बुधबार, वैशाख १७, २०८२

कोकाकोलाले अर्बौं राजस्व छलेको स्वीकार्‍यो 

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले नेपालमा अर्बौं रुपैयाँ पुँजीगत लाभकर नतिरेको स्वीकार गरेको छ। 
 |  बुधबार, माघ २१, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, माघ २१, २०७७

काठमाडौं– बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले नेपालमा अर्बौं रुपैयाँ पुँजीगत लाभकर नतिरेको स्वीकार गरेको छ। 
कम्पनीले मूल सेयर नेपालबाहिर किनबेच गरी पुँजीगत लाभकरबापतको अर्बाैं राजस्व नतिरेको राजस्व अनुसन्धान विभागका अधिकारीले बताएका छन्। 

विभागले केही समयअघि कम्पनीमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो। 

विभागका एक उच्च अधिकारीले कागजपत्र अध्ययन गर्ने क्रममा कम्पनीका नेपाल प्रतिनिधिले विभागमा आएर गल्ती स्वीकारेको जानकारी दिएका हुन्। 

ती अधिकारीले नेपाल समयसँग भने, ‘बोटलर्स नेपालले राजस्व नतिरेको स्वीकारिसकेको छ। कति रुपैयाँ बराबरको राजस्व तिर्नुपर्ने हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।  उनले कम्पनीले तिर्नुपर्ने रकम एक अर्बभन्दा माथि नै रहने बताए।

कम्पनी आव २०७४/७५ को लाभांश नेपालबाट बाहिर लैजान अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो। तर राष्ट्र बैंकले शंकास्पद लागेर लाभांश लैजानबाट रोकेको थियो। 

Metro Mart
worldlink

बोटलर्स नेपालको स्वामित्व कोकाकोला साउथ वेस्ट एसिया होल्डिङ्स लिमिटेडसँग छ। सोही कम्पनीमार्फत सेयर किनबेच भएको पाइएको विभागका ती अधिकारीले बताए। यसअघि बोटलर्स नेपालको सेयर स्वामित्व अफ्रिका बोटलिङ कम्पनीसँग थियो।

कम्पनीले द कोकाकोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई सन् २०१४ मा सेयर बेचे पनि स्वामित्व हस्तान्तरणबारे नेपालको सरकारी निकायलाई जानकारी दिएको थिएन। त्यसपछि फेरि सो कम्पनीले साउथ वेस्ट एसिया होल्डिङ्सलाई बेचेको थियो। 

बोटलर्स नेपालले २०७४ साउन २६ गते साउथ वेस्ट एसिया होल्डिङ्सलाई नै लाभांश पठाउन अनुमति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो। त्यसपछि बोटलर्स नेपालबारे सूक्ष्म अनुसन्धान गर्न थालिएको ती अधिकारीले बताए।

यसै क्रममा विभागले गत मंसिर २६ गते कम्पनीमा छापा मारेको थियो। 

बोटलर्स नेपालले वैदेशिक लगानीसमेत भित्र्याएको छैन। सन् २००५ यता नेपालकै स्ट्यान्डर्ड चार्टड बैंकबाट ६ अर्बभन्दा बढी रुपैयाँ लगानी विस्तारका लागि ऋण लिइरहेको छ। विभागका ती कर्मचारीले भने, ‘यसबारे विभागले गम्भीर अध्ययन गरिरहेको छ।’

यस विषयमा थप बुझ्न खोज्दा नेपालस्थित बोटलर्स नेपालका कार्यालयका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेसँग सम्पर्क हुन सकेन।

प्रकाशित: Feb 03, 2021| 07:34 बुधबार, माघ २१, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्