मंगलबार, जेठ ७, २०८२

विप्लव वामपन्थको निहुरमुन्टी न

मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्म, केपी ओलीदेखि सीपी मैनालीसम्म ‘साँचो कम्युनिस्ट’ नै हैनन् भन्ने तत्त्वज्ञान दिइरहेको हुन्छ। यही तत्त्व ज्ञानमा बहकिएर विप्लवले एकीकृत जनक्रान्तिको अन्योलपूर्ण भाष्य निर्माण गरेका थिए। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

भनिन्छ– वामपन्थ अन्ततः दक्षिणपन्थमा परिणत हुन्छ। उग्रवामपन्थको अन्तिम नियति चरम दक्षिणपन्थ हुन्छ। विश्व र नेपालका राजनीतिक अनुभवले यो तथ्य पटकपटक पुष्टि गरेको छ। वामपन्थी नेताहरूका चर्का भाष्य, भाषण र नाराबाट रोमाञ्चित क्रान्तिकर्म थला मात्र परेका छैनन्, त्यसले ‘यु–टर्न’ गर्दै दक्षिणपन्थी र प्रतिगामी रुझानसमेत देखाउने गरेको छ।  

स्वयं प्रधानमन्त्री केपी शर्मा ओली झापा विद्रोहताका एक उम्दा उग्रवामपन्थी थिए। माओ विचारधारा, नक्सलवाद, चारु मजुमदार लाइन, व्यक्तिहत्या उक्त आन्दोलनको मुख्य चरित्र थियो। सर्वहारा अधिनायकत्वको सिद्धान्तमा आधारित ‘जनवादी गणतन्त्र’ स्थापनाको लक्ष्य मूल परियोजना थिए। शास्त्रीय साम्यवादी भाष्यमा ‘जनवाद’ को अर्थले ‘लोकतन्त्र’ को सार्वभौम मान्यतासँग मेल खाँदैनथ्यो। माओ विचारधारा र नक्सलवादले ‘संयुक्त जनवादी अधिनायकत्व’ भएको एकदलीय राजनीतिक प्रणालीका रूपमा परिभाषित गर्थ्याे।

आज पनि प्रधानमन्त्री ओलीलाई ती दिन र एजेन्डा सम्झना रहेछ। ‘५० वर्षअघि म पनि विप्लवजीहरूको जस्तै आन्दोलनमा थिएँ’ वाक्यको निहितार्थ त्यही हो। यो स्वीकारोक्ति इमानदार हो भने धर्मराज ढकाललगायत निहत्था नागरिकको व्यक्तिहत्या अभियोगमा १४ वर्ष जेल बसेको तथ्य उनका लागि आरोप नबन्नुपर्ने हो। इतिहासका तथ्य बदलिँदैनन्। बदलिने भनेको इतिहासको व्याख्या वा भाष्य मात्र हो। 

भाष्य निःसन्देह बदलियो। ओलीको १४ वर्ष जेलजीवन झापा विद्रोहको व्यक्ति हत्याका लागि नभएर लोकतन्त्रका लागि थियो भन्ने नयाँ भाष्य हामी सबैले मान्दिएका छौं। तर नक्सलवाद र लोकतन्त्रबीच कहिल्यै कुनै गोरु बेचेको साइनोसमेत थिएन र हुनै सक्दैन। यस्तै तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र संघर्ष र मधेस आन्दोलनपछि केही नयाँ भाष्य आए। कमरेड विप्लवका पनि त्यस्तै केही नयाँ भाष्य आउलान्। ठिक छ मानिदिउँला। समाज, राष्ट्र र जनतालाई फाइदा गर्छ भने अकाट्य तथ्यका फरकफरक भाष्य पनि पत्याइदिनु मानव जीवनको अर्को नियति हो।   

यहाँनेर ध्यान दिनयोग्य अहं विषय छ– उग्रवामपन्थको दुर्भाग्य हो– उसले आफ्नो इतिहास आफैंले सम्झनयोग्य बनाउन सक्दैन। आफ्नै कर्म आफैंले गौरव गर्नलायक गर्न सक्दैन। यस्तै आफ्नै भाष्य आफैंले विश्वास योग्य बनाउन सक्दैन। आफ्नै क्रियाकलाप आफैंले स्वीकार योग्य बनाउन सक्दैन। यो  ओलीको मात्र हैन, उग्रवामपन्थको साझा चरित्र र नियति हो। यही चरित्र र नियतिको लस्करमा अर्का पात्र थपिएका छन्– नेत्रविक्रम चन्द अर्थात् कमरेड विप्लव।

विप्लव हिंसात्मक क्रान्तिको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किए। निःसन्देह त्यो स्वागतयोग्य कुरा हो। एक्काइसौं शताब्दीको विश्व राजनीति र उत्तरलोकतान्त्रिक युगको नेपाली लोकतन्त्रमा उग्रवामपन्थ आफैंमा एउटा बोझिलो सत्य थियो। यस्तो सत्य जसलाई अस्वीकार गर्न पनि सजिलो थिएन। 

उग्रवापन्थको कुनै न कुनै विन्दुमा रूपान्तरण हुनैपर्दथ्यो। कुनै न कुनै प्रकारको राजनीतिक व्यवस्थापन हुनैपर्दथ्यो। हिंसा र बल प्रयोगको आमसंस्कृतिभित्र उन्नत तथा सुसंस्कृत लोकतन्त्रको अपेक्षा पुष्टि हुन सक्दैन। उग्रवामपन्थले प्रत्यक्ष, सहभागितामूलक, समावेशी र समानुपातिक लोकतन्त्रलाई असम्भव बनाइदिन्छ। शान्ति, सुशासन, विकास, समृद्धि र समाजवादको प्रक्रिया झनै टाढा बनाइदिन्छ।  

वामपन्थी रोमाञ्चकताको ज्वरो नेपालमा मात्र हैन, संसारभरि कहीं पनि सजिलै उत्रिएको छैन। चीनको सांस्कृतिक क्रान्तिदेखि भारतको नक्सलवादसम्म, कम्बोडियाको खमेरुज आन्दोलनदेखि पेरुको साइनिङपाथसम्म त्यसको आफ्नै दुर्दान्त कथा छ। यस्ता दुर्दान्त कथाका अनेक आयाम र अध्याय छन्। ती कतै त्रासद छन् र कतै परिहासपूर्ण। त्रासद होस् कि परिहासपूर्ण समृद्ध, सुशासित, समतामूलक समाजको अपेक्षासँग तिनीहरूले सधैं विमति राखेका छन्। 

विप्लव वामपन्थको अन्तर्य यी सबै परिप्रेक्ष्यभन्दा भिन्न र टाढा थिएन न त नेत्रविक्रम चन्द कुनै अज्ञात टापुका ‘रविन्सन क्रुसो’ नै थिए। माओवादी जनयुद्ध र त्यसको पराकाष्ठामा जुन घटनाक्रम संयोगले वा योजनाबद्ध, स्वस्फूर्त वा सचेतन ढंगले निर्माण भए, चन्दलाई ती प्रक्रियाले राजनीतिक सीमान्तकरणमा  लगेका थिए। उनी स्वयं आफ्ना नेता, सुप्रिम कमान्डर तथा आदर्श मानक व्यक्तित्व प्रचण्डबाट विरक्त थिए तर प्रचण्डपथको रोमान्टिसिज्म उनको हृदयमा तरंगित थियो। 

एक निष्कलंक व्यक्तित्व र निष्कन्टक राजनीतिक यात्रीका रूपमा विप्लवलाई जान्ने, बुझ्ने र संगत गर्नेहरूको मानमा सम्मानको भावना हुनु स्वाभाविक थियो। तर, एक फरक आन्दोलनको उठान, विकास र बैठानका लागि त्यति मात्र कुरा पर्याप्त थिएन। अर्को, प्रचण्ड हुने लालसा स्वाभाविक रूपमा एक बचकना मनोदशाको प्रकटीकरण थियो, जो सफल हुन सम्भव नै थिएन। त्यसैले तीव्र आवेग, आँट र सहासले भरिएको विप्लवको व्यक्तित्व कुण्ठित हुनु किमार्थ र कसैका लागि उचित थिएन। 

किन र कुन प्रयोजनका लागि प्रचण्डले विप्लवलाई किनारामा पारेर वर्षमान पुन र शक्ति बस्नेतहरूलाई अगाडि बढाएका थिए, त्यसको भिन्नै अध्ययन र विश्लेषण हुन सक्ला तर देशको समग्र राजनीतिक ग्रन्थावलीका लागि त्यो एक लाइनको फुटनोटभन्दा बढी महत्त्वको थिएन। फुटनोटलाई मूलग्रन्थ बनाउने अभीष्टले विप्लवले ‘महापतन’ लेखे। तर, अब पुष्टि भयो कि महापतन कुनै महाग्रन्थ थिएन केवल अर्को फुटनोट रहेछ।  

विप्लवको एकीकृत जनक्रान्ति तथा आहूतिको ‘वैज्ञानिक समाजवाद’ का वास्तविक अध्येता एक गुमनाम व्यक्तित्व रमेश सुनुवार हुन्। सुनुवार बागबजारको गल्लीमा एक सानो अध्ययन केन्द्र चलाउँछन्। कम्युनिस्ट कार्यकर्तालाई उनी ‘विज्ञान प्रविधिको युगमा मानव श्रमको साटो आर्टिफिसियल इन्टेलिजेन्स कसरी प्रमुख उत्पादक शक्ति’ बन्दछ भनेर अनेक छिमलका व्याख्या गरिरहेका हुन्छन्। 

सुनुवारको बौद्धिक भोक र सादगीपूर्ण जीवन आफ्नो ठाउँमा एकदमै स्तुत्य छ। तर, उनको अध्ययन केन्द्रले एक विशद तथा बहुआयामिक विवेचनाको साटो कुनै खास कोणबाट शास्त्रीय माक्र्सवादको तुष्टिकरण गरिरहेको हुन्छ। ‘कम्युनिस्ट हुनु राम्रो’ हो तर मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्म, केपी ओलीदेखि सीपी मैनालीसम्म ‘साँचो कम्युनिस्ट’ नै हैनन् भन्ने तत्त्वज्ञान दिइरहेको हुन्छ। यही तत्त्व ज्ञानमा बहकिएर विप्लवले एकीकृत जनक्रान्तिको अन्योलपूर्ण भाष्य निर्माण गरेका थिए। 

कुनै महान् चित्रकारको अमूर्त चित्रकलाजस्तो जसरी अथ्र्याए पनि हुने शास्त्रीय साम्यवादको उभिन्डो क्यानभासमा अलिकति आफ्नो रङ पोतेर साम्यवादको पुनर्भाष्य गर्ने यो प्रक्रिया त्रासद त थिएन नै परिहासपूर्ण पनि बन्न सकेन। ‘यो नाटकै हो, यो नौटंकी नै हो’ जस्ता घोचपेच लोकप्रिय बनेका बेला स्वाभाविक रूपमा नयाँनयाँ नाटक र नौटंकीका पर्दा खुल्ने नै भए। त्यही शृंखलाभित्र एकीकृत जनक्रान्तिको पनि पर्दा खुल्यो। यो नयाँ नाटक न त एक्काइसौं शताब्दीको कालचिन्तन थियो न त विज्ञान प्रविधिको युगको इतिहास चेत। 

यो आलेख एक पूर्वाग्रहपूर्ण टिप्पणीका लागि मात्र हैन, एक निर्मम कामना पनि हो कि ठिक त्यस्तै नहोस्। समकालीन विश्व राजनीति र नेपालको क्रान्तिकारी आन्दोलनको विकास चरण कहाँनेर छ भनेर विप्लवले राम्रो भेउ पाऊन्। वामपन्थ÷दक्षिणपन्थको राजनीतिक रंगावली कसरी विश्वव्यापी रूपमा खण्डित छ, त्यो बुझून्। वामपन्थको नियति दक्षिणपन्थ मात्र हैन, त्यसको अग्रपन्थी रूपान्तरण हुन सक्छ भन्ने बुझाइको नयाँ क्षितिज खुलोस्।

ओलीतन्त्र यतिखेर एक सामान्य दक्षिणपन्थ मात्र हैन, प्रतिगमनकारी कित्ताको केन्द्र पनि हो। यसले देशको लोकतन्त्र, संविधानवाद र नागरिक सार्वभौमसत्तामाथि अनेक कोणबाट तीव्र आक्रमण र ध्वंस गरिरहेको छ। यी कारणले गर्दा ओलीतन्त्र सर्वाधिक संकट र अलोकप्रियताको अवस्थामा छ। विप्लव वामपन्थमाथि प्रतिबन्ध लगाउने र दमनचक्र चलाउने पनि ओलीतन्त्र नै थियो।  

ओलीतन्त्रले आफ्ना कमजोरी, संकट र अलोकप्रियता ढाकछोप गर्न केही राजनीतिक प्यादाहरू सिर्जना गर्दै आएको थियो। पहिलो प्यादा हृदयेश त्रिपाठीको स्वतन्त्र समूह थियो, जो सूर्य चिह्नमा चुनाव लडेर मन्त्री खान्छ र मधेसमा स्वतन्त्र समूहको भ्रम दिन्छ।  

दोस्रो प्यादा सीके राउत बन्न पुगे। सीके अहिले मधेसमा ओलीतन्त्रको स्पेस बढाउने उपग्रह बन्दै छन्। आशंका छ आउने चुनावमा राउत र ओली समूहको चुनावी गठबन्धन हुनेछ। तेस्रो प्यादा बादल, मणिचन्द्र थापा, टोपबहादुर र लेखराज भट्ट बने। यी हिजोका क्रान्तिकारी प्रतिगमनमा नयाँ मतियारका रूपमा उदाए। 

धेरैलाई आशंका छ– विप्लव कतै ओलीतन्त्रको चौथो प्यादा बन्ने त हैनन्। अपेक्षा गरौं– यस्ता आशंका गलत साबित होऊन्।   

अन्यथा ओली दक्षिणपन्थसँग विप्लव वामपन्थको तीनबुँदे सम्झौता आत्मसमर्पणको अर्को अध्याय मात्र हुनेछ। टिठलाग्दो निहुरमुन्टी न मात्र हुनेछ। फास्स न फुस्स। 

प्रकाशित: Mar 07, 2021| 06:20 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...