बुधबार, वैशाख १७, २०८२

अब वन्यजन्तुको अभिभावक बन्ने अवसर 

अभिभावकत्व लिने व्यक्ति वा संस्थाले चिडियाखानामा भएका प्राणीको वर्षभरिको खाना, स्वास्थ्याेपचार, कर्मचारी व्यवस्थापनलगायतको तोकिएको खर्च बेहोर्नेछन्।
 |  बुधबार, फागुन १९, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, फागुन १९, २०७७

काठमाडौं– विश्व वन्यजन्तु दिवसको अवसरमा नेपाल प्रकृति संरक्षण कोषले वन्यजन्तुलाई अभिभावकत्व लिने ‘एडप्ट एन एनिमल’ कार्यक्रम घोषणा गरेको छ।

कोषले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार अब जोकोहीले सदर चिडियाखानामा रहेका जीवजन्तुको  अभिभावक बन्ने अवसर पाउनेछन्।

कार्यक्रमको सुरुवात बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।  यसमा व्यक्ति, समूह वा संस्थाहरु वन्यजन्तु व्यवस्थापन तथा संरक्षणमा प्रत्यक्ष सहभागी हुन सक्नेछन्। 

‘हाललाई चिडियाखानामा भएका १२ प्रजातिका वन्यजन्तुबाट ‘एडाप्ट एन एनिमल’ सुरुवात गरिनेछ,’ सदर चिडियाखानाकी संरक्षण शिक्षा तथा सूचना अधिकृत लिना चालिसेले भनिन्, ‘बिस्तारै अन्य प्रजातिको पनि अभिभावकत्व खुला गरिनेछ।’

कार्यक्रमअनुसार अभिभावकत्व लिने व्यक्ति वा संस्थाले चिडियाखानामा भएका प्राणीको वर्षभरिको खाना,  स्वास्थ्याेपचार, कर्मचारी व्यवस्थापनलगायतको तोकिएको खर्च बेहोर्नेछन्।

Metro Mart
worldlink

सुरुवाती चरणमा चिडियाखानाका १२ प्रजातिका कुल ३३ प्राणी अभिभावकत्वका लागि खुला गरिएका छन्। ती प्रजातिमा गैंडा, जलगैंडा, हात्ती, बाघ, चिम्पान्जी, वनमान्छे, दुई प्रजातिका भालु, गोही, पाण्डा, डाँफे र सारस छन्।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरको निजी संकलनका  रुपमा ८९ वर्षअघि स्थापना भएको चिडियाखाना २०१३ सालदेखि सार्वजनिक अवलोकनका लागि खुला गरिएको हो।

हाल चिडियाखानामा एक सयभन्दा बढी प्रजातिका जीवजन्तु संरक्षित छन्। चिडियाखानाको व्यवस्थापन विगत २५ वर्षदेखि नेपाल प्रकृति संरक्षण कोषले गर्दै आएको छ।

कोरोना महामारीका बेला झन्डै १० महिना बन्द हुँदा चिडियाखाना आर्थिक संकटमा परेको थियो।

कार्यक्रमलाई चिडियाखानामा मात्र सीमित नगरी वासस्थानमै भएका प्राणीको हकमा पनि विस्तार गर्न सकिने नेपाल प्रकृति संरक्षण कोषका विज्ञ डा. नरेश सुवेदी बताउँछन्।

‘निकुञ्जमा भएका प्राणीको वार्षिक खर्च बेहोर्ने गरी पनि ‘एडाप्ट ए एनिमल’ लाई विस्तार गर्न सकिने सम्भावना छ,’ सुवेदी भन्छन्, ‘यस्ता कार्यक्रमले संरक्षणको कार्यमा आममानिसमा अपनत्वको भावना विकास हुनेछ तथा वन्यजन्तु र मानिसबीचको बुझाइ खाडल कम गर्न प्रभावकारी हुन्छ।’

कोषका अनुसार चिडियाखानाका गैंडा, हात्ती, बाघको अभिभावकत्वका लागि वार्षिक मूल्य १५ लाख तोकिएको छ भने जलगैंडाका लागि १२ लाख तोकिएको छ।

त्यस्तै, चिम्पान्जीका लागि १० लाख, वनमान्छे र भालु प्रजातिका लागि पाँच लाख र गोहीको लागि तीन लाख ५० हजार र पाण्डाका लागि दुई लाख मूल्य तोकिएको छ।

पन्छी प्रजातिको हकमा भने डाँफे र सारसका लागि वार्षिक अभिभावकत्व मूल्य ७५ हजार तोकिएको छ।

विश्व वन्यजन्तु कोषका संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट यस्तो कार्यक्रमले समुदाय तथा संस्थागत तहमा राम्रो सन्देश जाने अपेक्षा व्यक्त गर्छन्।

‘विदेशमा सफलतापूर्वक सञ्चालित यस्ता कार्यक्रम  नेपालमा पनि सुरु हुनु आफैंमा राम्रो हो,’ भट्ट भन्छन्, ‘यसले नेपालीहरु पनि वन्यजन्तुलाई माया गर्छन् भन्ने सन्देश प्रसार हुनुका साथै संरक्षणमा स्थानीय सहभागितालाई पुष्टि गर्छ।’

कार्यक्रम सफल भएमा संरक्षणको एउटा राम्रो अभ्यास सुरु हुने साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका सागर दाहाल बताउँछन्।

‘वन्यजन्तु अभिभावकत्व कार्यक्रमले प्रत्यक्ष रुपमा वन्यजन्तुको संरक्षण तथा पालनपोषणको खर्च उपलब्ध हुन्छ भने संरक्षणमा जनसहभागिता पनि विस्तार हुन्छ,’  दाहाल भन्छन्, ‘विदेशमा प्रचलित यस्ता अभ्यास नेपालमा पनि सुरुवात गरिनु स्वागतयोग्य हो।’

प्रकाशित: Mar 03, 2021| 04:18 बुधबार, फागुन १९, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।