शनिबार, जेठ १८, २०८२

गौतमको एकता अभियान : अघि बढ्ला कि पदसँग साटिएला ?

दाहाल-नेपाल समूहमा गए गौतमले पद पाइहाल्ने अवस्था छैन भने ओली समूहमा सम्भावना धेरै छ। अहिले गौतम दोधारमा छन्। 
 |  बिहीबार, माघ १५, २०७७

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, माघ १५, २०७७

विगतमा पार्टी विभाजनको नमिठो पीडा भोगेका नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा मिलाउने तागत आफूसँग रहेको दाबी गरेका छन्। विभाजित नेताहरु निकै परसम्म पुगिसकेका र गौतम आफैं पनि ढुलमुले चरित्रका भएकाले अभियान तत्काल सार्थक हुने देखिँदैन।

काठमाडौं–  महाकाली सन्धि विवादको निहुँमा २०५४ सालमा तत्कालीन नेकपा एमाले विभाजित भएको थियो। एमालेबाट अलग भएर वामदेव गौतमको नेतृत्वमा गठित नेकपा मालेको जोस ०५६ सालको संसदीय चुनावसम्ममा आइपुग्दा चिसिइसकेको थियो। 

त्यो निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन। मालेको अस्तित्व मूलधारको राजनीतिबाट ओझेल पर्‍यो। पार्टी विभाजनको पीडा उतिबेलै भोगेका गौतम तीन वर्षपछि एमालेमा फर्किएका थिए। 

गौतमले बुधबार एकता अभियान घोषणा कार्यक्रममा स्मरण गर्दै भने, ‘हिजो विभाजन हुँदा मैले पनि सोच्ने गर्थें, फुटेर जाँदा झनै शक्ति आर्जन हुन्छ तर, त्यो हुँदो रहेनछ। आज साथीहरु विभाजनको दिशामा अघि बढ्नुभएको छ। मैले हिजो त्यो पीडा भोगिसकेका कारण आज एकताको अभियानमा लागेको हुँ।’

गौतमले यसो भनिरहँदा नेकपाको दुई ध्रुवले तल्लो तहसम्म आआफ्नो कमिटी गठन गरिसकेको छ। उनीहरु जनतासमक्ष आआफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन्। 

दाहाल पक्ष संसद् पुनःस्थापनाको माग गर्दै कहिले ‘मांसाहारी आन्दोलन’ त कहिले ‘टाउकोमै ठोक्ने हो’ भन्दै कार्यकर्तामा उत्तेजना भर्न व्यस्त छ। ओली पक्ष निर्वाचन प्रचारप्रसार, कार्यकर्तालाई निर्देशन र संगठनको काममा लागेको छ। 

गौतमको अभियानमा नेकपाको सचिवालय र स्थायी कमिटीका कसैले पनि साथ दिएका छैनन्। केन्द्रीय सदस्यबाट पनि एकजना मात्र छन्, हरि पराजुली। 

पराजुली एकतालाई अगाडि बढाउन सक्छौं भनेर नै यो अभियान सुरु गरिएको बताउँछन्। भन्छन्, ‘अहिले पनि धेरै नेता-कार्यकर्ता विभाजनको विपक्षमा छन्। कम्युनिस्ट पार्टीमा जुन विषयमा लडाइँ हुनुपर्ने थियो, त्यो नभएर अन्यत्रै गयो भन्ने हाम्रो कुरा हो। हाम्रो अभियानमा ढिलोचाँडो सबै साथीहरु समेटिन्छन्।’

उसो त गौतम गएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै क्षेत्रबाट नपत्याइएका व्यक्ति हुन्। चुनाव हारेर पनि जस्केलाबाट राष्ट्रियसभामा छिरेको भन्दै उनको आलोचना हुने गरेको छ। त्यसैले पनि गौतम बुधबार अभियान घोषणा कार्यक्रममा बढी नै भावुक देखिन्थे।  

गौतमको विगत र वर्तमान हेर्ने हो भने उनको अभियानले तत्काल सार्थकता पाउन नसक्ने टिप्पणी विश्लेषकहरुको छ। राजनीतिक जोडघटाउमा लाग्दा नेताहरुले लाभ खोज्ने तर गौतमसँग कुनै पद नरहेकाले कोही जोडिन नआउने उनीहरुको बुझाइ छ। 

वाम विश्लेषक श्याम श्रेष्ठ गौतमले चाहेर मात्रै नेकपा जोडिने सम्भावना नरहेको बताउँछन्। ‘एकातिर विचार र सिद्धान्त नै नभएकाले सम्भावना देखिँदैन,’ उनी भन्छन्, ‘अर्कोतिर नेताहरु त फाइदा हेर्छन्, फाइदा नै नदेखेपछि कसरी जोडिन्छन् र ?’

अधिकांश नेता-कार्यकर्ताले निर्वाचन आयोगको निर्णय र सर्वोच्चको फैसलापछि एकता अभियानमा साथ दिने प्रतिबद्धता गरेको दाबी गौतमको छ। निर्वाचन आयोगले नेकपा विभाजन हुन नसक्ने निर्णय गरिसकेको छ। संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

गौतमले भनेका छन्, कतिपय साथीहरु सर्वोच्च अदालतको फैसला पर्खिरहनुभएको छ। त्यसपछि उहाँहरुले पनि एकतालाई नै साथ दिनुहुनेछ।’

विश्लेषक श्रेष्ठचाहिँ निर्वाचन आयोगले सूर्य चिह्न जुन समूहलाई दिन्छ, गौतम उतै जाने दाबी गर्छन्। उनी भन्छन्, ‘सूर्य चिह्नको टुंगो लागेपछि गौतम पनि एकताको अभियानमा बसिराख्नुहुन्छ भन्ने लाग्दैन। अहिले गइहाल्न लाज लागेको मात्र हो।’ गौतमले पद खोजिरहेको उनको टिप्पणी छ। 

दाहाल समूहमा गए गौतमले पद पाइहाल्ने अवस्था छैन भने ओली समूहमा उनले पद पाउने सम्भावना धेरै छ। अहिले गौतम दोधारमा छन्। 

गौतम भने हिजो ओली र दाहाललाई पार्टी एकता गराउन आफूले नै भूमिका खेलेकाले पुनः एकता गराउन सक्नेमा विश्वस्त देखिन्छन्। 

‘म जसरी पनि एकता कायम गराउन सक्छु भनेर लागेको छु। मैले संकल्प लिएर अघि बढेको छु, नयाँ किसिमले भए पनि पार्टी एकता अघि बढ्छ,’ उनले भनेका छन्, ‘नेताहरुलाई एकताका लागि बाध्य पार्ने हिसाबले अभियान अघि बढ्छ।’ 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल पनि गौतमकै प्रयासले निर्णायक समाधान देला भन्नेमा विश्वस्त देखिँदैनन्। ‘नेकपा माथिदेखि तलसम्म काँक्रो चिरेको अवस्थामा पुगिसकेको छ,’ उनले भने। 

संसद् पुनःस्थापना भएर दोस्रो तहका नेताहरुले प्रयास गरे भनेमात्र गौतमको अभियानले गति लिन सक्ने पोखरेल बताउँछन्। 

पोखरेलका अनुसार गौतम अस्थिर नेता हुन्। उनी भन्छन्, ‘निर्वाचन हुने भयो, आउनुस्, उपप्रधान तथा गृहमन्त्री दिन्छु, निर्वाचन हाँक्नुस् भन्ने प्रस्ताव आयो भने वामदेवजी हिँड्न बेर लाउनुहुन्न।’ 

गौतमको अभियान सकारात्मक रहे पनि धेरै ढिलो भएको पोखरेल बताउँछन्। उनी भन्छन्, 'यो प्रयास अगाडि नै गरेको भए हुन्थ्यो। घम्साघम्सी त पहिलेदेखि नै थियो नि नेकपामा। त्यो बेला नै गौतमले पहल गरेको भए हुन्थ्यो। उनी चुप लागेर बसे।’ 

विश्लेषक श्रेष्ठ पनि दुई टुक्रा परेको नेकपा अब जोडिने आधार नै नरहेको दाबी गर्छन्। उनी भन्छन्, ‘निर्वाचन आयोगले जोडियोस् भनेर चाहना राखेको बुझिन्छ। तर, आयोगले चाहना राखेर जोडिने देखिँदैन। मन नै फुटिसकेको छ।’ 

नेकपा र माओवादीबीचको एकता सैद्धान्तिक नभएकाले पनि धेरै टिक्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘एकता विचार र सिद्धान्तको आधारबाट भएको थिएन। सत्ताको बाँडचुँडले बाँधिएको थियो। सुपरग्लु भनेको सत्ताको बाँडचुँड थियो।’

प्रकाशित: Jan 28, 2021| 05:20 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।