मोहनचन्द्र अधिकारी पुराना कम्युनिष्ट नेता हुन्। नेकपा एमालेको केन्द्रीय सल्लाहकार सदस्य अधिकारीलाई कम्युनिष्ट पार्टीभित्र नेल्सन मण्डेला भनेर पनि चिन्ने गरिन्छ। पञ्चायती व्यवस्थाविरुद्ध लड्दा उनले १७ वर्ष जेल जीवन बिताउनु परेको थियो।
२००७ सालदेखि २०६२–०६३ सालको जनआन्दोलनसम्म राजनीतिक परिवर्तनमा होमिएका तिनै कम्युनिष्ट नेता अधिकारी यही चैत ४ र ५ गते नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भए। ८४ वर्षीय अधिकारीसँग भेलास्थलमा नेपाल समयका बीपी अनमोलले छोटो कुराकानी गरेका छन्।
अहिलेको कम्युनिष्ट आन्दोलनलाई कसरी हेर्नुभएको छ?
कम्युनिष्ट पार्टी बन्ने होइन, बिग्रिने अवस्थाबाट अघि बढेको छ। यसको मुख्य कारण के भने वर्गीयता भएन। वर्गीय दृष्टिकोण अन्तर्गत सर्वहारा वर्गको नेतृत्वमा मजदुर, किसानहरुको कम्युनिष्ट पार्टी बन्थ्यो भने उनीहरुको सेवा गर्थ्यो होला। तर त्यस्तो भएन।
प्रधानमन्त्री केपी ओलीले अहिले गरिरहेको कामलाई कसरी लिनुभएको छ ?
सोह्रै आना बेठिक।
कसरी ?
उहाँमा हिटलरजस्तो प्रवृत्ति देखिन्छ। जहिले पनि आफैंलाई केन्द्रमा राख्ने। हिटलरले जस्तै शासन चलाइरहनुभएको छ। पार्टी फुटाउनकै लागि अध्यादेश ल्याउन खोज्नुभयो। नेपाललाई दास बनाउने एमसीसीजस्तो योजनाको पृष्ठपोषक भएर लाग्नुभएको छ।
तपाईं त लामो समयदेखि ओलीलाई चिन्नुहुन्छ। पहिलेदेखि नै यस्तै हो उहाँ ?
काम नगर्ने गफ बढी गर्ने मानिस हो उहाँ। व्यक्तिवादी रुपले सोच्ने मानिस हो। उहाँले सर्वहाराको हित गर्ने, मजदुर–किसानको हित गर्ने कुराको कल्पना पनि गर्नुभएको रहेनछ। महाकाली भारतलाई सुम्पिने काममा शेरबहादुर देउवालाई सहयोग गर्नुभयो। अहिले शेरबहादुर देउवाले पनि उहाँलाई सहयोग नै गरेको देखियो।
नेपालमा कम्युनिष्ट पार्टीहरु किन टुटफुट भइरहन्छन् ?
कम्युनिष्ट पार्टी मिल्ने–फुट्ने कारण पञ्चायती व्यवस्था हो। त्यतिबेला पनि हाम्रो पार्टी फुट्यो। केशरजंग रायामाझीले पार्टी फुटाइदिएर राजातिर जानुभयो। पुष्पलाल, तुलसीलाल र हामी मिलेर २०१८ सालमा बनारसमा महाधिवेशन गर्यौं। त्यतिबेलादेखि नै मलाई के लागेको हो भने कम्युनिष्ट पार्टी अवर्गीय हिसाबले बन्यो। सर्वहारा वर्गको नेतृत्व स्थापित गर्नका लागि पार्टी चल्नुपर्ने हो तर त्यो हुन सकेन।
पुष्पलालजीको समयमा पनि मानिस बटुलेर बनाएको कम्युनिष्ट पार्टी हो। वर्गको हित हुने गरी उनीहरुलाई नै समावेश गरेर नेतृत्व स्थापित गरेको भए अहिले यस्तो अवस्था आउने थिएन।
अहिले एमालेमा पनि ओली पक्ष र माधव–झलनाथ पक्ष विभाजित छन् नि ?
यस्तो किन भयो भने केपी ओली एक्लो सोचबाट अघि बढ्दै हुनुहुन्छ। आफूले मात्रै राम्रो काम गरेको भनेर प्रचारमा हुनुहुन्छ। जस्तो– झापा आन्दोलन मैले सुरु गरेको हो। त्यसकारण म ढुक्कसँग भन्न सक्छु कि त्यो आन्दोलनमा उहाँको नगण्य भूमिका छ। केही पनि भूमिका छैन भन्दा पनि हुन्छ। रामनाथ दाहाल, विरेन्द्र राजवंशी यी अमर सहिदहरुको देन हो त्यो। हामीले सुुरु गरेको आन्दोलनमा उहाँ सरिक चाहिँ हुनुभएको हो। उहाँ जहिले पनि काम नगर्ने र गफ मात्रै गर्ने। आफू अगाडि आउन चाहने र आफ्नो भनाइमात्रै अरुले मानुन् भन्ने पहिलेदेखि नै हो।
अहिले एमाले विभाजित हुनुमा केपी ओलीमात्रै दोषी छन् त ?
दोष उनको त छँदैछ। मुख्य कुरा के हो भने कम्युनिष्ट पार्टी पुष्पलाल श्रेष्ठको पालादेखि अवर्गीय दृष्टिकोण राखेर हिँड्यो। सर्वहारा वर्गको नेतृत्वमा चल्ने राज्यव्यवस्था हुनुपर्नेमा त्यतातिर कसैले ध्यान दिएन। मदन भण्डारीको जनताको बहुदलीय जनवादले पनि यो कुरालाई समेट्न सकेन। म त जबजको कट्टर विरोधी हो।
के भयो भने कम्युनिष्ट एक हुन्छन् त ?
केपी शर्मा ओली सच्चिनुपरो। यताका कमरेडहरुले पनि उहाँलाई सच्चिने मौका दिनुपरो। दुवैतर्फका कमरेडहरुले आफूले गरेका काम जनताको पक्षमा भए कि भएनन् भनेर समीक्षा गर्नुपरो । आत्मालोचना–आलोचनाको पद्धतिअनुसार आत्मालोचित भएर आलोचना स्वीकार गरेर सर्वहारा वर्ग, मजदुर, किसान, गोठाला–खेतालाको सेवामा लाग्नुपरो। अनिमात्रै कम्युनिष्ट एक हुन्छन् र जनताको पार्टी बन्छ कम्युनिष्ट पार्टी।