें।
पुग्नेबित्तिकै एकजना साथीले सुटुक्क भने, ‘म त एनएसएलको कुनै एक टिमलाई स्पोन्सर गरेको पत्रकार सम्मेलन होला भनेर आएको त पब्जी खेलाडीको पत्रकार सम्मेलन पो र‘छ!’
आउँदो वैशाख ११ गते सुरु हुँदै गरेको पहिलो फुटबल फ्रेन्चाइजको माहोल चलिरहेको समयमा पत्रकार सम्मेलन हुँदै गर्दा रोयल सिंगी पुग्नुअघि मेरो विचार पनि उस्तै थियो। मुसुक्क हाँसेर मैले उनलाई आफूलाई लागेको कुरा सुनाएँ। बाँकी त म पनि अन्योलमै थिएँ।
सम्मेलनअघि मनमा धेरै खुल्दुली थियो। कार्यक्रम करिब १५ मिनेट ढिलो गरेर सुरु भयो।
पत्रकार सम्मेलनमा सिनियरदेखि जुनियरसम्मलाई आसन ग्रहण गराइयो। प्रमुख अतिथिका रूपमा आइपुगे हायस्कलाकार दीपकराज गिरी। खेलाडीलाई पनि आसन ग्रहण गराइयो।
कार्यक्रम थियो, पब्जी खेलाडीलाई ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक ग्रुपले स्पोन्सर गर्ने। उसले पब्जी खेल्नेलाई मासिक तलबसहित भत्ता र खेल्ने ठाउँ पनि उपलब्ध गराउने रे!
पब्जी सिकाउने कोच पनि हुँदा रहेछन्। आफ्नो छोराछोरीले पब्जी खेलेर दिक्क भएका बाबुआमाले यो कुरा थाहा पाए भने यी कोचलाई सराप्थे होलान्। हैरान भएका कतिपय अभिभावक अदालतमा मुद्दा हाल्न पनि जान्थे होला।
पब्जीका प्रशिक्षक संगीन भट्टराई सानसँग आसनग्रहण गरिरहेका थिए।
पत्रकारसँग भने पब्जी खेलाडी र प्रशिक्षकसँग सोध्ने प्रश्नै थिएन। के सोध्ने? कसरी सोध्ने? अन्योलमा थिए पत्रकार।
मोबाइलमा गेम खेल्दा केटाकेटी बिग्रिन्छन् भनेर समाचार लेख्ने पत्रकार न थिए। अब मोबाइलमा सीमित सोही गेमको टिम बनाए समाचार लेख्न कठिन नै थियो।
बाहिर नखुले पनि मनमनमा सबैको हाँसो थियो। सँगैको साथीले भन्यो, ‘पब्जीको टिम बनाएर के गर्न खोजेका होलान् यी केटाहरूले?’
खुलदुली नै खुलदुलीबीच हास्यकलाकार गिरी मञ्चमा उक्लिए।
उनले पनि पब्जी खेलेकामा छोरालाई धेरै पटक गाली गरिसकेका रहेछन्। त्यसैले पब्जीकै बढाइँ चढाइ गरेर बोल्न उनलाई गाह्रो परिरहेको देखिन्थ्यो। ‘यहाँ आएपछि पब्जीबारे धेरै कुरा थाहा भयो,’ उनले भने।
छोरोले मात्र होइन पब्जी खेलेर साथीहरूले पनि दिक्क बनाएका रहेछन् गिरीलाई।
‘फिल्म क्षेत्रमा लागेका साथीहरू पनि फोन नै नउठाउने, फोन गर्यो काटिदिने। किन भनेर बुझेको त उहाँहरू पब्जीमा व्यस्त हुनुहुँदो रहेछ,’ गिरीले अनुभव सुनाए।
उनको कुरा सुनेर उपस्थित सबै गल्लल हाँसे।
पब्जी खेल्ने समूहको नाम नै डरलाग्दो। एउटा समूहको नाम रहेछ ज्यानमारा।
यो त आपराधिक समूह जस्तो भएन र? कस्तो नाम हो यो? यसले के सन्देश दिन्छ? समूहको नाम त सामाजिक हुनुपर्ने हो। कसैले ‘म ज्यानमारा ग्याङको मेम्बर हुँ’ भन्यो भने के बुझिएला?
जे होस् पब्जी खेलाडीले गौरवका साथ भनिदिन्छन्– हाम्रो ग्रुपको नाम ‘ज्यानमारा’ हो। उनीहरूको यो साहसलाई मान्नैपर्छ।
खेलाडीको नाम पनि डिजिटल नै हुने! एकजनाको ‘मिस्टर बोरो’ अनि अर्कोको ‘निन्जा’ अनि ‘स्याङ’, यस्तै यस्तै। सामान्यतया यस्तो नाम कसको होला? छैन त रमाइलो!
स्याङ नाम तिनैको हो जसले अन्य खेलाडीलाई प्रशिक्षण गराइरहेका रहेछन्, अर्थात् संगीन भट्टराई। डीआरएस (द रियल सोल्जर्स) ग्रुपका व्यवस्थापक।
भट्टराईले पब्जी खेलाडीबाट सन्न्यास लिइसकेका छ्रैनन्। कोच बन्न खेल जीवनबाट सन्न्यास लिनु नपर्ने रहेछ पब्जीमा। अनिवार्य नभए पनि सामान्यतया यस्तो प्रचलन विश्वभर कायम छ। यसमा अरु खेलमा भन्दा एउटा कुराचाहिँ सजिलो रहेछ, कोच बन्न खेल जाने पुग्यो। लाइसेन्स लिन नपर्ने।
विना लाइसेन्सका प्रशिक्षक भट्टराईले सिकाउँदारहेछन्। खेलाडीले मोबाइलमा जति समय दिन्छ, सोहीअनुसार शारीरिक अभ्यासका लागि पनि समय दिनुपर्ने नियम रहेछ।
‘यो गेम एडिक्सन पनि हुन सक्छ तर त्यस्तो हुन दिनु हुँदैन। पब्जी हामीले खेल्ने हो, पब्जीले हामीलाई खेल्नु हुँदैन,’ उनी भन्छन्।
टिम घोषणा भइसकेपछि मैले उनलाई सोधिहालें, ‘अनि यो टिममा अनुबन्ध हुन योग्यताचाहिँ कति हो? उनी एकछिन अलमलिए। भने, ‘हामी अन्य खेलमा जस्तै प्रतियोगिता गराउँछौं। विजेता र राम्रो प्रदर्शन गर्नेलाई छानेर टिममा समावेश गराउँछौं।’
पब्जीका पछिल्ला खेलमा राम्रो गरेर अनुबन्ध भएका मध्ये एक रहेछन् निन्जा।
निन्जालाई पब्जीमा खेलाडी अनुबन्ध हुनु ई–गेमर्सका लागि ऐतिहासिक दिन हो भन्ने लागेको रहेछ। उनले अनुबन्ध भएपछि गर्वले छाती फुलेको सुनाए।
निन्जाले भने, ‘यो अनुबन्ध खेलाडी जन्मिने प्लेटफर्म हो। नयाँ खेलाडीलाई हौसला हो। अब प्यारेन्टसलाई देखाउँछौं पब्जी खेलेर के पनि हुन्छ अब। त्यसको पहिलो पाइला हो यो।’
उनका अनुसार पब्जी खेलाडीलाई बाबुआमाले तड्पाइरहेका छन्। त्यसैले आफ्नो अधिकारका लागि लडिरहेको दाबी उनको छ।
ज्यानमारा गु्रपका अर्का खेलाडी हुन् सफल फ्युजु। उनलाई चाहिँ पब्जी खेलेर आफू संसारमा भइरहेको परिवर्तको साक्षी बन्न मन लागेको रहेछ। उनले डीआरएसमा अनुबन्ध भइसकेपछि भने, ‘हामी गेमिङले मान्छे बिग्रन्छ भनेर सोच्छौं। तर त्यो गलत हो। विश्वमा धेरै कुरा परिवर्तन हुँदै छन्। अब अनलाइन गेम खेलेर पनि परिवार पाल्न सकिन्छ।’
अर्का खेलाडी हुन् एजे। पब्जीमा लाग्दाको अनुभव अलिक अनौठो रहेछ उनको।
उनी सुनाउँछन्, सुरुमा टाइमपास गर्ने केही थे‘न। पढाइमा पटक्कै फोकस हुन्थेन। पढ्नै मन लाग्दैनथ्यो। अनि पब्जी खेल्न थालेको। पछि थाहा भयो यसको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदो रहेछ। पहिला मनोरञ्जनका लागि मात्र खेल्थ्यौं। पछि प्रतियोगितामा सहभागी बन्यौं। गेम टफ भएपछि जोडिएर टिम बनेको हो।
उनी र उनको टिमलाई देशविदेशबाट मोबाइल र इन्टरनेटको व्यवस्था भएछ। अहिले फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ जोडिन आइपुगेको हो।
‘रुटिन अफ नेपाल बन्द’ पेजका एड्मिन भिक्टर पौडेलको पनि पब्जीबारे भिन्नै अनुभव छ।
पब्जीमा युवाको क्रेज देखेपछि उनले यसलाई प्रवद्र्धन गरेका रहेछन्। धेरैलाई थाहै छ उनी आफ्नो पेजमा फ्ल्यास न्युज पोस्ट गर्छन्। सोही क्रममा उनलाई पब्जीमा नेपालीले यत्रो प्रगति गरेका छन् भन्दै समाचार राख्न अनुरोध आएछ। दक्षिण एसियामा पहिलो बनेको नेपाली टिमले जर्मनीमा भएको विश्व च्याम्पियनसिप खेलेको भिक्टरले फेसबुकको म्यासेजबाटै थाहा पाए।
सुरुमा त उनले पब्जीको सबै म्यासेज ‘इग्नोर’ गरे। एकपटक पेजमा समाचार राखेपछि उनले थाहा पाए पब्जीबारे बढ्दै गरेको युवा क्रेज।
‘पहिला त पब्जीको समाचार हालेको थिइनँ तर म्यासेज धेरै आएपछि कभर गरें। त्यसले युवापुस्तालाई निकै आकर्षण गर्यो। मैले पनि अध्ययन गर्दै जाँदा ई–स्पोट्र्स निकै ठूलो प्लेटफर्म रहेछ,’ उनले पब्जी क्लबको स्वामित्व ग्रहण गर्नुको कारण सुनाए।
उनले लकडाउनमा ई–स्पोर्टको भ्युज बढेको र पछिल्लो सयम बिलियन डलरभन्दा धेरै कारोबार भइसकेको सुन्दा अनुबन्ध भएका खेलाडी मख्ख देखिन्थे।
गजबको कुरा चाहिँ जसरी चलचित्रमा अफेयर चल्छ, गसिप बन्छ पब्जीमा पनि त्यस्तै हुन्छ। त्यहाँ पनि ‘कन्ट्रोभर्सी’ हुन्छ। गेममा लाइभ आएर रोस्ट गर्ने, कमेन्टमा स्पाम हान्दिने लगायतका रमाइला घटना यहाँ हुन हुन्छन्।
यसले खेलाडीलाई पब्जीमा रमाउन मद्दत गर्दो रहेछ। तर यसलाई लतका रुपमा लिनु भएन। नियन्त्रणमा राखेर प्रयोग गर्नुपर्यो।
‘नियन्त्रणमा राखे यसले राम्रो गर्छ। ग्याजेटमा धेरै समय बिताउने मानिसको अनुहारमा चमक हुँदैन। तर यी सबै पब्जी खेलाडीको अनुहारमा उत्साह र चमक छ। केही गरौैं भन्ने जोस र जाँगर छ। यसो भएमा पब्जीले हानि गर्दैन,’ हास्यकलाकार गिरीले भने।
मैले प्रश्न गरिहालें, ‘दाइ, अब छोरालाई पब्जी नखेल भनेर कराउनुहुन्छ त?’
उनी हाँसे र भने, ‘भरे छोराले चाहिँ कराउँछ होला! मलाई खेल्न नदिने आफू चाहिँ पब्जीको कार्यक्रममा कुद्ने भनेर।’
पब्जीले बालबालिका ब्रिग्रिन्छन् भन्नेलाई डीआरएस ग्रपले गतिलै झापड दिएको कलाकार गिरीको दाबी छ।
‘आम्दानी हुँदो रहेछ भन्ने थाहा पाएपछि राम्रो सन्देश जान्छ,’ उनले भने।
एकपटक टिकटकसहित ब्यान्ड हुने अवस्थामा पुगिसकेको पब्जी छिट्टै कानुनी दायरामा आउने क्रममा छ। ई–गेमर्सका लागि यो खुसीको कुरा हो। यसैलाई लिएर पब्जी खेलाडीको मनमा उत्पन्न भएको एउटा आशा हो– अबका मानिसको लक्ष्य ठूलो भएपछि गेमर बन्छु भन्ने हुनुपर्छ।